गोल्डेन न्यूज संवाददाता
जिल्ला खेलकूद विकास समिति कास्कीको आयोजना तथा जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, प्याब्सन र एनप्याब्सान कास्कीको विशेष सहयोगमा वैशाख १४ गतेदेखि पोखरामा सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । यसअघि वैशाख १८ गतेदेखि हुने भनिए पनि वैशाख १२ गते आएको महाभूकम्पका कारण स्थगित भएको थियो । भूकम्पबाट क्षतविक्षत भएको खेलाडीहरूको मनलाई त्रासबाट मुक्त गर्न तथा खेलकुदप्रति आकर्ष बढाउन सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गरिन लागेको सोमबार पोखरा रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जेठ १७ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल र एथलेटिक्स, रिले, हार्ईजम्प, लङजम्प, ज्याभ्लिन थ्रो, सटपुटतर्फ छात्रछात्राको प्रतिस्पर्धा हुने जिल्ला खेलकूद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले जानकारी दिए । प्रतियोगितामा हालै एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीले पनि सहभागिता जनाउन पाउनेछन् । पोखरा रङ्गशालामा कास्कीका चारवटै निर्वाचन क्षेत्रका छुट्टाछुट्टै प्रतिस्पर्धा समेत गराइने छ भने निर्वाचन क्षेत्रबाट प्रथम र द्वितीय भएका टीम तथा खेलाडीलाई जिल्लास्तरीयमा सहभागी गराइने समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । पत्रकार सम्मेलनमा कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले भूकम्पबाट केही त्रसित भएका विद्यार्थीलाई पहिलेकै अवस्थामा फर्काउन यो अवस्थामा खेल गतिविधि गर्नु आवश्यक भएकोले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले भूकम्पले प्रभावित भएको अवस्थामा निरास भएका मनलाई पुनर्जागरण गर्न पनि यस्तो खेल गतिविधिले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । विजेता विद्यालयलाई १५ हजार, उप–विजेतालाई १२ हजार र तेस्रो हुनेलाई नौ हजार साथमा टूफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट हुने छात्र तथा छात्रालाई छात्रवृत्तिस्वरुप जनही १० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न छ लाख लाग्ने भएको छ ।
Post a Comment