0
नयाँ शैक्षिकसत्र शुरु हुन लाग्दा विद्यालयका संचालकहरु र विभिन्न पाठ्य पुस्तक प्रकाशन गर्ने पव्लिकेशनहरुका बीचमा अपवित्र गठवन्धन हुनेक्रम बढ्दो छ । जसका कारण आम विद्यार्थी र तिनका अभिभावकहरु गम्भीर आर्थिक मारमा पर्ने भएका छन् ।  विशेषगरि निजी विद्यालयका संचालकहरुले निश्चित पव्लिकेशन को पाठ्यपुस्तकलाई आफ्नो विद्यालयमा लागू गराउने नाममा विद्यालयका संचालक र पव्लिकेशनका संचालकहरुबीच अपवित्र गठवन्धन हुने गरेको छ । कतिपय विद्यालयले आफ्नो समूह नै बनाएर पव्लिकेशनका संचालक संग वार्गेनिङ गर्ने र लाखौं रुपैयाँ लिएर त्यस्ता पव्लिकेशनको प्रकाशनलाई विद्यालयको पाठ्यपुस्तक बनाउन थालेका छन् । पोखरामा प्याव्सन र एनप्याव्सनका साथै युनिव्स् संस्थामा निजी विद्यालयहरु आवद्ध छन् । यसपटक प्याव्सन आफैले संस्थागत रुपमा पव्लिकेशनसंग पैसाको वार्गेनिङ नगरेको भएपनि प्याव्सन कास्कीका जिम्मेवार पदाधिकारीहरु तथा प्याव्सन आवद्ध विद्यालयका संचालकहरुले व्यक्तिगत रुपमा तथा केही विद्यालयहरु समूह बनाएर पव्लिकेशनहरुसंग वार्गेनिङ गरिरहेको अवस्था छ । कतिपयले भने त्यस्ता पव्लिकेशनको प्रकाशनलाई पाठ्यपुस्तकका रुपमा स्वीकृत गरिदिएपछि लाखौं रुपैयाँको चेक समेत लिइसकेको बताइन्छ । यसरी विद्यालयलाई लाखौं रुपैयाँ बुझाउनु पर्ने भएपछि त्यस्ता पुस्तकको  मूल्य पनि पव्लिकेशनले भारी वृद्धि गरेका छन् । पोखराका एक पुस्तक व्यवसायीले गोल्डेन न्यूज दैनिकसंग भने–‘विद्यालयहरुले आफ्नो पाठ्य पुस्तक बनाउने स्वीकृति नगर्दासम्म न्यून रहेको पुस्तकको मूल्य विद्यालयले पाठ्यपुस्तक बनाउने स्वीकृतिसंगै भारी वृद्धि हुने गरेको छ । यसले पनि के स्पष्ट हुन्छ भने विद्यालयका संचालकहरुले मोटो रकम अशुल गर्न थालेपछि पव्लिकेशनले पुस्तकको मूल्य बढाउने र विद्यार्थी तथा अभिभावकबाट अशुल गर्ने गर्दछन् ।’
यतिबेला एनप्याव्सनले संस्थागत रुपमा विभिन्न पव्लिकेशनसंग पैसाका लागि वार्गेनिङ गरिरहेको छ । छुट्टा–छुट्टै पव्लिकेशनबाट एनप्याव्सनले आफ्नो संस्था संचालन गर्नुपर्ने भन्दै करिब ५० लाख रुपैयाँ अशुल गर्न प्रयास गरिरहेको विश्वस्त स्रोतले जनाएको छ । यसैगरी प्याव्सनसंग आवद्ध विद्यालयका संचालकहरुले करिब १२ वटा समूह बनाएर विभिन्न पव्लिकेशनसंग छुट्टा–छुट्र्टै वार्गेनिङ गरिरहेका छन् । ‘हामीसंग १० देखि १५ विद्यालयहरु आवद्ध छन्, त्यसैले हाम्रो समूहलाई तपाइँको पव्लिकेशनबाट कम्तिमा ५ लाख रुपैयाँ दिनुहोस्, हामी तपाइँको प्रकाशनलाई हाम्रो समूहका विद्यालयको पाठ्यपुस्तक बनाउँछौं ।’ यस किसिमका भनाइ लिएर विभिन्न विद्यालयका संचालक तथा प्याव्सनका जिम्मेवार पदाधिकारीहरु समेत पव्लिकेशन समक्ष धाउने गरेका छन् । प्याव्सन कास्कीका जिम्मेवार पदाधिकारी सहितका केही विद्यालय संचालकहरुले त पोखराको न्यूरोडमा नयाँ पुस्तक पसल संयुक्त रुपमा संचालनमा ल्याएको बताउँदै एकजना विद्यालयका संचालकले गोल्डेन न्यूज दैनिकसंग भने–‘उनीहरुले प्रत्येक पव्लिकेशन संग न्यूनतम् ४÷५ लाख रुपैयाँ लिएर त्यस्ता पव्लिकेशनको पुस्तकलाई आफ्नो पाठ्यपुस्तकको रुपमा समावेश गर्न थालेका छन् ।’
कतिपयले पव्लिकेशनबाट मोटो रकम लिन नपाए आफ्नो विद्यालय संचालन गर्न नसकिने भन्दै रकमको माग गरिरकेका छन् भने कतिपयले आफू आवद्ध संस्था संचालन गर्नका लागि पैसा आवश्यक पर्ने भन्दै पव्लिकेशनसंग वार्गेनिङ गर्ने गरेका हुन् । विशेषगरि नेपाली प्रकाशकहरुले मात्रै विद्यालयहरुसंग वार्गेनिङका आधारमा पैसा दिएर आफ्ना पुस्तकलाई विद्यालयको पाठ्यपुस्तक बनाउने गरेको भएपनि भारतीय पव्लिकेशनले भने त्यस्तो वार्गेनिङ गर्ने र मूल्य बढाउने काम गरेका छैनन् । पछिल्लो समयमा अंग्रेजी विषयको पाठ्यपुस्तक केही विदेशी पव्लिकेशनको प्रकाशनलाई मान्यता दिइएको भएपनि त्यस्तो विद्यालयको संख्या अत्यन्त न्यून छ । कास्की जिल्लाका सीमित विद्यालयहरु गण्डकी बोर्डिङ, सेन्ट मेरिज, शिशु निकेतन, कुमुदिनी होम्स, ज्ञानेन्द्र सैनिक आवसीय विद्यालय र प्यारामाउण्ट बोडिङ लगायतले भारतीय पव्लिकेशनबाट प्रकाशित अंग्रेजी पुस्तकलाई आफ्नो पाठ्यक्रम बनाएको भएपनि अन्य विषयका लागि भने नेपाली पव्लिकेशनका पुस्तकहरुलाई आफ्नो पाठ्क्रम मानेका छन् । अंग्रेजी विषयका लागि विदेशी पव्लिकेशनलाई राम्रो र स्तरीय मानिएपनि अन्य विषयका लागि भने नेपाली पव्लिकेशनका पुस्तकहरु समेत स्तरीय बनेको बताइन्छ । तर नेपाली प्रकाशकसंग विद्यालयका संचालकहरुले गर्ने अपवित्र गठवन्धनका कारण त्यस्ता पुस्तकको मूल्य ह्वात्तै बढाइने भएकोले अभिभावक मर्कामा पर्ने गरेका छन् । कतिपय विद्यालयका संचालकले भने भारतीय प्रकाशकसंग विभिन्न कारणले नजिक रहेकाहरुले मात्र भारतीय पुस्तकलाई पाठ्यक्रमको रुपमा राखेको आरोप समेत लगाउँछन् । हाल कोशेली, स्वर्णिम, संगम, विद्यार्थी, तालबाराही, शुभारम्भ, आठराई, अटल र युनाइटेड लगायतका पव्लिकेशनले विभिन्न विषयका पाठ्यपुस्तक तयार गरेर दवाव र प्रभावका आधारमा आफ्नो पुस्तक विक्री गर्ने गरेको आरोप लागेको छ ।

Post a Comment

 
Top