प्रतियोगितामा दाङ, तुलसीपुर बाट जापान पुगेकी स्वीकृति भण्डारीले मिस टिन उपाधि प्राप्त गरिन् भने काठमाडौंबाट जापानको नागोयामा बस्दै आएकी अस्मिता गिरी फष्ट रनरअप बन्न सफल भएकी थिइन । प्रतियोगिको सेकेण्ड रनरअपको उपाधि पोखराकी समिक्षाले प्राप्त गर्न सफल भइन । प्रतियोगितामा एन्जिला गिरी, ज्योति सापकोटा, श्रुति भट्टराई, उषा गिरी, निषाना गिरी र अनु भण्डारी पनि प्रतिष्पर्धीको रुपमा सहभागी थिए । प्रतियोगितामा मिस टिन उपाधि गरेकी स्वीकृति भण्डारीले करिब तीनलाख जापानी यन बराबरको उपहार तथा पुरस्कारका साथै फष्ट रनरअप अस्मिताले २० हजार र सेकेण्ड रनरअप समिक्षाले १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा मिस टिन उपाधि प्राप्त गरेकी भण्डारीले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै जापानमा पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गरिएको र आफूहरु सहभागी बन्न पाएकोमा खुशी व्यक्ति गरिन् । विजयी बनेपछि आफूमा उत्साहमात्र नभएर आत्मविश्वास समेत बढेको भन्दै उनले आफ्नो सानैदेखिको सपना पुरा भएको र अन्य प्रतियोगितामा समेत सफलता पाउने विश्वास व्यक्ति गरिन् । १७ वर्षीय भण्डारी स्थानीय इमे मात्सुयामा हाइस्कूलमा अध्ययनरत छिन् । यसैगरी फष्ट रनरअपको उपाधि प्राप्त गरेकी काठमाडौंबाट गएकी १७ वर्षीय गिरीले पनि आफूले प्राप्त गरेको सफलतामा खुशी व्यक्त गरिन् । विगतमा यस किसिमका प्रतियोगिता नभएकोमा पहिलो पटक आफूले उपाधि जित्न सकेको भन्दै उनले आफ्ना परिवार र आयोजक तथा शुभचिन्तक प्रति आभार व्यक्त गरिन् । यसैगरी पोखराबाट गएकी १६ वर्षीय समीक्षाले पनि आफू सेकेण्ड रनरअप बन्न सफल भएकोमा खुशी व्यक्त गरिन । आफूले जापानमा यस्तो कार्यक्रम होला भन्ने नसोचेको भएपनि कार्यक्रमको आयोजना हुनु र आफ्नी आमा राधा थापा सहित परिवारका सदस्यहरुको प्रेरणाबाट सफलता प्राप्त गरेको बताइन । मेरो चाहना मिस टिन उपाधि नै जित्ने थियो तर म मा केही कमजोरी भएर होला उपाधि पाउन सकिन त्यसैले आगामी दिनमा आफ्नो प्रतिभा, क्षमतालाई अझै निखार्ने प्रयत्न गर्नेछु उनले भनिन् ।
पहिलोपटक आयोजित प्रतियोगितामा सहभागी हुने युवतीहरुको संख्या भने धेरै थिएन । आयोजकका अनुसार ९ जनामात्र प्रतियोगी सहभागी रहेको कार्यक्रममा दर्शकको रुपमा भने सहभागी हुने नेपालीको संख्या भने उल्लेखनीय थियो । कार्यक्रममा सहभागी राधा थापाका अनुसार टोयटा र नागोया क्षेत्रमा बस्ने नेपालीहरुको सहयोगमा नै उक्त कार्यक्रम आयोजना गरिएको हो । आफ्नी छोरी समिक्षाले सेकेण्ड रनरअप उपाधि पाएपछि आमा राधाले भनिन्–‘म विशेष परिस्थितिमा जापानमा आएर बसेकी छु । मेरो चाहना छोरीलाई डाक्टर बनाउने थियो तर म जापानमा रहेर छोरीलाई नेपालमै राख्न सकिन त्यसैले जापानमा आएपछि नयाँ ठाऊँ नयाँ भाषा लगायतका कुराले गर्दा मैलै त्यो सपना पुरुा गर्न सकिन । फेरि मेरी छोरीको चाहना मोडलिङ्ग गर्ने र सुन्दरी प्रतियोगितामा सहभागी हुने रहेकोले यसपटक छोरीको चाहना पुरा गर्न परिवारको तर्फबाट सक्दो सहयोग ग¥यौं । छोरीको सफलतामा हामी खुशी छौं ।’
सोही अवसरमा नेपालबाट गायक सुगम पोखरेल लगायतका कलाकारहरुलाई बोलाएर सांस्कृतिक कार्यक्रम समेत गरिएका कारण स्थानीय नेपालीहरुको जमघट धेरै थियो । नेपालबाट जापानमा जानेहरु मध्ये अधिकांशले विभिन्न प्रतिष्ठानहरुमा काम गरेर बस्ने गरेको भएपनि कतिपयले भने रेष्टुरेन्ट तथा पसल जस्ता व्यवसाय संचालन गरिरहेका छन् । मिस टिन कार्यक्रममा पनि स्थानीय व्यवसायीहरुको राम्रै सहयोग जुटेको स्थानीय व्यवसायी राजेन्द्र थापा बताउँछन् । पोखराबाटै त्यहाँ पुगेका रेष्टुरेन्ट व्यवसायमा संलग्न युवा ऋदेन्द्र गिरीले त्यस क्षेत्रमा रहेका नेपालीहरुबीचको सम्बन्ध सुमधुर बनाउने र सहयोगको भावना वृद्धि गर्ने उद्देश्यले समय–समयमा विभिन्न कार्यक्रम संचालन गरिंदै आएको जानकारी दिए । मिस टिन प्रतियोगितामा जापानको अन्य शहरमा रहेका युवतीहरुको सहभागिता नरहेपनि नागोया र टोयटा क्षेत्रका युवतीहरु सहभागी थिए । यसवर्ष पहिलोपटक भएकोले पनि अन्य शहरबाट प्रतियोगी आउन नसकेको तर आगामी वर्ष भने प्रतियोगीको संख्या र कार्यक्रमको गुणस्तर अझै बढ्ने विश्वास आयोजकको छ । कार्यक्रमलाई कतिपय जापानी नागरिकहरुले पनि राम्रो मानेका थिए । कार्यक्रममा सहभागी जापानी आतुषी शिवाताले यस किसिमका कार्यक्रमबाट युवतीहरु को क्षमता र सुन्दरता बढ्ने भएकाले पनि कार्यक्रम फलदायी रहेको बताए ।
Post a Comment