0
गोल्डेन न्यूज संवाददाता
पोखरा १७ चैत ।
नयाँ शैक्षिकशत्रको आगमसंगै शिक्षासंग सम्बन्धित विभिन्न संस्थाले आफ्नो आम्दानीको स्रोत खोजी गरिरहेका छन् । नयाँ शैक्षिकसत्रमा विद्यार्थीहरुको भर्ना गर्ने तथा उनीहरुलाई आवश्यक पाठ्यपुस्तक र पोशाकको माध्यमबाट मनग्य आम्दानी जुटाउन केही निजी शिक्षणसंस्था सक्रियतापूर्वक लागेका छन् भने त्यस्ता शिक्षण संस्थामा आफ्नो पव्लिकेशनको पुस्तकलाई पाठ्यक्रममा समावेश गरि धेरै पुस्तक विक्री गरी मनग्य नाफा कमाउने प्रयासमा विभिन्न पव्लिकेशनहरु लागेका छन् । त्यस्ता पव्लिकेशनले विभिन्न विद्यालयलाई समूहगत रुपमा तथा त्यस्ता विद्यालयहरु आवद्ध संस्थालाई संस्थागत रुपमा नै मोटो रकम कमिसन दिने गरेका छन् । यसका साथै विद्यार्थीहरुको पोशाक र स्टेशनरी विक्री गर्नेहरुले पनि विद्यालयसंग सौदावाजी गरेर आम्दानी बढाउने उपाय खोजिरहेका छन् । यसका साथै पुस्तक व्यवसायीहरुले पनि पव्लिकेशनबाट पाउने अधिकतम् छुट विद्यार्थी तथा सर्वसाधारणलाई उपलव्ध नगराइ बढी नाफा आर्जन गर्ने दाउमा छन् ।
यी विभिन्न संस्थाले रकम आर्जन गर्दा त्यसको मार प्रत्यक्ष रुपमा आम सर्वसाधारण तथा विद्यार्थी र तिनका अभिभावकलाई नै पर्ने गरेको छ । तैपनि विद्यार्थीसंग सम्बन्धित विभिन्न संगठनहरु र अभिभावकसंग सरोकार राख्ने संस्थाका साथै राज्यका निकाय बेखबर जस्तै देखिनुलाई सबैले चिन्ताको रुपमा लिएका छन् । गोल्डेन न्यूज दैनिकमा यहि चैत्र १३ गते शुक्रबार प्रकाशित समाचारलाई विभिन्न एफएम रेडियोले समेत प्रशारण गरेपछि केही शिक्षण संस्थाले असन्तुष्टि प्रकट गरेको भएपनि केही संस्था भने यस विषयमा देखिएको विकृति विसंगतिलाई न्युनिकरण गर्नुपर्ने पक्षमा देखिएका छन् । यसैक्रममा विभिन्न विद्यार्थी संगठनहरु, अभिभावक संघ र उपभोक्ता मञ्चले विज्ञप्ति निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । ती संस्थाको मंगलबार पोखरामा सम्पन्न संयुक्त बैठकले बुधबार सरोकारवाला सबै निकायसंग छलफल गरेर उपयुक्त निकास खोज्ने निर्णय गरेको छ । यसका लागि बुधबार उनीहरुले शिक्षासंग सम्बन्धित सरकारी निकायहरु जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा समिति, पुस्तक व्यवसायी, प्याव्सन, एनप्याव्सन, विभिन्न पव्लिकेशन, उपभोक्ता र अभिभावक तथा विद्यार्थीहरुसंग सम्बन्धित संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरेर अन्तक्र्रिया गर्ने भएका छन् ।
बैठकमा अनेरास्ववियुका हरिबोल गौतम र शेखर गौतम, अखिल क्रान्तिकारीका कृष्ण दाहाल, नेपाल विद्यार्थी संघका धानु ढकाल र सरोज केसी, अखिल छैटौंका गणेश पौडेल, उपभोक्ता मञ्चका कपिल कोइराला र अभिभावक संघका हेमराज बराल लगायतका सहभागी थिए । उनीहरुको बैठकले पव्लिकेशनबाट मोटो रकम लिएर विद्यालयका संचालक तथा संस्थाहरुले विद्यार्थी र अभिभावकलाई मारमा पारेको निष्कर्ष निकाल्दै यसका लागि तत्काल अनुगमन थाल्ने र आवश्यकता अनुसार चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको बैठकका सहभागी सरोज केसीले जानकारी दिए । विभिन्न विद्यालयका संचालक ले पव्लिकेशनसंग मिलेर समूहगत रपमा पुस्तक पसल समेत संचालन गरेको र पव्लिकेशनबाट कमिशन लिएर विद्यालयसम्म प¥याउन थालेका छन् । पव्लिकेशन र विद्यालयका संचालकबीच भएको साँठगाँठ तथा कमिशनको खेलका कारण केही पुस्तक व्यवसायी भने चिन्तित छन् । पव्लिकेशनले स्कूललाई कमिशन दिएर पुस्तकको मूल्य बढाउछन् अनि पुस्तक व्यवसायीले पुस्तकको मूल्य बढाए र धेरै नाफा लिएको भने हाम्रो आलोचना हुन्छ एक पुस्तक व्यवसायीले गोल्डेन न्यूज दैनिकसंग भने–‘अब राज्य तथा गैह्रराज्य पक्षले सबै पव्लिकेशन लाई उनीहरुले पुस्तकको मूल्य कति तोक्ने या कति रुपैयाँसम्म बढाउन पाउने भन्ने सीमा तोक्नु आवश्यक छ ।’

