0
गत असोज अन्तिम साता अन्नपूर्ण क्षेत्रमा आएको भारी हिमपातमा परेर ज्यान गुमाएका एक मजदुरको परिवारलाई सगरमाथा इन्सुरेन्स कम्पनीले मृत्यु बिमाबापत ५ लाख रुपैयाँ भुक्तानी दिएको छ । पोखराको फोर ब्रदर्श ट्रेकिङ कम्पनीबाट विदेशी पर्यटक लिएर गएका रामेछापका शम्भु सुनुवारको हिमपातमा परेर ज्यान गएको थियो । टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल संघले सगरमाथा इन्सुरेन्समा मृतकको बीमा रकम दावी गर्दै निवेदन दिएको थियो । सुनुवारको सगरमाथामा इन्सुरेन्स गरिएको थियो । त्यसबापत मृतकले पाएको ५ लाख रुपैयाँ विहीबार मृतककी पत्नी समिता राइलाई टान अध्यक्ष रामचन्द्र शर्मा सगरमाथाका पोखरा प्रमुख कविराज पौडेलले रकम हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै पौडेलले मजदुरको हकहितका लागि आफूहरुले सधै सघाउने बताए । थोरै भएपनि रकमले परिवारलाई राहत दिने उनले बताए । मृतक पतिको रकम बुझ्दै पत्नि समिताले भौतिक रुपमा श्रीमानको शरिर नभएपनि उनको नाममा आएको सहयोगले आफुलाई केहि भएपनि राहत मिलेको बताईन । टान अध्यक्ष शर्माले मजदुरलाई पदयात्रामा पठाउँदा बिमा अनिवार्य गर्नुपर्ने बताए । मजदुरको सुरक्षाको लागि पनि बिमा अनिवार्य भएको उनले बताए । केहि व्यवसायीले मजदुरको बिमा नगरि पदयात्रामा पठाउँदा त्यसबाट आईपर्ने जोखिम बढि हुने उनले बताए ।

Post a Comment

 
Top