0
पोखरा–१३ स्थित मुस्लिम समुदायको वसोबास रहेको मियापाटनमा मुस्लिम समुदाय र सभासदहरु बीच अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का वैकल्पिक पोलिटब्यूरो सदस्य एवं सभासद तुल बहादुर गुरुङ्गले मुलुकमा विद्यमान सवैखालका विभेदहरु अन्त्य गर्दै अव वन्ने संविधानले मुस्लिम लगायत सवैको अधिकार सुनिश्चित गर्नुपर्ने वताए । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सभासद चुडामणि जंगलीले वास्तविक संविधान उत्पीडित उपेक्षित वर्ग र समुदायलाई आवश्यक रहेको औल्याउँदै मुस्लिमहरुलाई राज्यको मुलधारमा समाहित गर्नुपर्नेमा जोड दिए । जिल्ला विकास समिति कास्कीका पूर्व उपसभापति श्रीनाथ बरालले राज्यले सबै धर्म, संस्कृति र समुदायको उत्थान र विकासमा समुचित ध्यान पु¥याउनु पर्ने बताए । कार्यक्रममा मुस्लिम धार्मिक संरक्षण समितिका अध्यक्ष हाजी नसुरद्दिन मियाँ, मुस्लिम धर्म गुरु हाजी जमानुद्दिन मिया, अलिमिया लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हाजी हनिफ मिया, बौद्ध मौला मार्ग समितिका अध्यक्ष कमलाद्दिन मिया लगायतले मुस्लिम समुदायको प्रष्ट पहिचान अत्यावश्यक भएको बताउँदै अल्पसंख्यक मुस्लिम समुदायमा रहेका समस्याहरु समाधानका लागि भूमिका खेलिदिन सभासदहरुसँग आग्रह गरेका थिए । मुस्लिम अगुवाहरुले मदरशा शिक्षा, मस्जिद, ध्यान गर्ने स्थान र अन्तिम संस्कार गर्ने स्थान लगायतमा समस्या देखिएको बताउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए । स्थानीय मुस्लिम अगुवा तथा मुस्लिम धार्मिक संरक्षण समितिका अध्यक्ष हाजी नसुरद्दिन मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नेता प्रकाश सिग्देल, पूर्ण लामा, लोक बहादुर कार्की, विर बहादुर थापा, शान्ति गुरुङ्ग लगायतले मुस्लिम समुदायको सशक्तिकरणका लागि सक्दो सहयोग गर्ने बताए । कार्यक्रमा मदरशा शिक्षाको स्तरवृद्धिमा सहयोग पुग्ने गरी सभासद तुलबहादुर गुरुङ्गले एक लाख रुपैंया सहयोग संसद विकास कोषबाट उपलब्ध गराउने जानकारी गराए ।

Post a Comment

 
Top