0
भर्खरै पोखरामा सम्पन्न कास्की जिल्ला अन्तर क्लव क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको माछापुच्छ«े क्रिकेट क्लवका खेलाडी तथा पदाधिकारीहरुले कास्की जिल्ला क्रिकेट संघप्रति आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले पोखरामा आइतबार पत्रकार सम्मेलन गरि संघले उपविजेता टिमलाई प्राथमिकता दिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । विगत १४ वर्षदेखि पोखरामा क्रिकेट खेल्दै आएका दिपेश खत्रीलाई उनको अनुभव र दक्षता हेरि जिल्ला टिमको क्याप्टेन दिइनुपर्ने एमसीसिका कोच सुमन गुरुङ्गको माग छ ।
‘दिपेश जत्तिको अनुभवी खेलाडी यहाँ कोहि छैनन् तर उनलाई छायाँमा पार्न संघले पटक–पटक षडयन्त्र गरिरहेको छ’ सुमनले भने । फाइनल खेल ९० रन जितेको टिम क्याप्टेन किन जिल्ला प्रतियोतिगाका लागि क्याप्टेनमा छानिएनन् ? गुरुङ्गले प्रश्न गरे । ‘राम्रालाई नभई हाम्रा’ लाई टिममा राख्ने प्रबृत्ति बढ्दै गएको उनले बताए । जिल्ला प्रतियोगिताका लागि छानिएका १४ खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्दागर्दै एमसिसीका राजु गुरुङ्गलाई टिममा नपारिएको उनीहरुको आरोप छ । ‘राजुले पहिलो खेलमा अभिजित २८ रन सहित २ विकेट लिएर म्यान अफ द म्याच पाए, सेमिफाइनलमा ४ मेडन राख्दै फाइनलको २ विकेट सहित उनले प्रतियोगिताभर ६ विकेट लिए, तर छनौटकर्ताले उनलाई टिममा राखेनन्’ माछापुच्छ«े क्रिकेट क्लवका टिमकोच सुमन गुरुङ्गले पत्रकार माझ भने । पारस खड्काको विशाल वारियर्सबाट एनपीएल खेलेका खेलाडीलाई जिल्लास्तरीय प्रतियोगिताबाट पनि नछान्नु विडम्बना भएको उनले जनाए ।
‘फाइनल खेल शुरु हुन लाग्दा संघले हामीलाई दुईजना खेलाडी बाहिरको राखेको भन्दै खेलमा रोक समेत लगायो’ टिम क्याप्टेन दिपेश खत्रिले भने । सोहि विषयमा विवाद श्रृजना भएपछि फाइनल खेला निर्धारित समय भन्दा झण्डै ढेड घण्टा ढिलो गरि शुरु भएको थियो । फुकुवा नभएको भन्दै विष्णु पाण्डे र प्रेम राणालाई फाइनल खेल्नबाट रोेकेको खत्रिले आरोप लगाए । ‘यदि उनीहरुलाई खेल्न नदिने हो भने पहिलो खेलमै रोकिन पर्दथ्यो, तर फाइनलमा पुगेपछि किन ? उनले प्रश्न गरे । संघको निकम्मापनका कारण राम्रा खेलाडीहरु छनौट हुनबाट बन्चित हुन परेको उनको आक्रोश थियो । पत्रकार सम्मेलनमा उपस्थित क्रिकेटप्रेमी प्रकाश श्रेष्ठले संघले प्रतियोगिता आयोजना गर्नुअघि पूर्व तयारी गरेको भए यस्तो स्थितिको सृजना नहुने बताए । ‘छनौटकर्ताहरुले कुन खेलाडी कहाँका हुन, उनीहरुलाई यो प्रतियोगिता खेलाउन मिल्ने थियो वा थिएन भन्ने कुरा पहिल्यै जाँचबुझ गर्नुपथ्यो’ श्रेष्ठले भने– ‘राम्रो खेल देखाइसकेपछि अब उनीहरुलाई यो वा त्यो बहानामा खेल्नबाट रोक्न मिल्दैन ।’
‘प्रतियोतिगा खेल्न टिम नपुग्ने भएपछि स्थानीय अरण्यज्योती क्रिकेट क्लवसंघ मर्ज गरेर खेल्छौं भन्दा पनि संघले दिएन, खोज्दा खोज्दा तीन जना खेलाडी बाहिरबाट ल्यायौं’ खत्रिले भने–उनीहरुले यहाँबाट खेल्न नपाउनेनै हुन भने पहिलो खेलमै उनीहरुलाई रोक्नु पर्दथ्यो ।’ ‘पोखरा क्रिकेट क्लवका खेलाडीहरुले यहाँ जे गरेपनि हुन्छ, तर अनुशासन र नियम जति अरु टिमलाई मात्र लाग्छ’–खत्रिले भने । केहि समय अघि पोखरामा सम्पन्न अन्तर विद्यालय क्रिकेट प्रतियोतिगामा पनि पोखरा क्रिकेट क्लवबाट खेल्ने खेलाडीहरुलाई कुमुदिनी होम्सबाट खेलाएको उनले आरोप लगाए । खै उनीहरुलाई संघले हेरेको ? नाम किटान गर्दै खत्रिले भने सुमन घिमिरे, आश्विनी थापामगर, रमेश सुवेदी र पवन कहाँका खेलाडी हुन् ? उनको प्रश्न थियो । सेलेक्टरहरुले खेल नहेरि कोठामै बसेर खेलाडी छान्ने संस्कारको विकास हुँदै गरेको पनि उनले बताए ।
करण केसीलाई आफूहरुले बाग्लुङ्गबाट खोजेर ल्याएको उदाहरण प्रस्तुत गर्दै उनले भने–हामीले खेलाडी खोज्छौं तर त्यसको जस संघले लिन्छ । संघको सुस्तताकै कारण यहाँ १० वर्षदेखि क्लव पनि बढ्न नसकेको र खेलाडी उत्पादन पनि हुन नसकेको खत्रिले आरोप लगाए । अहिलेसम्म पनि किन पाँच क्लव हुन सकेनन्, अनि विद्यालयस्तरीय प्रतियोगितामा चार विद्यालयमात्रै किन ? संघ सक्रिय भएको भए यस्तो हुने थियो हालत ? खत्रिले प्रश्न गरे । सोमबारदेखि पोखरामा शुरु हुन लागेको जिल्लास्तरीय प्रतियोगितामा पनि आफूले नखेल्ने खत्रिले बताए ।

Post a Comment

 
Top