0
भद्रकाली ट्याक्सी इकाई समितिको आयोजना तथा ट्याक्सी व्यवसाय समिति पोखराको प्रायोजनमा पोखरामा शनिबारदेखि अन्तर ट्याक्सी इकाईस्तरीय दोस्रो सेभेन–ए–साइड फुटबल प्रतियोगिता शुरु भएको छ । पोखरा–१३ संगमटोल स्थित माछापोखरी खेल मैदानमा शुरु भएको प्रतियोगितामा १४ वटा ट्याक्सी इकाई समितिले सहभागिता जनाउने छन् । प्रतियोगिता मङ्गलबारसम्म चल्ने छ । प्रतियोगितामा विजेता समूहलाई नगद ५६ हजार छ सय ६६ शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेतालाई ३४ हजार चार सय ४४ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यसैगरी, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, बेष्ट स्ट्राइकर र अनुसाशित समुहलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
ट्याक्सी चालकवीच आत्मीयता, सद्भाव एवं खेलकुदको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो । शनिवार आयोजित एक कार्यक्रमबीच सुपरस्टार राजेश हमालले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले ट्याक्सी चालकहरुले समाजमा रचनात्मक काम गरेकोभन्दै प्रशंसा गरे । उनले हरेक वर्ग र क्षेत्र स्वार्थभन्दा माथि उठेर समुदायका लागि केहि गर्नुपर्नेमा जोड दिए । सुपरस्टार हमालले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाएकोमा खुशी समेत व्यक्त गरे ।  ट्याक्सी व्यवसाय समिति पोखराका महासचिव पूर्णबहादुर गुरुङले चालकहरु अनुशाशित बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अखिल नेपाल यातायात मजदुर सङ्गठनका केन्द्रीय उपाध्यक्ष रुद्र खत्री र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कास्कीका अध्यक्ष विष्णु खत्रीले पनि बोलेका थिए । त्यसअवसरमा प्रतियोगितालाई सहयोग गरेकोभन्दै पोखरा–१३ बाँझापाटन निवासी समाजसेवी गोपाल÷भिमकला गुरुङ र सङ्गम युवा क्लवलाई सम्मान गरिएको थियो । साथै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ट्याक्सी इकाई समितिले सुपरस्टार राजेश हमाललाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । भद्रकाली ट्याक्सी इकाई समितिका अध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक गोपाल त्रिपाठीले स्वागत र सचिव पुर्णबहादुर जि.सिले कार्यक्रम संचालन गरेका थिए । पहिलो दिनको खेलबाट रामबजार ट्याक्सी इकाई समिति र हस्पिटलचोक ट्याक्सी इकाई समिति प्रिवाक्टरमा प्रवेश गरेका छन् । नयाँबजार ट्याक्सी इकाई समितिलाई एकका विरुद्व तीन गोलगर्दै रामबजार इकाई र आयोजक भद्रकाली ट्याक्सी इकाई समिति वीलाई शून्यका विरुद्व तीन गोल गर्दै हस्पिटल इकाई अघिल्लो चरणमा प्रवेश गरेको हो ।

Post a Comment

 
Top