गोल्डेन न्यूज संवाददाता
पोखरामा मापदण्डविपरीत बनेका अग्ला घर भत्काउन भूकम्पपछि पोखरा उपमहानगर पालिकामाथि तीव्र दबाब परेको छ । भूकम्पले पोखरामा खासै ठूलो क्षति नगरे पनि अग्ला घरका कारण आफू खतरामा परेको गुनासो गर्दै उजुरी दिनेहरूको सङ्ख्या बढेको छ । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगरका अनुसार लिखित र मौखिक उजुरीउपर छानबिन थालिएको छ । एक सय चौध जनाले छिमेकीको अग्ला घरविरुद्ध लिखित उजुरी दिएका छन् । लिखित उजुरी दिएका पोखरा(६ बैदाम निवासी गोमा ढकालले उपमहानरपालिकाले गुनासो नसुनेको आरोप लगाए । “छिमेकीको आठतले घरले जतिबेला पनि डर लागिरहन्छ”–उनले भने । पोखरामा बनेकामध्ये ७० प्रतिशतभन्दा बढी घर मापदण्ड विपरीतका रहेको उपमहानगर पालिकाको अनुमान गरेको छ । तर यसको आधिकारिक तथ्याङ्क भने उपमहानगर पालिकासँग छैन । पोखरा नगर क्षेत्रमा ६८ हजार ३५८ घर रहेका छन् । यो वर्षमात्र दुई हजार ९९७ घर बनेका र दुई हजार ८२९ घर बनाउन नक्सा पास भइसकेका छन् । विसं २०३३ मा पोखरा उपमहानगरपालिकाले नै तय गरेको मापदण्डअनुसार यहाँको प्रमुख पर्यटकीय क्षेत्र वडा नं ६, लेकसाइड र वडा नं १७, छोरेपाटन क्षेत्रमा २४ फिट अग्लो अर्थात् करिब साँढे दुई तलासम्मको घर बनाउन पाइन्छ । उपमहानगरपालिका क्षेत्रको जुनसुकै क्षेत्रमा पनि ३५ फिटभन्दा अग्लो घर बनाउन नपाइने मापदण्ड कायम भए पनि व्यवहारमा भने त्यो लागू भएको छैन । “मापदण्डअनुसारको निर्माण सम्पन्न भएको प्रमाणपत्र लिन आउँछन्”,–पोखरा उपमहानगर पालिका इन्जिनियर महेन्द्र गोदारले भने–“त्यसपछि आफूखुसी निर्माण गर्ने प्रवृत्तिले समस्या भएको हो ।” सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जेठ ४ गतेदेखि असार मसान्तसम्म कुनै पनि निर्माण कार्यको स्वीकृत नदिन परिपत्र गरेपछि उपमहानगरपालिकाले अनधिकृत रुपले निर्माण कार्य गर्नेमाथि कारबाही सुरु गरेको छ । लेकसाइडमा आठ तला अग्लो घर बनाउने लक्ष्मी सापकोटा र ठेकेदारलाई पक्राउ गरी निर्माण प्रक्रिया रोक्का गरिएको उपमहानगर पालिकाले जनाएको छ । अवैधानिक निर्माण रोक्न तीव्र दबाब परेपछि उपमहानगर पालिकाले वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय अवैधानिक निर्माण अनुगमन समिति गठन गरेको छ । सो समितिले १५ दिनभित्र पोखरा नगर क्षेत्रमा रहेका अवैधानिक घरको लगत सङ्कलन गरी उपमहानगरपालिकालाई के गर्दा उपर्युक्त हुन्छ भन्ने राय दिनेछ ।
Post a Comment