0
गोल्डेन न्यूज संवाददाता
साहित्यकार टेकनाथ पीडितको कथाहरुको संग्रह यात्राको शुक्रबार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गर्दै आफूले तीन दशक अगाडिदेखि चिनेका स्रर्जक पीडितको सिर्जना यात्राको प्रशंसा गरे । उनले थपे, घाचोक नेतृत्व प्रदान गर्ने स्थल हो जसले नयाँ पुस्तालाई साहित्यिक मार्गमा लाग्न मार्गनिर्देशन गरेको छ । कृतिको समीक्षा गर्दै श्रीधर न्यौपानेले स्रष्टा पीडितलाई जीवन भोगाईका भावहरु कथाको माध्यममा ढाल्नसक्ने सामथ्र्य रहेका स्रष्टाको रुपमा चिनाए । कथा संग्रहका सन्दर्भमा उनले कविता यात्राबाट साहित्यमा लागेका पीडितले उत्कृष्ट कथाहरुको संग्रह प्रकाशन गरेर बहुमुखी प्रतिभाको प्रस्फुटन गरेको बताए । रेन्डम रिडर्स सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष राजेन्द्र चापागाई आहातले टेकनाथ आफ्नो बाटो आफैले खनेर हिडने भएकोले उनी आफ्नो नक्सा आफै कोर्ने स्रष्टा रहेको बताए । स्रष्टा परिचय राख्दै संस्थाका पूर्व अध्यक्ष महेश्वर अनुरागीले २०४८ सालदेखि कृति प्रकाशनमा लागेका टेकनाथ पीडित निरन्तर साहित्य यात्रामा क्रियाशील रहने अग्रज रहेको बताउँदै उनी पछिल्लो पुस्ताका प्रेरणाका स्रोत रहेको धारणा व्यक्त गरे । स्रष्टा पीडितले कार्यक्रममा उपस्थित भएर शोभा बढाइदिनेहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो पहिलो कथा संग्रह रहेकाले केही कमीकमजोरी रहे आगामी दिनमा सच्चाउने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा संस्थाका सल्लाहकार मीनराज लम्साल, सह प्राध्यापक डा. यामनाथ तिमिल्सिना, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटलगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा साहित्यकार सूर्य खड्का विखर्ची, अल्पज्ञानी र विष्णु बास्तोलाले आफ्ना रचना वाचन गरेका थिए । अध्यक्षको आसनबाट बोल्दै संस्थाका अध्यक्ष भानुभक्त अविरलले सधै पोखराको नजिकै ग्रामीण भेकमा हुने गरेको सिर्जना साहित्य सदनको साहित्यिक कार्यक्रम पोखरा र पोखरेलीसँगको सामिप्यतालाई नजिक्याउनका लागि बालमन्दिरमा कार्यक्रम राखिएको बताए । संस्थाका उपाध्यक्ष एकदत्त लम्सालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सूर्यकिरण लम्सालले गरेका थिए ।

Post a Comment

 
Top