0
गोल्डेन न्यूज 
पोखरा ६ जेठ ।
पोखरा उपत्यका नगर विकास समितिमा रिक्त रहेको अध्यक्ष पदमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा नेपाली कांग्रेस कास्की भित्र विवाद उत्पन्न भएको छ । समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोला नेतृत्वको समितिको पदावधि वैशाख १२ गते सकिएपछि उक्त पदमा कसलाई नियुक्ति गर्ने भन्ने वहस चलिरहेकै बेला कास्की कांग्रेसका सभापति एवं सभासद यज्ञबहादुर थापाले कांग्रेस कार्यकर्ता प्रकाश खनाललाई अध्यक्ष नियुक्त गर्न सम्बन्धित मन्त्री डा. नारायण खड्का समक्ष शिफारिस गरेपछि विवाद झनै बढेको छ । वैशाख १२ अघि नै नगरविकास समितिको अध्यक्ष बन्ने दौडमा कास्कीका झण्डै दर्जन कांग्रेस कार्यकर्ताहरु लागेका थिए । तर वैशाख १२ को भूकम्प पछि यो विषय ओझेलमा पर्दै आएको थियो ।
यसैबीच केही दिनअघि कास्की कांग्रेसका सभापति थापाले आफ्नै क्षेत्रका कांग्रेस कार्यकर्ता खनाललाई नगरविकास समितिको अध्यक्ष बनाउन शिफारिस गरेको सार्वजनिक भएपछि अध्यक्षका अन्य आकांक्षीहरु र विभिन्न तहका नेता, कार्यकर्ताले समेत असन्तुष्टि र आक्रोस पोख्न थालेका छन् । बुधबार कास्की कांग्रेसको जिल्ला कार्यसमितिको नियमित बैठकमा समेत यहि विषयले प्राथमिकता पायो । दिउसो १ बजेपछि शुरु भएको बैठकमा नगर विकास समितिको अध्यक्षमा खनाललाई सिशफारिस गरिएको भन्दै बैठकका केही सहभागीले असन्तुष्टि प्रकट गरे । कांग्रेस कास्कीको जिल्ला समितिमा आमन्त्रित सदस्य र अतिरिक्त, संविधानसभाका सदस्य र ४ वटा क्षेत्रका क्षेत्रीय सभापति सहित ४३ जना सदस्य रहने भएपनि बुधबारको बैठकमा २४ जनामात्र सहभागी भएको कास्की कांग्रेसका सचिव युवराज कुँवरले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । बैठकमा भएको विवादका बारेमा भने उनले केही बताउन चाहेनन् । ‘वैठकमा संविधानसभा सदस्य शारदा पौडेलले सबैसंग सल्लाह गरेर शिफारिस गर्नुपर्नेमा सभापति थापाले एक्लै शिफारिस गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो र कार्यसमिति सदस्य वीरेन्द्र नारायण विजुक्छेले आफूपनि नगर विकासको अध्यक्ष बन्न ईच्छुक रहेकोले जिल्ला कार्यसमितिबाट आफ्नो नाम शिफारिस गरिदिन आग्रह गर्नुभयो ।’–सचिव कुँवरले भने । उनका अनुसार पार्टीका अर्का सचिव कृष्ण केसीले कि त जिल्ला कार्यसमितिको बैठकबाट कि त कास्कीका चारजना सभासदहरुको सहमति बाट नगर विकासको अध्यक्षका लागि नाम शिफारिस गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यसमितिका अन्य केही सदस्यले समेत सभापति थापाले जिल्ला समितिमा छलफल नगरि एकजनाकोमात्र नाम शिफारिस गरेकोमा असन्तुष्टि प्रकट गरेका थिए । नगर विकासको अध्यक्षका आकांक्षी मध्येका भोजबहादुर गुरुङ ‘सिकन्दर’ले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै आफू सहित ठूलो संख्यामा पार्टी कार्यालयमा सहभागी युवाहरुले सभापति थापाले गरेको शिफारिसको विरोध गरेको दावी गरे । आफूहरुको कुरालाई सुनुवाइ नगरि बैठक स्थगित गर्न लागेपछि आफ्नै नेतृत्वमा वैठक कक्षमा बाहिरबाट चुकुल लगाएर सभापति थापालाई उनले गरेको शिफारिस रद्ध गर्न र सबै आकांक्षीहरुको नाम शिफारिस गरि पठाउन दवाव दिइएको उनले स्पष्ट पारे । सिकन्दरले करिब ४५ मिनेट बैठक कक्षमा आफूहरुले सभापति थापा सहितका केही पदाधिकारी र सदस्यलाई थुनेको दावी गरेपनि सचिव कुँवरले भने बैठक सकिएपनि सिकन्दर बैठक कक्षमा प्रवेश गरेर आफ्ना कुरा राखेको तर चुकुल लगाएर थुनेको भन्ने कुरा गलत रहेको बताए ।
कार्यसमितिको बैठकमा नाम शिफारिस गरिएको विषयलाई लिएर असन्तुष्टि प्रकट भएपछि सभापति थापाले आफूले जानेर या नजानेर शिफारिस गरिसकेकाले यस विषयमा विवाद नगर्न आग्रह गरेका थिए । उनले यस पटक आफूले एक्लैले शिफारिस गरेको भएपनि अब हुने नियुक्तिका लागि पार्टीको जिल्ला समितिमा सल्लाह गरेरमात्र शिफारिस गर्ने प्रतिवद्धता ब्यक्त गरेको सचिव कुँवरले बताए ।  

