विपत्ति सबैका लागि एउटै हुँदोरहेछ । प्राकृतिक विपत्तिले कुनै पेसा, वर्ग र भूगोल भन्दो रहेनछ । विनाशकारी भूकम्पले पनि त्यही । भूकम्प प्रभावित जिल्लामा प्रताडित भएका आम समुदायसँगै सञ्चार क्षेत्रले पनि उत्तिकै असर भोगिरहेको छ तर भूकम्प आउँदा वा आउने त्रासले भागेर सुरक्षित स्थलमा बस्ने वा आफूखुसी बिदा पाउने सुविधा सञ्चारकर्मीलाई छैन । जोखिम मोलेर उद्धारमा खटिने सुरक्षाकर्मी झैँ सञ्चार कर्मीले आफ्ना माध्यमबाट जनताका लागि सूचना प्रवाहको जिम्मेवारी निरन्तर पूरा गरिरहेका छन् । भूकम्पमै परी गोरखापत्रका दैनिकका पत्रकार सुमन भोम्जनले ज्यान गुमाए, कैयौँ पत्रकारका आफन्त बितेका छन्, घर र कार्यालय भत्किएका छन् तर रोकिएको छैन, सूचना प्रवाहको दायित्व । नेपाल पत्रकार महासङ्घको विवरणअनुसार करिब एक हजार पत्रकार भूकम्पका कारण प्रभावित छन् । करिब एक दर्जन एफएमको प्रसारण रोकिएका छन् । विद्युत् आपूर्ति अवरोधका कारण पनि स्थानीय सञ्चारमाध्यम सङ्कटमा छन् । भइरहेका कार्यालय छाडेर अस्थायी ठाउँमा त्रिपालभित्र केही ल्यापटप र सीमित जनशक्तिका बीच पनि सञ्चारमाध्यमले जनतामा सूचना पस्कने काम जारी राखेका छन् । भूकम्प र पराकम्पलगत्तै स्रोता र पाठकले कहाँ केन्द्रबिन्दु भएर कति क्षमताका गयो वा कति क्षति भयो भन्ने जानकारी लिन सञ्चारमाध्यमकै भर गरिरहेका हुन्छन्, त्यो भरोसा पूरा गर्न सञ्चारकर्मीले आफ्ना समस्या वा पीडा पन्छ्याइ ज्यान जोखिममा राखेर काम गर्नुको अर्काे विकल्प छैन । रासस ः रोकिएको छैन समाचार सेवा मुलुकको एकमात्र समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय भद्रकालीस्थित कार्यालयको समाचार कक्ष रहेको एउटा भवनमा बसेर काम गर्न सक्ने अवस्था छैन । प्राविधिज्ञले होसियारीका साथ काम गर्नु भनेपछि र लगातार पराकम्प नरोकिएपछि राससले भुइँतला र प्राङ्गणबाट सम्पूर्ण सेवा सञ्चालन गरिरहेको छ । बिहान ६ बजेदेखि राति ११ बजेसम्म ‘न्यूजलाइन’ प्रणालीमा राससले भूकम्पपीडितका खोज, उद्धार र राहतसँग सम्बन्धित समाचार निरन्तर समावेश गरिरहेको छ । राससका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्ले भन्छन्–“हामीले अस्थायी व्यवस्थापन गरेर सञ्चारमाध्यमलाई समाचार सेवा दिने काम जारी राखेका छौँ ।
