0
मौसमी रुघाखोकी र स्वाईनफ्लुबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्न सञ्चार माध्यमले समेत चासो देखाउन थालेका छन् । अष्ट्रेलियाको सिड्नीबाट सञ्चालित नेपाली भाषाको समाचारमूलक अनलाईन पोर्टल नेपाल रिपोर्टस् डटकमले प्रकोप पीडित जाजरकोटबासीलाई सहयोग गर्न अभियान नै सुरु गरेको छ । उक्त अनलाईनले अष्ट्रेलियामा प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र होस्टल रिटन्र्सबाट प्राप्त हुने आम्दानी जाजरकोट बासीको उपचारका लागि सहयोग गर्ने घोषणा गरेको हो । अनलाईनको व्यवस्थापन पक्षले केही दिन अघिमात्रै अष्ट्रेलियाभर होस्टल रिर्टन्स प्रदर्शन गर्नका लागि चलचित्रको निर्माण पक्षसँग सम्झौता गरिसकेको चलचित्रका निर्माता सुनिल रावलले जानकारी दिए । “यो हाम्रा लागि पनि निकै खुशीको कुरा हो ।” रावलले भने–“हामीले व्यवसायिक रुपमा नेपाल रिपोर्टस् टीमसँग सम्झौता गरेपनि उनीहरुले यो चलचित्रबाट हुने आम्दानी जाजरकोटका प्रकोप पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।” अष्ट्रेलियाका लागि होस्टल रिटन्र्सको सम्पूर्ण जिम्मेवारी नेपाल रिपोर्टस् टीमलाई नै दिईएको रावलले बताए । नेपाल रिपोर्टस् डटकमका प्रकाशक तथा सम्पादक विज्ञान कँडेलले जाजरकोटमा स्वाईनफ्लु तथा मौसमी रुघा खोकीको प्रकोपले धेरै बिरामी परेका र उपचार नपाएर धेरैको ज्यान गएको भन्दै आफूहरुले पीडितहरु लाई थोरै भएपनि राहत प्रदान गर्ने उद्देश्यले यस्तो घोषणा गरेको बताए । “यो नौलो अभियान हो ।” कँडेलले भने–“चलचित्र होस्टल रिटन्र्सको च्यारिटी शो प्रदर्शनबाट अष्ट्रेलियामा हुने केही आम्दानी हामी जाजरकोटका प्रकोप पीडितलाई सहयोग गर्नेछौं ।” सञ्चार माध्यमले सामाजिक क्षेत्रमा सुरु गरेको यस अभियानलाई अरुले पनि सिको गर्नुपर्ने उनले बताए ।
नेपाल रिपोर्टस् डटकमका निर्देशक विष्णु सापकोटाले यो चलचित्र नेपालमा प्रदर्शन सुरु भए लगत्तै अष्ट्रेलियाको सिड्नी लगायतका अन्य शहरहरुमा समेत प्रदर्शन गरिने जानकारी दिए । इन्जिनियरिङ्गका विद्यार्थीको सेरोफेरोमा केन्द्रित रहेर बनेको यो चलचित्र नेपालमा भने बैशाख २५ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

Post a Comment

 
Top