यसैबीच विभिन्न पव्लिकेशनहरुलाई उनीहरुको पुस्तक, विद्यालयको पाठ्यपुस्तकको रुपमा लागू गर्ने निर्णय गरेर पव्लिकेशनबाट विभिन्न विद्यालयहरुले समूहगत र संस्थागत रुपमा मोटो रकम लिने गरेको आरोप लागिरहेको बेला एनप्याव्सनका अध्यक्ष रामबहादुर मोचीले विभिन्न पव्लिकेशनबाट रकम लिएको स्वीकार गरेका छन् । विभिन्न शैक्षिक गतिविधि संचालन गर्नका लागि विभिन्न पव्लिकेशनले सहयोग गर्दै आएको बताउँदै उनले गोल्डेन न्यूज दैनिकसंग भने–‘जुन पव्लिकेशनको पुस्तक छनौटमा परेको छ ती पव्लिकेशनले हामीलाई थोरबहुत सहयोग गर्छन् । सोही अनुरुप अहिलेपनि दुईचार वटा पव्लिकेशनले हाम्रो संस्था एनप्याव्सनलाई सहयोग गरेका छन् ।’ अध्यक्ष मोचीले कुन पव्लिकेशनले कति रकम सहयोग ग¥यो त ? भन्ने बारेमा केही बताउन चाहेनन् । केहीले बैंक खातामा पैसा जम्मा ग¥यौं भनेका छन् तर कति जम्मा गरे भन्ने कुरा आफूलाई पनि जानकारी नभएको दावी गर्दै उनले  अहिले सबै विद्यालयका संचालक काममा व्यस्त भएकाले दुईचार दिनपछिमात्रै बैंक खाता हेरेर भन्न सकिने बताए । एनप्याव्सनले विभिन्न पव्लिमेशन र पुस्तक विक्रेताहरुबाट कमिशन वापतको रकम जम्मा गर्नका लागि लक्ष्मी बैंक लगायतका अन्य केही वित्तीय संस्थामा खाता संचालन गरेको र त्यसको जानकारी सम्बन्धित पव्लिकेशन र पुस्तक व्यवसायीलाई दिएको छ । कास्की मोर्डनाइज्ड स्कूलका संचालक समेत रहेका मोचीले केही पव्लिकेशनको कार्यशैली प्रति भने आक्रोश व्यक्त गरे । ‘हामीकहाँ हाम्रो पुस्तकलाई पाठ्यक्रमको रुपमा छनौट गरिदिनु प¥यो भनेर थुप्रै पव्लिकेशनका व्यक्तिहरु आउने गरेका छन् । उनीहरुले आफ्नो पुस्तक छनौटमा पारिदिएमा राम्रो रकम दिन्छौं भन्छन् तर छनौटमा नपारेमा अनर्गल प्रचार गर्दै हिंड्छन् ।’–अध्यक्ष मोचीले भने ।
यसैबीच प्याव्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले भने प्याव्सनले संस्थागत रुपमा कमिसन नलिएको दावी गरे । प्याव्सनमै आवद्ध केही विद्यालयले समूहगत रुपमा र प्याव्सनको आवद्धता देखाएर पव्लिकेशनसंग कमिशन माग गरिरहेको विषयमा भने उनले स्पष्ट जवाफ दिन सकेनन् । प्याव्सनका लागि आफुहरुले त्यस्तो केही माग नगरेको तर कोही साथीले त्यसरी माग गरेको भए आफूलाई केही जानकारी नभएको रानाभाटले बताए ।

Post a Comment

 
Top