0
छिनेडाँडामा निर्माण गरिन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको मुआब्जा वितरणको सूचना प्रकाशित गरिएको छ । विमानस्थलका लागि ५३३ जनाको ३३५ दशमलव ७९ रोपनी जग्गा अधिग्रहण गरिने परियोजनाले जनाएको छ । अधिग्रहण गरिने जमिन पूर्व कित्ता नम्बर १५९ बाट दक्षिण, कित्ता नम्बर ९३२६ पुरै, दक्षिण कित्ता नम्बर ८०० हुँदै विमानस्थलको हाल कायम रहेको तारबारसम्म रहेको छ ।दोस्रो चरणको सूचना प्रकाशित गरिएको जग्गाभित्र १४ वटा घरटहरासमेत परेका छन् । यस चरणको मुआब्जा वितरण सकेपछि बाँकी रहेको २१५ रोपनी जग्गाको मुआब्जाका लागि प्रक्रिया पु¥याएर सूचना प्रकाशित गरिने परियोजनाका अधिकृत चन्द्रमणि सापकोटाले बताए । गत जेठ १६ गते ८६ जग्गा धनीको ८० रोपनी जग्गाको मुआब्जा वितरण गर्न पहिलो चरणमा सूचना प्रकाशित गरिएको थियो । तीमध्ये नौ जना जग्गा धनी सम्पर्कबिहीन भएका र बाँकी जग्गा धनीलाई करिब रु १४ करोड मुआब्जा वितरण गरिएको छ । विसं २०३२ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएकामा नपुग ६२९ रोपनी अधिग्रहणको काम अघि बढाउन लागिएको हो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकसँग करिब रु २१ अर्ब ऋण स्वीकृतको प्रक्रिया अन्तिम चरणमा रहेको परियोजनाले जनाएको छ ।

Post a Comment

 
Top