0
प्रहरी बर्दी लगाएका नागरिक हुन् भने नागरिक बर्दिवहीन प्रहरी हुन् भन्ने प्रचलन व्याप्त पाइन्छ तर व्यवहारमा यो लागू हुन सकिरहेको छैन । प्रहरीको मुख्य काम भनेकै मुलुकको आन्तरिक सुव्यवस्था कायम गर्नु हो । मुलुकको सुव्यवस्था शान्ति सुरक्षासँग जोडिएको हुन्छ र सुरक्षा नागरिकसँग जोडिएको हुन्छ । शान्ति सुरक्षा नागरिकका लागि हो भने अपराध पनि नागरिकद्वारा नै हुन्छ । अपराध गर्ने पनि कुनै न समुदायको नागरिक हुन्छ भने अपराध गरेर पनि ऊ कुनै न कुनै समुदायको नागरिककै सम्पर्कमा बसेको हुन्छ । शान्ति सुरक्षा पनि नागरिकलाई चाहिने र अपराध पनि नागरिकबाटै हुने भएकाले शान्ति सुरक्षा कायम गर्ने मुख्य उद्देश्यका साथ तैनाथ गरिएको प्रहरीको नागरिकसँग सोझो सम्पर्क र सम्बन्ध जरुरी हुन्छ । यसका लागि विभिन्न प्रयास पनि भएका छन् तर नागरिक–प्रहरी सम्बन्ध अझै सुमधुर भइसकेको छैन । सम्बन्ध सुधारकै पछिल्लो प्रयासस्वरुप प्रहरीले देशव्यापीरुपमा प्रहरीमा मुस्कानसहितको सेवाभाव ल्याउन एकमहिने अभियान चलाएको छ । प्रहरीको व्यवहारमा शिष्टता र काममा स्पष्टता ल्याउने अभियानको मुख्य उद्देश्य रहेको प्रहरीको भनाइ छ । प्रहरीको व्यवहारमा शिष्टता र काममा स्पष्टता, प्रहरी डरलाग्दो नभइ भरलाग्दो बन्नुपर्ने नारा आकर्षक छन् । तर नागरिकले नाराभन्दा पनि व्यवहार खोजेका हुन्छन् । प्रहरीको संरचना कस्तो छ, संगठनले के चाहन्छ, आफ्ना उद्देश्य पूरा गर्न उसले के के काम ग¥यो रु यो नागरिकका लागि चासोको विषय होइन । प्रहरीले दिएको सेवाबाट नागरिकलाई के राहत भयो ? त्यो उनीहरुका लागि महत्वपूर्ण विषय हो । त्यसैले प्रहरीले नागरिकसँगको सम्बन्ध सुधार्ने पहिलो शर्त भनेकै नागरिकले महसूस गर्न सक्ने काम हो । नागरिकसँग रिसाउने प्रहरीहरुलाई सुधार्न मुस्कानसहितको सेवा अभियान शुरु गरिएको होला, यो जरुरी पनि छ । व्यवहार राम्रो भएन भने सेवा राम्रो भए पनि त्यसले नकारात्मक असर पार्न सक्छ तर पनि महत्वपूर्ण भनेको सेवा नै हो । नागरिकसँग सम्बन्ध सुधारको पहलस्वरुप सामुदायिक प्रहरीको स्थापना गरिएको छ । यसले धेरै हदसम्म सुधार पनि भएको छ । जहाँ–जहाँ प्रहरी नागरिकसँग नजिक बन्न खोज्छ, त्यसले त्यहाँ राम्रै सफलता पाएको देखिन्छ । त्यसका लागि सामुदायिक प्रहरीजस्ता विभिन्न कार्यक्रम र संरचना सञ्चालन गरिएका हुन्छन् । नेपालको सामुदायिक प्रहरी होस् चाहे बेलयातको मिलिशिया प्रहरी । चाहे सिंगापुरको छिमेक प्रहरी पोष्ट । यी सबै नागरिकसँग नजिक रहेर शान्ति सुव्यवस्था कायम गर्न स्थापना गरिएका संरचना हुन् । जनचेतना कार्यक्रम, राहतमूलक कार्यक्रम, जनताका विकास निर्माणमा सहभागिता आदि कार्यक्रममा सहभागी भएर प्रहरीले नागरिकसँग सम्बन्ध सुधार गर्न सक्छ । नागरिकले चाहेको बेला सुरक्षा नदिने, घुमाउरो पाराले दुई पैसा दाम लिन पनि नछाड्ने, मुद्धामामिला आदिमा पक्षपातपूर्ण व्यवहार गर्ने, नागरिकहरुमै पनि ठूलाठाला भनिनेलाई बढी पहुँच दिने र सर्वसाधारणको कुरा नसुन्ने आदि प्रवृत्ति हटाउन सकेमा प्रहरी र नागरिकबीच सम्बन्ध अझ प्रगाढ हुने छ । यस्तो प्रवृत्ति नहटाए मुस्कान मात्र किन चुम्बन नै दिए पनि बनावटी व्यवहारबाट सम्बन्ध सुध्रदैन । नागरिकसँग सम्बन्ध सुधार्न प्रहरीले भित्रैदेखि नागरिकको मन जित्ने गरी सबै कामकार्वाही नागरिकमैत्री बनाउनुपर्छ । हरेक नागरिकलाई ‘मेरो प्रहरी, प्रहरी राज्यको सेवक र म प्रहरीको सहयोगी’ भन्ने भावना जागृत गर्नुपर्छ ।

Post a Comment

 
Top