गोल्डेन न्यूज संवाददाता
‘विपद् व्यवस्थापनमा युवा, पूनर्निर्माणका लागि युवा स्वयं सेवा’ अभियान अन्र्तगत शुक्रबार युवा स्वयमसेवी टोलीले तनुहँमा पनि पूर्ननिर्माण गरेको छ । युवा स्वयं सेवा समन्वय उपसमितिका संयोजक दीपेन्द्र श्रेष्ठका अनुसार टोलिले तनहुँको मनपाङ गाविस स्थित छविसेमा रहेको अकला निमाविमा ३ वटा अस्थायी राहत कक्षा कोठा निर्माण गरेको हो ।गत बैशाख १२ र २९ गते गएको भुकम्पले अकला निमावीको भवन पुरै ध्वस्त भएको थियो । तनहुँका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको आग्रह र पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको समन्वयमा टोली तनुहँ पुगेको संयोजक श्रेष्ठले बताए ।बाँसको खाँबो गाडेर चित्राले बारी त्रिपालको छाना बनाइ कम खर्चमा सरल ढंगले बनाईने अस्थायी राहत कक्षा कोठा बारे अभिमुखिकरण समेत गराएको श्रेष्ठले जानकारी दिए । भवन ध्वस्त भएर अहिलेसम्म पढाई संचालन हुन नसकेको विद्यालमा राहत कक्षा कोठा निर्माणपछि आइतबार पठन पाठन हुने विद्यालय व्यवस्थापन समितिका सल्लाहकार हरिबहादुर थापाले बताए । उनले स्थानीय स्रोत साधानको प्रयोग गरी कम खर्चमा निर्माण गर्न सकिने अस्थायी कक्षा कोठा राम्रो र बलियो रहेको भनाई उनको छ । अस्थायी राहत कक्षा कोठा निर्माणस्थल अकला निमाविमा पुगेका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले यो विधि प्रयोग गरेर अस्थायी कक्षा कोठा निर्माण गरी जेठ १७ गते सम्म विद्यालय संचालन गर्न निर्देशन दिए । तनुहँका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ, स्थानीय विकास अधिकारी बन्धु बाँस्तोला, जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीको पनि उपस्थिति रहेको थियो । स्वयंसेवा टोलीमा सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति तथा विपद् व्यवस्थापन नागरिक सहयोग समितिका संयोजक विष्णुबहादुर भट्टराई, सिद्धार्थ क्लवका अध्यक्ष दीपेन्द्र मर्सानी, राष्ट्रिय अनुसन्धानका डिआईजी यादव रेग्मी, पोखरा स्टील फेब्रीकेटर्स एशोसिएशनका अध्यक्ष रुद्रप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । विद्यालय पूनर्निर्माणकै लागि कास्कीको स्वयंसेवा टोली शनिबार लमजुङको सुन्दरबजार जाने पनि श्रेष्ठले जानकारी दिए ।
Post a Comment