0
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजनामा शुक्रबारदेखि पोखरामा दोस्रो बृहत शैक्षिक मेला शुरु भएको छ । नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल र उनकी धर्मपत्नी मधु भट्टराईले संयुक्त रुपमा मेलाको उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै महानायक राजेश हमालले युवापुस्ताको लागि शिक्षा निकै महत्वपूर्ण भएको बताए ।
उनले दक्षता अभिवृद्धिका लागि युवापुस्ताको रोजाई विदेश अध्ययन रहेको उल्लेख गर्दै राम्रोसंग बुझेर मात्रै वैदेशिक रोजाईमा जानुपर्ने सुझाव दिए । वैदेशिक अध्ययन पश्चात आफू दक्ष भैसकेपछि नेपालकै लागि त्यसलाई उपयोग गर्नुपर्नेमा उनले जोड दिए । विश्व ग्लोबल भिलेजको रुपमा परिणत भैसकेको अहिलेको अवस्थामा विद्यार्थीको कन्फ्यूजन हटाउनका लागि पनि यस्ता खाले मेलाले सघाउ पु¥याएको उनले बताए ।
नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष राजेन्द्र बरालले नेपाललाई शैक्षिक पर्यटनको हब बनाउने लक्ष्यसहित ईक्यान लागिपरेको जानकारी दिए । उपयुक्त वातावरण तयार पारेर नेपालको विद्यार्थीलाई विदेश अध्ययन गर्न पठाउने नभई विदेशी विद्यार्थीलाई नेपाल पढ्न आउने वातावरण मिलाउन आफू र आफ्नो संस्थाले लबिङ गरिरहेको उनले बताए । उनले पोखरालाई पर्यटन र शैक्षिक हबको रुपमा विकसित गर्नसके निकै ठूलो सम्भावना रहेको बताए ।
ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरु वैदेशिक अध्ययनमा आकर्षित भएको बताए । उनले विद्यार्थीहरुलाई उचित परामर्श आवश्यक रहेको ठहर गर्दै शैक्षिक मेलाको आयोजना गरेको प्रस्ट पारे । मेलाका संयोजक तथा ईक्यान कास्कीका उपाध्यक्ष डिबि गुरुङले विद्यार्थी र अभिभावकहरुले पनि मेला प्रति निकै चासो देखाएको बताए ।
दोस्रो वृहत शैक्षिक मेला कात्तिक ३० गतेसम्म चल्नेछ । मेलामा परामर्श लिनका लागि निःशुल्क ईन्ट्रिको व्यवस्था गरिएको छ । मेला स्थलमा ५६ वटा स्टल र ६ वटा पेभिलियनबाट शैक्षिक परामर्शदाताहरुले विद्यार्थीहरुलाई परामर्श दिने व्यवस्था गरिएको आयोजकले बताएका छन् । मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको समेत सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । दोस्रो बृहत शैक्षिक मेलालाई विग एफएमले प्रस्तुत गरेको हो । मेलाको टाईटल स्पोन्सरको रुपमा ट्रिनीटी एजुकेशन फाउन्डेशन, सबटाईटल स्पोन्सरको रुपमा किङ्ग्स ईन्स्टिच्यूट रहेका छन् । मेलाको मेन स्पोन्सरको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट प्रालि रहेको छ भने सपोर्टेड बाई टाईटलमा बिकन प्रिमियर ईन्टरनेशनल एजुकेशन प्रालि रहेको छ । मेलाको प्रायोजकहरुमा एक्सेल पोखरा एजुकेशन कन्सल्टेन्सी, डेल्टा एडुकेयर नेपाल प्रालि, मिराकल ईन्स्टिच्युट प्रालि, साकुरा जापनिज ल्याङग्व्वेज ईन्स्टिच्युट, एजुकेशनल स्टडी लिंक प्रालि, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी, पोखरा थर्ड आई रिसर्च सेन्टर, अर्बिट ईन्टरनेशनल एजुकेशन, एजुकेशन पार्क र एक्सेस एजुकेशन नेटवर्क रहेका छन् । तीन दिने मेलाको व्यवस्थापनको जिम्मा वान अप कम्यूनिकेशन प्रालिले लिएको छ ।

Post a Comment

 
Top