हाल नगरविकास समितिको अध्यक्ष बन्नका लागि कास्की कांग्रेसका उपसभापति विष्णु बाँस्तोला सहित प्रकाश खनाल, वीरेन्द्र नारायण विजुक्छे, दुर्गा प्रसाद तिमिल्सिना, भोजबहादुर गुरुङ ‘सिकन्दर’, वजिरमान श्रेष्ठ, लक्ष्मी बहादुर भट्टराई, सुन्दरकुमार श्रेष्ठ, विश्वशंकर पालिखे, राजबहादुर गुरुङ र बोधराज कार्की लगायतले ईच्छा जाहेर गरेको बताइन्छ ।
लामो समयदेखि नगरविकास समितिको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा चर्चा चलिरहेको भएपनि उपयुक्त र सर्वस्वीकार्य व्यक्तित्वको अभाव भएको धेरैले बताएका छन् । नगर विकास समितिले गर्न सक्ने धेरै काम छन् । साधन र स्रोत पनि त्यत्तिकै छ तर नेतृत्व क्षमता र कार्यकुशलता नभएका व्यक्तित्वहरुले समितिको नेतृत्व पाउने गरेकोले पछिल्लो समयमा नगर विकास समितिको गरिमा समेत घट्दै गएको छ । यस्तो अवस्थामा अहिले अध्यक्षको चाहना राख्नेहरुमा समेत नेतृत्व क्षमता र कार्यकुशलताको अभाव रहेको टिप्पणी समेत विभिन्न कोणबाट भइरहेको छ ।  
अध्यक्षका वर्तमान आकांक्षीहरु मध्ये पार्टीका उपसभापति समेत रहेका बाँस्तोला तीनपटकसम्म नगर विकास समितिको अध्यक्ष बनेको भएपनि उनको कार्यकालमा महत्वपूर्ण र रचनात्मक काम हुन नसकेको आरोप लाग्दै आएको छ । पछिल्लो समयमा बाँस्तोला विभिन्न कारणबाट आलोचित समेत बन्दै आएका छन् । पुनः अध्यक्ष बन्ने चक्करमा लागिरहेका बाँस्तोला काठमाडौंमा नै रहेकोले बुधबारको बैठकमा समेत आएनन् । अध्यक्षका अर्का आकांक्षी खनाल र कार्की पार्टी सभापति थापाको निकट मानिन्छन् । खनाल पार्टीको महाधिवेशन प्रतिनिधि समेत हुन् भने कार्कीै थापाद्वारा मनोनित जिल्ला सदस्य हुन् । थापा र कार्की आफन्त समेत हुन् । यस्तै अध्यक्ष पदकै अर्का आकांक्षी तिमिल्सिना यसअघि पनि नगर विकासको अध्यक्ष भैसकका व्यक्ति हुन् । उनको पालामा पनि कुनै महत्वपूर्ण काम हुन नसकेपछि अब मौका पाएमा आफूले काम गर्ने दावी गर्दै आएका छन् । अध्यक्ष बन्न चाहना गर्ने सिकन्दर गुरुङ पञ्चायत कालमा नेविसंघको राजनीतिमा सक्रिय रहेपनि प्रजातन्त्र पुनःस्थापना पछि भने पार्टीमा भूमिकाविहीन अवस्थामा छन् । यसैगरी पालिखे, श्रेष्ठ र भट्टराई पपश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्षहरु हुन् । पार्टीको राजनीतिमा मूल प्रवाहमा नरहेका उनीहरुका बारेमा पार्टीभित्र त्यति ठूलो बहस पनि भएको पाइँदैन । अध्यक्षका चाहना राख्ने बजिरमान र राजबहादुर दुवै जना यसअघि पनि नगरविकासको सदस्य रहेका थिए । बजिरमान दुई कार्यकाल सदस्य रहेर काम गरिसकेका कारण नगरविकास समितिले गर्नुपर्ने काम र योजनाका बारेमा आफू जानकार रहेको दावी गर्दछन् । आकांक्षीहरु मध्ये दुर्गा तिमिल्सिना, विरेन्द्रनारायण विजुक्छे र वजिरमान  श्रेष्ठलाई देउवा समूह मानेर संस्थापनले पाखा लगाउन खोजेको पनि बताइन्छ । विजुक्छे कांग्रेस विभाजन ताका पार्टीको क्षेत्रीय सभापति रहेर काम गरेका थिए । तर कतिपयले श्रेष्ठलाई सन्तुलित राजनीति गरिरहेको कारण देउवा र संस्थापन भन्न नमिल्ने बताउँछन् । सिकन्दर भने कास्कीमा केही युवाहरुको प्रतिनिधिका रुपमा आफू स्थापित भएकोले भूमिका खोजेको बताउँछन् ।
बैठकले नेपाली कांग्रेसको केन्द्रीय समितिेको निर्देशन अनुसार कास्कीका ४ वटै क्षेत्रमा भूकम्पबाट प्रभावितहरुका लागि सहयोग गर्न हाम्रो श्रमदान अभियान संचालन गर्ने निर्णय गरेको छ । ४ वटा क्षेत्रमा सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापतिले नेतृत्व गरि उक्त अभियान संचालन गर्ने बताइन्छ ।  यसैगरी कास्की कांग्रेसका पूर्व सह–सचिव एवं महाधिवेशन प्रतिनिधि चन्द्रमणि पौडेल गम्भीर  बिरामी परेकोले शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

Post a Comment

 
Top