आफ्ना समस्यालाई भन्दा आम जनताका समस्यालाई प्राथमिकता दिन समाचारको सेवालाई प्रभावित हुन दिएका छैनौँ ।” उनले राससका विकास क्षेत्र, अञ्चल र जिल्लास्थित कार्यालयमा पनि क्षति पुगेको, प्रभावित जिल्लामा पत्रकार तथा कर्मचारीले मानवीय र भौतिक क्षतिका बीच पनि समाचार सम्प्रेषण गरिरहेको बताए । गोरखापत्र ः पुराना अङ्क सुरक्षाको चुनौतीनेपालकै पहिलो अखबार ‘गोरखापत्र’को धर्मपथस्थित पुरानो कार्यालयमा क्षति पुगेपछि यसका पुराना अङ्कको संरक्षणमा समेत चुनौती देखिएको छ । त्यहाँको प्रेस सञ्चालन हुन नसक्ने भएकाले सिंहदरबारभित्रको मुद्रण विभागमा पत्रिका मुद्रण प्रकाशन भइरहेको छ । प्रधानमन्त्री चन्द्रशमशेरका पालामा घोडा बाँध्ने तबेला रहेको सो कार्यालयको परिसर र सडकमा उभिएरसमेत गोरखापत्रकर्मी काम गरिरहेका छन् । गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला भन्छन्–“काम त रोक्नु भएन, कहिले गाडीमा बसेर चेकमा सही गरेर चलाइएको छ । साथीहरूमा मनोवैज्ञानिक त्रास छँदैछ, प्रकाशनलाई चाहिँ रोकेका छैनौँ ।” उनले सतिप्रथा, दासप्रथादेखि विभिन्न प्रजातान्त्रिक आन्दोलनको साक्षी भएको र ती घटनासम्बन्धी समाचार प्रकाशन भएका अङ्कलाई ‘डिजिटलाइज्ड’ गर्ने तयारी भएका बेला भवनमै क्षति व्यहोर्नुपरेको बताए । नेपाल टेलिभिजन ः स्टेसनमा पनि क्षतिदेशव्यापी पहुँच भएको नेपाल टेलिभिजनको सिंहदरबारस्थित कार्यालयको पुरानो भवनमा क्षति पुगेको छ । केही दिन सो टेलिभिजनले कार्यालय परिसरबाटै प्रत्यक्ष प्रसारण गरेको थियो । टेलिभिजनको चमेनागृह अगाडि सम्म आश्रयका लागि आएका मानिसलाई पनि उसले आश्रय दिएको थियो । टेलिभिजनका निमित्त महाप्रबन्धक दीपकमणि धितालका अनुसार भद्रकालीस्थितको व्यापार प्रवद्र्धन महाशाखा रहेको भवन भूकम्पले प्रयोगविहीन अवस्थामा पुगेको छ भने फूलचोकी, ककनीलगायतका विभिन्न स्टेसनमा क्षति पुगेको छ । रेडियो नेपाल ः लगातार प्रत्यक्ष प्रसारणराष्ट्रिय प्रसारणको अर्काे संस्था रेडियो नेपालले भूकम्पका हरेक पललाई समेटेर प्रत्यक्ष प्रसारण गरिरहेको छ । सो संस्थाको पनि पुरानो भवनका भित्ता चर्किएका छन् । केन्द्रीय प्रसारण चाहिँ जापानी सहयोगमा भूकम्प प्रतिरोधात्मक बनाइएकाले केही ढुक्क हुने स्थिति भए पनि लगातार १० दिनसम्म २४सैं घन्टा प्रत्यक्ष प्रसारण कार्य गरी आपत्विपत्मा रेडियोको भूमिका गहन हुन्छ भन्ने तथ्यलाई पुनःपुष्टि गरेको छ । रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्री भन्छन्–“ऋरू मानिस भूकम्प आउँदा घरबाट बाहिर निस्किरहेका हुन्थे, हामी कार्यालयभित्र पसिरहेका हुन्थ्यौँ र जनतालाई साथीको व्यवहार गरिरहेका हुन्थ्यौँ ।”