
उनले जनताको सर्वोच्च स्थान संविधानसभालाई छोडेर सडकमा गएर आन्दोलन नगर्न एमाओवादी र मधेश केन्द्रित दलहरुलाई आग्रह गर्दै आन्दोलन छाडेर वार्तामा आउन समेत आग्रह गरे । सिटौलाले दलहरुबीच रहेका विमतिहरु संविधानसभामा बसेर टुङ्गयाउन सकिने तर सडकमा उत्रिएर लाठी र मुढा लिएर संविधान निर्माण नहुने बताए । पत्रकार सम्मेलन पे्रस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको थियो ।कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन कुनै हालतमा नसर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाव दिंदै उनले पार्टीका भातृ संस्थाहरुको अधिवेशन वैशाख सम्ममा गर्न निर्देशन दिइएको र भदौमा पार्टीको महाधिवेशन गरिने स्पष्ट पारे । ‘आगामी असोज ४ गते पार्टीको महाधिवेशन भएको पाँच वर्ष पूरा हुन्छ त्यसैले कुनैपनि हालतमा भदौमा महाधिवेशन सम्पन्न हुन्छ’–उनले भने कसैगरेपनि महाधिवेशन सर्दैन ।’ महाधिवेशनमा कुन पदमा चुनाव लड्ने भन्ने बारेमा भने उनले केही बताएनन् । ‘राजनीति गर्ने मान्छे चुप लागेर बस्न सक्दैन तर अहिले नै हतारिएर यो पदमा उम्मेदवार बन्छु भनेर बोल्दिन’–नेता सिटौलाले भने । पार्टीको महाधिवेशनको क्रममा जिल्ला तथा केन्द्रीय समिति बनाउँदा केही पद थपिने भन्ने चर्चा चलेको भएपनि महामन्त्री सिटौलाले भने त्यस बारेमा पार्टीमा छलफल नभएको स्पष्ट पारे । कांग्रेसका केही नेताहरु संघीयता सहितको हिन्दूराष्ट्र र केहीले राजसंस्थाको पक्षमा अभिव्यक्ति दिएको भएपनि पार्टीले ती विषयलाई समर्थन नगर्ने उनले बताए । पार्टीभित्र नेताहरुका विभिन्न मत आउनु अस्वाभाविक होइन तर वर्तमान अवस्थामा हिन्दूराष्ट्र र राजसंस्था दुवै विषयलाई पार्टीले आफ्नो ऐजेण्डा नबनाउने उनले स्पष्ट पारे । पार्टीको केन्द्रीय समिति र महाधिवेशनमा यसबारे छलफल हुन सक्ने उनको भनाइ थियो । अन्य केही पार्टीहरुले राजसंस्थाको पक्षमा आवाज निकालिरहेको कुराप्रति लक्षित गर्दै उनले पूर्व राजालाई गुमेको राजतन्त्र आउँछ भनेर नउचाल्न आग्रह गरे । उनले भने–‘अब राजतन्त्र फर्कने सम्भावना छैन । त्यसैले पूर्वराजा ज्ञानेन्द्रले पनि शान्तिप्रिय भएर बस्नुनै उचित हुन्छ । अरुको लहैलहैमा लाग्नु हुँदैन ।’
Post a Comment