0
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री चन्द्र बहादुर गुरुङले संविधान सभाबाट संविधान निर्माण नहुनेमा दिन प्रतिदिन शंका उत्पन्न हुन थालेपछि राप्रपा नेपालले देशब्यापी रुपमा दवाव अभियान सञ्चालनको तयारी भइरहेको बताएका छन् ।
राप्रपा नेपालको पश्चिमाञ्चल स्तरिय प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै महामन्त्री गुरुङले देशका सम्पूर्ण क्षेत्रहरुमा रहेका कार्यकर्तालाई पुस महिना देखि सुरु हुने आन्दोलनमा सहभागी हुनका लागि पूर्व तयारी स्वरुप आफुहरुले प्रत्येक विकास क्षेत्रहरुमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरेको र त्यसै अनुरुप पोखरामा पनि पश्चिमाञ्चल क्षेत्रमा रहेका जिल्ला अध्यक्षहरु बीच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताएका छन् । अहिलेको संविधान सभाबाट कुनैपनि हालतमा संविधान नबन्ने उनको भनाई छ । अघिल्लो संविधान सभा जस्तै यसपटक पनि संविधान नबन्ने पक्का भइसकेकाले आफूहरु दवाव दिनका लागी पूर्व तयारी गरिरहेको उनले बताए । ४ वर्ष सम्म कुनै काम हुन नसकेको संविधान सभाले यो पटक कार्यदिशा अनुरुप काम शुरु गर्न नसकेकाले कुनैपनि हालतमा माघ ८ भित्र संविधान जारी हुन नसक्ने उनको भनाई छ । राप्रपा नेपालका केन्द्रिय उपाध्यक्ष धवल शम्शेर राणाले राप्रपा प्रशिक्षण कार्यक्रममा वोल्दै नेपाल सदनमा सहभागी रहीरहदा पनि पार्टीले राखेको अडानमा दलहरुले बेवास्था गर्ने कामहरु भइरहेकाले पनि नया बन्ने संविधानमा आफुहरुको एजेण्डालाई समाबेस नहुने र संविधान निर्माणमा पनि सहमती हुन नसक्ने बताए । आफुहरुले राजा सहितको प्रजातन्त्रलाई आत्मसाथ गरेको भएतापनि राजनैतिक दलहरुले त्यसप्रति पूर्वाग्राही ढंगले सोच्नु नजायज रहेको उनको भनाइ छ । राप्रपा नेपालले पुस महिनादेखि सशक्त आन्दोलनको तयारी गर्नका लागि मुलुकभरका क्षेत्रिय तथा जिल्ला अध्यक्षहरु बीच प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भइरहको र त्यसै अनुरुप पोखरामा पनि तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तीन दिन सम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाबाट राप्रपा नेपालको भावी कार्यदिशा, उपाध्यक्ष धवलशमशेर राणाबाट संगठन सुदृढिकरण सम्बन्धि कार्ययोजना, केन्द्रिय सदस्य गिता भक्त जोशीबाट नेतृत्व बिकास र प्रशिक्षण सामाग्री तथा प्रशिक्षण कार्यक्रम निर्माण बिधि, केन्द्रिय सदस्य डाक्टर विष्णु भण्डारीबाट सनातन हिन्दुराष्ट्रनै किन र पार्टीको संरचना सम्बन्धी जानकारी, प्रशिक्षक शालिकराम कालाथोकी बाट स्थानीय समितिहरु एवं पदाधिकारीहरुको भूमिका एवं जिम्मेवारी र पार्टीको केन्द्र तथा स्थानीय संगठन वीचको अन्तर सम्बन्ध वारेमा प्रशिक्षण दिएका थिए ।

Post a Comment

 
Top