गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री सुशील कोइरालाले भुकम्प पीडितको राहत रकम हिनामिना गर्ने प्रयास गर्ने जो कोहिलाई पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोइरालाले राहत रकम दुरुपयोग हुन नपाओस भन्नेमा सरकार सचेत रहेको बताउँदै राहत रकम र सामग्री वितरणमा पक्षपात भएको र अनियमितता भएको जानकारी हुनासाथ आफूलाई खबर गर्न आग्रह पनि गरे । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडित लाई सहयोग रकम हस्तान्तरण गर्न पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग प्रधानमन्त्री कोइरालाले भने, ‘देश दुःखमा रहेको बेलामा जम्माखोरी, कालाबजारी र पीडितलाई दिने सहयोगमा खेलबाड गर्न खोज्ने जो कोहीलाई कारबाही गर्न सरकार पछि पर्दैन ।’प्रधानमन्त्री कोइरालाले देशमा प्राकृतिक प्रकोप आएको बेलामा हुने र सक्ने व्यक्तिले पीडितहरुलाई सक्दो सहयोग गर्नुपर्ने बताउँदै देशको लगभग आधा जिल्लाहरु भूकम्पबाट प्रभावित भएको यति ठूलो क्षेत्रमा एक साथ काम गर्नेक्षमता कुनै पनि गैरसरकारी संस्थाहरुको नभएको हुनाले सबै संस्थालाई सरकारी निकायसंग समन्वय गरी काम गर्ने व्यवस्था मिलाइएको समेत बताए ।उनले कही खातै खात कहि रित्तो हात नहोस भनेर सरकारी समन्वयमा राहतका र पुनस्र्थापनाका काम गरिएको पनि बताए । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मंगलबार नेपाल वायु सेवा निगम, प्रकृति संरक्षण कोष र इन्सेकले आर्थिक सहयोग प्रदान गरेका थिए । नेपाल वायु सेवा निगमका कायमु कायम महाप्रबन्धक किरण क्षेत्री (राणा)ले ४७ लाख ९६ हजार ९ सय ७३ रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । उनले निगमका कर्मचारी र निगमका तर्फबाट सो सहयोग रकम संकलन गरिएको बताए ।यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैया सहयोग गरेको छ । कोषका सदस्य सचिव गोविन्द गजुरेलले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । अनौपाचारिक सेवा केन्द्र (इन्सेक) ले भूकम्प पीडितका लागि ७ लाख ५ हजार रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट खर्च हुने गरी सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा इन्सेकका संस्थापक सुशील प्याकुरेलले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आएको बेलामा आफ्नो गाँस काटेर पीडितहरुलाई सघाउने परोपकारी संस्कार नेपालीमा विद्यमान रहेको भन्दै खुसी व्यक्त गरेका थिए ।
Post a Comment