गोल्डेन न्यूज संवाददाता
प्रगतिवादी साहित्यकार पोषराज पौडेल गण्डकी वाङ्मय पुरस्कार–२०७१ बाट शुक्रबार सम्मानित भएका छन् । ८६ औं गोकुल जयन्तीका अवसरमा गण्डकी साहित्य सङ्गम पोखराले प्रदान गर्दै आएको पुरस्कारबाट यो वर्ष पौडेल सम्मानित भएका हुन् । सङ्गमका संस्थापक अध्यक्ष कुलप्रसाद खनाल र अध्यक्ष नारायण परिश्रमीले पौडेललाई नगद १५ हजार, फुलमाला र सम्मानपत्रले सम्मान गरेका हुन् । २०५३ सालदेखि हरेक दुई वर्षमा प्रदान गर्दै आएको क्षेत्रीय तहको यो पुरस्कारबाट यसअघि यो पुरस्कारबाट नौ जना सम्मानित भइसकेका छन् । सम्मानित हुनेहरुमा भेषराज शर्मा, भवानीप्रसाद पाण्डे ‘भास्कर’, दिल सहनी, कुलबहादुर केसी, नुमराज बराल, केदार शर्मा ढकाल, कुलप्रसाद खनाल, देवेन्द्र लम्साल र रविलाल अधिकारी सम्मानित भईसकेका छन् । सङ्गमका सदस्य लोकबहादुर थापाको संयोजकत्वमा गठित रामराज रेग्मी र बाबुराम पन्त सदस्य रहेको पुरस्कृत व्यक्ति छनौट समितिको सिफारिस अनुसार पौडेललाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार ग्रहणपछि उनले आफूलाई थप हौसला मिलेको बताए । सङ्गमले २२ वर्ष अघिदेखि जनकवि गोकुल जोशीको स्मरणमा उनको जन्म जयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । प्रगतिशिल लेखक संघका केन्द्रिय उपाध्यक्ष गोपाल ठाकुरले प्रगतिवादी फाँटका लेखक, साहित्यकार तथा चिन्तकले समाजलाई समावेशी, समानुपातिक ढंगले हेर्दै माथि उठेर कलम चलाउनुपर्ने आवश्यकता औंल्याए । सल्लाहकार तथा मानव अधिकारकर्मी टेकनाथ बरालले बन्दुकभन्दा बढि ताकत लेखकको कलममा हुने बताए । छनौट समिति संयोजक लोकबहादुर थापाले रुढिवादी, थिचोमिचो, अन्याय अत्याचार विरुद्ध आवाज उठाउँदै प्रगतिशिल समाज निर्माणका लागि कलम चलाउन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा गण्डकी साहित्य संगमको १२ औं मुखपत्र पनि लोकार्पण गरिएको थियो । कार्यक्रममा यादवराज उपाध्याय, पिताम्बर नेपाली, रघुनाथ अधिकारी, रामराज रेग्मी लगायतले बोलेका थिए । चार दशक बढी समयदेखि निरन्तर साहित्य साधना गर्दै आएका साहित्यकार पौडेलका आधा दर्जन बढी विभिन्न विधाका कृति प्रकाशित छन् । वि.सं. २००१ भदौ ८ गते कास्कीको घार्मीमा जन्मिएका पौडेलको माडी यात्रा (खण्डकाव्य, २०३९), म्याक्सिम गोर्की (जीवनी काव्य, २०४३), पागल प्रलाप (काव्य, २०५५), सहिद गाथा (महाकाव्य, २०५७), आदर्श कोकिल (काव्य, २०६५), आमा स्मृतिका छालमा (शोककाव्य, २०६६) र अग्निगर्भका आवाजहरु (कविता सङ्ग्रह, २०६९) प्रकाशित छन् । पौडेल एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल लेखक संघ, इच्छुक सांस्कृतिक प्रतिष्ठान, शारदा स्मृति प्रतिष्ठान, प्रगतिशील लेखक संघ, चितवन लगायतका संस्थामा आबद्ध छन् । सङ्गमले प्रत्येक दुई वर्षमा २०५२ सालदेखि राष्ट्रिय तहमा गोकुल वाङ्मय पुरस्कारसमेत प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष नारायण परिश्रमीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णराज अधिकारीले स्वागत रसचिव राजेन्द्र पौडेलले सञ्चालन गरेका थिए। गायक पदमराज ढकालले गीत गोकुल जोशीका गीत प्रस्तुत गरेका थिए भने तनहुँका अनिल श्रेष्ठ र आनन्द सुन्दर श्रेष्ठ, स्याङ्जाका चिन्तु गिरीका साथै नुमराज बराल, कल्पना चिलुवाल, अम्किा प्रसाद भट्टराईले कविता प्रस्तुत गरेका थिए ।
Post a Comment