गोल्डेन न्यूज संवाददाता
पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको २६३ औं शृङ्खला भूकम्प विशेष कवि गोष्ठीका रुपमा शनिबार पोखरामा सम्पन्न भयो । बैशाख १२ र २९ गते गएको महाभूकम्पमा परी ज्यान गुमाउने नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै भूकम्प पीडित नागरिकप्रति सहानुभूति प्रकट गरिएको गोष्ठीमा संस्थाका सम्मानित आजीवन सदस्य कविवर तेजनाथ घिमिरेले सृष्टिसँगै विनास पनि रहेको हुँदा विपदको समयमा संयमिता अपनाउन आग्रह गरे । कार्यक्रममा कविवर तेजनाथ घिमिरे, सरस्वती प्रतीक्षा, उदयबहादुर अमात्य, बलराम पूर्णविराम, हरिदेवी जोशी, नारायण वास्तोला श्रमपन्थी, गोविन्द पराजुली, सुरेश रानाभाट, छन्दिका घिमिरे, विष्णुप्रसाद पराजुली, इन्द्र राना प्रतीक, कोशिस ओझा, रामकुमार श्रेष्ठ, सुदर्शन पौडेल, आर्या त्रिपाठी लगायतका अधिकांश कविहरुले भूकम्प विशेष आफ्ना रचानाहरु सुनाएका थिए । कविताको अघोषित पाठशालाको रुपमा परिचित समता काव्य सन्ध्यामा विशेष रचना अन्तर्गत कवि दिनेश अधिकारीको कविता सरस्वती प्रतीक्षाले वाचन गरेकी थिइन । परिवारका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए ।
Post a Comment