0
हरि पन्त
गोल्डेन न्यूज
कास्की भदौरेतामागी गाविस वडा नं. १ निवासी ३७ वर्षीय मिना बि.क. बाख्रा पालन गर्दै छिन् भने केही समयपछि भैंसी पालन गर्ने सोचाइमा छिन् । उनका श्रीमान भने गाडी चलाउछन् । उनले नेष्डो नेपालबाट बिना धितो ५० हजार रुपैयाँ ऋण लिएर बाख्रा पालन गरेकी हुन् । पाँचवर्ष अघिदेखि नेष्डो नेपालमा आवद्ध भएर उनले ऋण लिइ बाख्रा पालन व्यवसाय संचालन गरेकी हुन्  । उनले आफ्ना नियमित घरायसी तथा खेतीपातीका सबै काम गरेरै बाख्रा पालन अघि बढाएकी छन् । सेवा र सुविधा मन परेर नै उनी नेष्डो नेपालमा आवद्ध भएको बताउँछिन् । उनी भन्छिन्–‘नेष्डो नेपाल हाम्रा लागि भगवान नै सावित भएको छ । हामीमाथि जातीय विभेद त यसै नै थियो । ऋण माग्दा कसैले पत्याउँदैनथे । नेष्डोले हामीलाई महत्वपूर्ण गुन लगाएको छ । नेष्डोबाट अझै केही ऋण थपेरै भएपनि भैंसी र बाख्रा पालन गर्दै आफ्नै खुट्टामा उभिन चाहन्छु ।’ यस्तै केन्द्र नं. १६ की विष्णु कुमारी भण्डारी नेष्डोले घरायसी खर्च चलाउन र केटाकेटी पढाउन निकै सहज भएको बताउँछिन् । विगत चार वर्षदेखि नेष्डोमा आवद्ध भएर उनले पटक–पटक ऋण लिंदै समयमै चुक्ता गर्दै आइरहेको बताउँछिन् । यस्तै ढिकुरपोखरीकी सरस्वती सुनारका श्रीमान विदेशमा छन् । नेष्डोको दृष्टि स्वाभलम्वन महिला समूह केन्द्र नं. ३ की प्रमुख समेत हुन् उनी । उनले नेष्डो नेपालबाट ५० हजार रुपैयाँ ऋण लिएर चिया पसल संचालन गर्दै आएरहेको र चिया पसलले नै सम्पूर्ण घरायसी खर्च टरेको बताउछिन् । उनलाई नेष्डो नेपाल प्रति कुनै गुनासो छैन । उनी भन्छिन्–‘नेष्डो नेपाल हाम्रो सहयात्री भएको छ । दुःख, सुखको साथी भएको छ । सुख पर्दा पैसा बचत गर्न र दुःख पर्दा ऋण तथा बचत दुवै लिन सकिने, त्योपनि आफ्नै घर आँगनमै ।’ राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल यस्तै करिब ६१ हजार महिलाको सहयात्री र सुख, दुःखमा काम लाग्ने संस्था भएको छ । वि.सं.२०५२ सालमा स्थापित नेष्डोले स्थापना भएको दुई दशकमै धेरै नागरिकको मन जित्न समेत सफल भएको छ । नेपाल राष्ट्रबैंकबाट लघुवित्तीय कारोबार गर्ने अनुमति पाएको नेष्डोले पर्वत, बाग्लुङ, म्याग्दी, कास्की, तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा पाल्पा, नवलपरासी र चितवन गरि ११ जिल्लामा ४० वटा शाखा मार्फत आफ्नो सेवा विस्तार गरेको छ । नेष्डोले महिलाहरुका लागि बचततर्फ अनिवार्य, व्यक्तिगत र पेन्सन गरि तीन प्रकारका योजना संचालनमा ल्याएको छ । जसमध्ये कुनै पनि महिला सदस्यले अनिवार्य बचतमा मासिक २० रुपैयाँ, व्यक्तिगतमा १० र पेन्सनमा ५० भन्दा बढी रुपैयाँ बचत गर्न सक्नेछन् । यसैगरी कर्जा तर्फ साधारण, मौसमी, व्यवसायिक र घर कर्जा गरी चार प्रकारका कर्ता योजना नेष्डोले संचालन गरेको छ । जसमध्ये साधारण र मौसमी कर्जामा कम्तिमा २० हजार रुपैयाँ, व्यवसायिक र घर कर्जामा न्यूतनम् ५० हजार भन्दा बढी कर्जा नेष्डोका महिला सदस्यले लिन सक्ने संस्थाका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसाईले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
यसैगरी आफ्ना सदस्यहरुका लागि विभिन्न सेवा र सुविधाहरु उपलव्ध गराउँदै आएको छ । यी सेवा र सुविधाहरुमा सुत्केरी स्याहार खर्च, किरिया खर्च, छात्रवृत्ति, पुरुष तथा महिला बन्ध्याकरणका लागि  खर्च, आगलागी, बाढी पीडित तथा चट्याङ्कबाट हुने क्षतिको मूल्याङ्कन गरि सहयोग गर्ने गर्दछ । सुत्केरी स्याहारमा पहिलो बच्चा भएमा एक हजार र दोस्रो बच्चा भएमा दुई हजार रुपैयाँ नेष्डोले उपलव्ध गराउने कास्की शाखा प्रबन्धक कृष्ण प्रसाद चापागाइले जानकारी दिए । उनका अनुसार छात्रवृत्ति अन्तर्गत एसएलसी उत्तीर्ण गरेका छात्रका लागि १ हजार पाँच सय र छात्राका लागि १ हजार ८ सय रुपैयाँ उपलव्ध गराइनेछ । कक्षा १२ भन्दा माथिका विद्यार्थीले प्रथम श्रेणीमा उत्तीर्ण गरेका छात्रका लागि एक हजार दुईसय र छात्राका लागि एक हजार चार सय ४० रुपैयाँ नेष्डोले उपलव्ध गराइनेछ भने दुर्घटनामा परि घाइते भएकाहरुका लागि हप्ताको एक हजार गर्न सक्ने नेष्डो नेपालले जनाएको छ । नेष्डोबाट ऋण लिइ ऋणिको मृत्यु भएमा सबै कर्जा मिनाहा हुने संस्थाका कार्यकारी प्रमुख प्रसाइँले जानकारी दिए ।

Post a Comment

 
Top