0
विनाशकारी भूकम्पको कम्पनले त्रसित भएका सर्वसाधारणमा मानसिक समस्या बढ्दै गएको छ । भूकम्प गएको आज ११ दिन बितिसक्दा पनि उनीहरुमा विभिन्न मनोसामाजिक समस्या र मानसिक त्रास कायमै देखिएको छ ।कतिपय भूकम्पपीडित राम्ररी काम गर्न सकिरहेका छैनन् भने कतिपयमा भूकम्पको कम्पन बेलाबेलामा दिमागमा बल्झिरहने गरेको छ । चितवन सिद्धिकी सुवर्णमाया चेपाङ भूकम्प जाँदा घरमै हुनुहुन्थ्यो । हत्तपत्त बाहिर निस्किएका बेला माथि भिरबाट खसेको ढुङ्गाबाट जोगिनुभयो सुवर्णमाया ।एक त घरले थिच्ला भन्ने त्रासका बेला सामुन्नेबाटै ढुङ्गो जाँदा एकछिन उहाँको होस नै रहेन । सुवर्णमाया भन्नुहुन्छ, “ढुङ्गोले मा¥यो भनेको, बाँच्यो, अहिले पनि ढुङ्गो खसेको देख्छु र तर्सन्छ ।” बेलाबेलामा घुमाउने र राति सपनामा पनि भुइँचालो गएको देख्ने गरेको भूकम्पपीडितले बताएका छन् ।‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किंँदा तर्सिन्छ’ भन्ने उखान अहिले गोरखाकी सुुशीला उपरकोटीमा चरितार्थ छ । वैशाख १२ गते केही सेकेन्डमा घरबाट बाहिर निस्किएर बाँच्नुभएकी उपरकोटीलाई बेलाबेलामा अहिले पनि घुमाउँछ ।हुन त बेलाबेलामा भूकम्प नआएको भने होइन तर भूकम्प नआउँदासमेत उनीहरु भूकम्प आयो भनेर चिच्याउने, कराउने गरेका छन् ।गोरखा बुङ्कोटकी अर्की महिला लीला खनालको पनि राम्ररी शरीरले काम गर्न सकेको छैन । “हातगोडा लल्याकलुलुक हुन्छ, अहिलेसम्म काम गर्ने जागर चलेको छैन”, लीलाले भन्नुभयो । कहिले भूकम्प आउने हो भन्ने डर उनीहरुमा छ ।भूकम्पका बेला भागदौड हुँदा आत्तिएका महिला सपनामा समेत भूकम्प आएको देख्ने र बर्बराउने गरेको बताउँछन् । गोरखा बुङ्कोट–९ मैलङ्गकी फुलमाया रम्तेलको भूकम्पले घर चर्चरी चर्किएको छ ।घरभित्र बस्ने अवस्था छैन । गर्भवती बुहारीलाई स्याहार गर्नुपर्ने बेलामा अहिले उनको बास बारीको खुला क्षेत्रमा छ ।खाने अन्न छैन । राहतसमेत टाठाबाठाले पाउने गरेको बताउनुहुने रम्लेतमा दोहोरो मार छ । एक त भूकम्पको पीडा, अर्काे राहत नपाएको पीडा । त्यसमाथि मनोवैज्ञानिक समस्याले उहाँलाई पिरोल्ने गरेको छ । भन्नुहुन्छ, “टाउको दुख्छ, रिँगटा पनि लाग्छ, जतिखेर पनि भूकम्प आएजस्तै लाग्छ र आत्तिन्छु ।”कुनै पनि विनाशकारी विपत्तिबाट मानिसमा मनोसामाजिक समस्या देखिने भएकाले परामर्श सेवा आवश्यक हुने भरतपुर अस्पतालका चिकित्सक डा भोजराज अधिकारी बताउनुहुन्छ ।घाइते भएकाको पीडा त एकातिर छ नै, त्यसमाथि बाँचेकामा समेत मनोवैज्ञानिक समस्या देखिएकाले उनीहरुको मनोपरामर्श सेवातर्फ पनि सरकारको ध्यान जानुपर्ने देखिन्छ । रासस

Post a Comment

 
Top