प्रदीप कुमार श्रेष्ठ
मायाकी प्रतिमूर्ति मायादेवी राजभण्डारी सदैव सकारात्मक विचारका साथ आफ्नो जीवनलाई बाँच्ने व्यक्तित्व हुनुहुन्थ्यो । जीवनको बालकपन जन्मथलो दाङ्सीमराङ्गको पारिलो परिवेशमा उहाँको क्रियाकलाप हेर्दै बुबा गणेश कुमार श्रेष्ठ र आमा सत्नकुमारी मनमनै मुस्कुराइरहन्थे । भनिन्छ, जीवन घनले ठोकेर फलामको डल्लोलाई आगोमा सेकाउँदै राम्रो आकृति दिनु हो । सामाजिक मान्यता र नेपाली मात्रको संस्कारलाई हृदयंगम गर्दै आफ्ना बाबु आमाद्वारा रुचाइएका फलाङ्गकोट निवासी बद्री नारायण भण्डारीसित उहाँको विवाह भयो । महिलाको बसाई सराईको यो सामाजिक प्रचलनमा नव अंकुरित फूलझैँ नव आगन्तुक सदस्य बडो इमान्दारी र मिहिनेतका साथ घरलाई उज्यालो बनाउने कर्ममा अन्य सदस्यहरुझैँ अहोरात्र जुट्नुभयो । जीवनमा आउने भूकम्पको प्रहर जस्तै उहाँको परिवार आफ्नाहरुलाई छाडेर भोर्लेटार झर्नुप¥यो । नयाँ परिवेश, नयाँ आफन्तहरुसितको सहयात्रा गर्दै भोर्लेटारलाई आफ्नो कर्मथलो बनाउनुभयो । आफूले सिर्जना गरेको सपनाहरुलाई पूर्णता दिन उत्साही बनेर निरन्तर लाग्नुभयो । यसै क्रममा व्यवसायिक कर्महरु अंगाल्दै श्रीमान्को प्रगाढ मायामा लुट्पुटिँदै दुई छोरा र पाँच छोरीसहित सात जनाको पारिवारीक गुँड बनाउनुभयो ।आफ्नो जीवनको हरेक कालकण्ठहरुमा सधैँ जुझारु रहँदै ईश्वरीय दर्शनमा आफूलाई निथु्रक्क पार्दै चेतनालाई सधैँ असल मार्गमा अभिप्रेरित गर्नु हुने वहाँ साँचो अर्थमा आध्यात्मिक हुनुहुन्थ्यो । शरीरप्रतिको मोह, अभिमान केही नगरी सदा आफूलाई आत्मिक चिन्तनमा राख्नु र आत्माको पहिचान गरी उसको निर्देशन पालना गर्नु नै आध्यात्मिकता हो । आफ्नो जीवनमा प्राप्त भएका राम्रा–नराम्रा जस्तो अवस्थाहरुमा पनि आफूलाई सामान्य वोध गर्नु उहाँको विशेयता थियो । सदा सर्वदा आफ्ना नजिक एवं टाढाका इष्टमित्रहरु, आफन्त र चिनेजानेकाहरु प्रति असाध्यै आदरभाव राख्ने साथै कृतज्ञभाव प्रकट गर्नुहुन्थ्यो । उहाँको यस किसिमको जीवन दर्शनबाट व्यक्तिगत रुपमा म प्रभावित हुने गर्दथेँ । उहाँसितको कुराकानीमा म सधैँ उत्साह र स्नेह भाव पाउने गर्थेँ । जवकि उहाँ स्वयम् भने प्यारालाइसिसबाट थलिएर देब्रे हर नै नचल्ने ११ वर्ष भैसकेको बिरामी हुनुहुन्थ्यो । विगतका कर्महरुमा पश्चाताप नगरी त्यसलाई गुरु मान्दै आफूलाई शिक्षित बनाउनु पर्दछ भन्ने मान्यता उहाँ राख्नुहुन्थ्यो । आफ्ना सन्तानहरुलाई मार्ग निर्देशन दिँदै भन्नुहुन्थ्यो “जीवन भनेको प्रकृति हो । जसरी सूर्य उदाउने र अस्ताउने गर्दछ, जीवनमा सुख–दुःख पनि यसरी नै कुनै न कुनै रुपमा आउने गर्दछ । जसरी पृथ्वीले जस्तोसुकै अँध्यारो वा कुनै पनि प्रकारको संकटलाई सहन्छ, त्यसरी नै जीवनको बाटोमा आएका अँध्यारोलाई सहन सक्यो भने उज्यालो अवश्य प्रवेश हुनेछ ।”भोर्लेटार बसाईको क्रममा त्यहाँका बासिन्दाहरुसित सहयोगी बन्दै विद्यालय खोल्ने काममा सहयोग गर्नुभयो । त्यसैले गर्दा होला उक्त स्कूलको स्वर्ण जयन्तीको खबर सुन्नासथ केही गर्न पाए हुन्थ्यो भन्ने विचार राख्नुभयो । उहाँको यस इच्छालाई पूरा गर्नको लागि उहाँका श्रीमान् र छोराछोरी मिलेर रु. १ लाखको अक्षयकोष खडा गरिदिनुभयो । जस अनुसार त्यहाँको स्थानीय गरीब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्तिस्वरुप कक्षा १० सम्म निःशुल्क अध्ययन गर्न पाउने भए । बसाइसराईकै क्रममा जब पोखराको रामबजार–१० मा आउनुभयो तब देखि नै ब्रह्मा कुमारी राजयोग केन्द्र ईश्वरी विश्वविद्यालय पोखरामा नियमित योग साधक बन्न पुग्नुभयो । शारीरिक रुपमा उहाँ अस्वस्थ रहेपनि मानसिक रुपमा उहाँ कहिल्यै अस्वस्थ हुनुभएन । आफूलाई व्युँझिएको बखत सधैँ इश्वरीय तपमा राख्नुहुन्थ्यो । आज उहाँ आफ्नो शरीर पञ्चतत्वमा विलिन गराएर जानुभएको पनि ४५ दिन भइसकेछ । उहाँको आत्माले चिर शान्ति प्राप्त गर्दै सदा–सदा वैकुण्ठमा बास गरिरहुन् यही नै मेरो हार्दिक श्रद्धाञ्जली !
(
लेखक श्रेष्ठ स्व. राजभण्डारीका ज्वाइँ हुन् ।)
(
लेखक श्रेष्ठ स्व. राजभण्डारीका ज्वाइँ हुन् ।)
Post a Comment