0
धादिङका मात्रै होईन, चितवनको चेपाङ गाउँ पनि महाविनाशकारी भुकम्पले नराम्ररी प्रभावित बनेको छ । केहि वर्ष अघि जंगली विषालु च्याउका कारण केहि परिवार नै सकिएको त्यहाँका भुकम्प पीडित चेपाङका लागि राहत संकलन भएको छ । रसुवा, गोरखा र धादिङका केहि गाउँमा राहत वितरण गरिसकेको बिरौटा क्लब, पोखराले चितवन चण्डी भञ्ज्याङ स्थित चेपाङ बस्तीको सहयोगार्थ राहत संकलन गरेको हो । बेलायतमा अध्ययनरत ममता जोशी ताम्राकार साथीहरुबाट भुकम्प पीडित सहयोगार्थ आयोजित च्यारिटी शोबाट संकलन भएको थियो ।बेलायतमा रही अध्ययनरत ममता जोशी ताम्राकार लगायत साथीहरुको च्यारिटी शोबाट २०७२ वैशाख १२ गते गएको महाभुकम्प प्रभावितका लागि संकलित रकम ब्रिटिश सेनामा कार्यरत दिपेनमान ताम्राकार मार्फत प्राप्त ७५ हजार मध्ये ३० हजार रुपैंया चितवनको चण्डीभञ्ज्याङ गाविस स्थित चेपाङ बस्तीका लागि बिरौटा क्लब, पोखरा १७ लाई प्रदान गरिएको छ । पत्रकार रञ्जन अधिकारीले बिरौटा क्लबका अध्यक्ष सुर्यप्रसाद बराललाई रकम हस्तान्तरण गरेका हुन् । बरालले शनिबार चितवनको चण्डी भञ्ज्याङ गाविसमा रहेका चेपाङ बस्तीमा एक सय घर परिवारका लागि चामल, त्रिपाल, कम्बल बाँड्ने योजना रहेको सुनाउँदै सहयोग रकम प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले धादिङको चेपाङका लागि आफूमार्फत आएको राहत प्रदान गरिसकेका पत्रकार अधिकारीले क्लबको अभियानमा सहयोग गरेकोमा आभार व्यक्त गर्दै राहत संकलनको काम भईरहेको जानकारी दिए । गत वैशाख २१ गते रसुवाको बेत्रावती र राम्चे ६ र ७ मा दुई सय घरपरिवारलाई खाद्यान्न, भाँडाकुडा वितरण गरेको क्लबले मलेसियन चिकित्सक टोलीलाई लिएर स्वास्थ्य शिविर समेत सम्पन्न गरिसकेको छ । यस्तै, गोरखाको दलभञ्ज्याङमा ५० परिवारलाई कम्बल त्रिपाल वितरण गरिएको थियो भने विदेशी पर्यटकसँग राहत संकलन गरी शुक्रबार धादिङको कल्लेरी ६ मा पनि एक सय ५० घरका लागि चामल, नुन, त्रिपाल वितरण गरिएको बताए । उनले भने–‘तत्कालका लागि खाद्यान्न नभएर त्यसमै केन्द्रित भएका हौं । भोलि सबैले आफ्ना घर बनाउलान्, विद्यालयमा ध्यान नजान सक्छ, यसका लागि हामीले केहि गर्ने सोच लिएका छौं ।’भुकम्पबाट प्रभावित पत्रकार रञ्जन अधिकारीलाई विदेशबाट सहयोग रकम आउने क्रम जारी छ । यसअघि धादिङका चेपाङका लागि ३० हजार प्रदान गरिसकेका अधिकारीले यस्तै वास्तविक पीडितसमक्ष पुग्ने टोलीले सम्पर्कका लागि अनुरोध पनि गरेका छन् ।

Post a Comment

 
Top