निजी क्षेत्रका सञ्चारमाध्यमका पीडासरकारको मातहतमा रहेका सञ्चारमाध्यमको भौतिक क्षतिलाई यो वा त्यो रूपमा सरकारले पुनःस्थापनामा समेट्ने सम्भावना देखिए पनि निजी क्षेत्रका सञ्चारमाध्यमको क्षतिपूर्तिको कुनै ठेगान छैन । यद्यपि, ती माध्यमले अहिलेको प्रमुख दायित्व सूचना र विश्लेषण पस्कनुलाई बनाइरहेका छन् । कामना प्रकाशनको नेपाल समाचारपत्र दैनिकको भीमसेन स्थानस्थितको कार्यालय बस्न नहुने गरी चर्किएपछि तथा कलङ्कीमा रहेको प्रेसमा काम गर्न नमिल्ने भएपछि गत वैशाख १३ गतेदेखि एक साता सो पत्रिकाको प्रकाशन नै स्थगन भयो । हाल प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको भैँसेपाटीस्थित निवासबाट पत्रिकाका काम भएको र बाहिरी प्रेसमा मुद्रण गरिएको पत्रिकाका सम्पादक टङ्क पन्तले जानकारी दिए । सुविधानगरमा रहेको कान्तिपुर पब्लिकेसन्स् हाल जडीबुटीस्थित प्रेस रहेको कार्यालयमा अस्थायी रूपमा सरेको छ । त्यहाँ कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन, द काठमान्डु पोष्ट, साप्ताहिक नेपाल अस्थायी कार्यालय खडा भएका छन् । पत्रकारलाई ल्यापटप राख्ने कुर्सीको अभाव त छँदैछ, इन्टरनेट र आन्तरिक सञ्जालमा पनि समस्या छ । कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापा भन्छन्–“राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सेनाको सेन्सरसीपमा तनावकाबीच काम गरिएको थियो, त्यसपछि अहिले प्राकृतिक विपत्तिलाई सहेर सकसका बीच काम गरेका छाँै, तर उत्पादनमा कुनै कमी हुन दिएका छैनाँै ।” सो पत्रिकाका ‘कोसेली’, ‘रमाइलो शुक्रबार’ र कोपिलाजस्ता अतिरिक्ताङ्क यो सातासम्मलाई स्थगन भएका छन् । सुन्धारास्थित नागरिक दैनिकको कार्यालयमा ठूलो क्षति नभए पनि वरपरका ठूला घर लड्न सक्ने खतराका कारण सो पत्रिकाको अस्थायी कार्यालय इमाडोलस्थित प्रेसको ठाउँमा हुन पुगेको छ । सो दैनिकका सम्पादक प्रतीक प्रधान प्राविधिक समस्याका साथै जनशक्ति परिचालनमा कठिनाइ आएको, कोही पत्रकार त्रिपाल र टेन्ट खोजिरहेका अवस्थामा पत्रिकालाई निरन्तरता दिइएको बताउँछन् । कुपन्डोलस्थित राजधानी दैनिकको कार्यालय वरपरका घरले दिएका त्रासका कारण सो पत्रिका पनि पुरानो कार्यालय रहेको चाबहिलमा अस्थायी कार्यालय सञ्चालन गर्न विवश भएको छ । सो पत्रिकाका सम्पादक राजन शर्मा सञ्चार माध्यमले भोगेका पीडाभन्दा पनि मुलुकले भोगेको पीडा ठूलो भएकाले यस्तो अवस्थामा स्थितिलाई सम्हाल्न सरकारले सञ्चारमाध्यम सँग उचित संयोजन गर्न नसकेको गुनासो गर्छन् । सूचना लिन र दिन कठिन भएको स्थितिमा सञ्चार माध्यमकै कारण जनतामा आतङ्क सिर्जना हुनुहुँदैन भन्नेमा सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । प्रभावित सञ्चार गृहमा सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल र सचिव सुनिलबहादुर मल्लले निरीक्षण र अवलोकन गरिरहनुभएको छ । सरकारले तत्काल संस्थागत क्षतिपूर्ति दिने योजना भने सार्वजनिक गरिसकेको छैन । रासस
Post a Comment