0
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणले नेपाली जनमानसमा मोदीप्रति अपार श्रद्धा पैदा गराएको छ । मोदीले नेपाली जनताको भावनालाई अत्यन्त सफलतासाथ आफ्नो पक्षमा पार्न सकेको पाइयो । नेपालको हितमा भारतले के गर्न सक्छ भन्ने कुरा नेपालीपक्षबाट प्रस्तावका रूपमा आउनु प¥यो भनेर मोदीले स्पष्ट शब्दमा बोलेका छन् ।
नेपालीहरू भारतबाट ठगिएका छौं भन्ने गुनासो गर्ने सबैलाई भारतसमक्ष नेपालका कुरा राख्न मोदीले बाटो खोलिदिएका छन् । नेपालको हितमा कुरा गर्दा भारतको विरोध भएको ठान्ने हीनभावनालाई मोदीले शिक्षा दिएका छन् । नेपालका राजनीतिक दलका नेताहरूले नेपालको हितमा लेख्ने र बोल्नेहरूलाई मण्डले राष्ट्रवादी र अति राष्ट्रवादी भनेर उडाउने गर्दथे । मोदीले सर्वप्रथम नेपालको हितमा सोच्न सन्देश दिएर देशभक्त नेपाली जनताको भावनालाई निकै माथि उठाइदिएका छन् ।
नेपाल र भारतको सम्बन्ध हिमालय पहाड र गंंगानदीभन्दा पुरानो रहेको सन्दर्भबाट नेपालको गुणगान गाउन सुरु गरेका भारतीय प्रधानमन्त्रीले नेपाललाई बुद्ध र सीताको जन्मथलोका रूपमा चित्रण गर्दै छिमेकी देश भारतबाट पर्यटकहरूको ओइरो लगाउन नेपालले पहल गर्नुपर्नेमा जोड दिए । नेपालसँग रहेको जलसम्पदाको उपयोग गरेर नेपाललाई आर्थिक रूपले समृद्ध बनाउन सकिनेमा जोड दिंदै भारतीय प्रधानमन्त्री मोदीले नेपालको जल सम्पदाबाट पानीको सदुपयोग गर्न बिजुली उत्पादन गर्न नेपालले ढिला गर्न नहुनेतर्पm सुझाव राख्दै मोदीले भारत नेपालबाट पानी खरिद गर्न चाहन्छ भनेर आफ्नो बचनबद्धता देखाएका छन् । महाकाली सन्धिमा भारतले ९० प्रतिशत पानी सित्तैमा पाउने प्रावधान राखेर त्यसैलाई रातारात संसदबाट पारित गराइएको थियो । नेपाली जनताले सडकबाट व्यापक खबरदारी गर्दागर्दै पनि नेपाली कांग्रेस र नेकपा (एमाले)ले यो सन्धिबाट नेपाललाई वार्षिक रूपमा १ खर्ब २० अर्ब रुपियाँ फाइदा हुन्छ भनेर मूर्खतापूर्ण तर्क गरे । भारतका प्रधानमन्त्रीले सित्तैमा पानी नलिने भनेर सार्वजनिक रूपमा उद्घोष गरिसकेपछि अब नेपाली जनतालाई ठूलो राहत मिलेको छ । महाकाली सन्धिमा नेपालपक्षले उपयोग गर्न पाउने पानीको मूल्य बिजुलीमा रूपान्तरण गरेर नयाँ समझदारी बनाउन नेपालले पहल गर्नुपर्र्ने भएको छ । मोदीले नेपालका नेताहरूलाई देशको हितमा सोच्न सुझाव दिएपछि अब भारत रिसाउला कि भनेर आफ्ना कुरा राख्नै नसक्ने अवस्थाबाट माथि उठ्न नेपालका नेताहरूलाई मार्ग प्रशस्त भएको छ ।
महाकाली सन्धिमा भएका त्रुटि सच्याउन मात्र हैन गण्डकी र कोशीमा पनि नेपाल ठगिएको कुरा भारतलाई बुझाउन जरुरी छ । त्यसैगरी कर्णालीमा हुन गइरहेको नेपालविरुद्धको चलखेलप्रति चनाखो बनेर त्यसलाई नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेतर्पm नेपालका राजनीतिक दलका नेताहरूले अध्ययन गर्नु जरुरी छ । अपर कर्णालीमा गर्न तयारी भएको पीडिएबाट नेपाललाई नोक्सान भइरहेको कुरा स्वयम् भारतका प्रधानमन्त्रीले महसुस गरेरै त्यसलाई तत्कालका लागि रोकिएको छ । माथिल्लो कर्णाली परियोजनाको माथि र तल समेत सम्पूर्ण कर्णाली नदीमै भारतको एकाधिकार कायम हुने गरी सम्झौता गर्न तयार भएका नेपालका नेताहरूलाई मोदीले देशको हितमा सोच्न सुझाव दिंदै नेता बन्न सक्नुप¥यो भनेर पनि गम्भीरतापूर्ण सन्देश दिएका छन् । नेपालको हितमा कुनै कुरा राख्न नसक्ने अनि नेता बन्न चाहने नेपालका राजनीतिक दलका नेताहरूलाई दलीय स्वार्थभन्दा माथि उठेर देशको हितमा राष्ट्रिय नीति बनाउन पनि मोदीले सुझाव दिएका छन् । मोदीले नेपालको हितका निम्ति आपूm सहयोग गर्न तत्पर रहेको बाचा गरेर गएका छन् । नेपालपक्षले नेपालको हितमा भारतलाई उपयोग गर्न सक्ने अवसर प्राप्त भएको छ । यो अवसरलाई गुमाउनु हुँदैन ।
साभार ः जनधारणा राधा बुढाथोकी मगर

Post a Comment

 
Top