0
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य वद्री पाण्डेले ट्रेड युनियनको क्षेत्रमा दुई किसिमका अतिवादी दृष्टिकोण हावी भइरहेको बताउँदै सन्तुलित ढङ्गबाट ट्रेड युनियन आन्दोलनलाई अघि बढाउनुपर्ने खाँचो औंल्याएका छन् । नेपाल शिक्षक संघ कास्कीले नेपाल निजामती कर्मचारी युनियनको छैटौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गर्न पोखरामा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले भने–‘अहिले एकथरिले ट्रेड युनियन चाहिंदैन भन्ने र अर्कोथरिले ट्रेड युनियनलाई उपयोग गर्दै आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोज्ने दुईथरि सोच अगाडि आएको छ । यी दुवै दृष्टिकोण विपरित सन्तुलित ढङ्गले ट्रेड युनियन आन्दोलनलाई अघि बढाउनुपर्ने आवश्यकता छ ।’ कांग्रेसका युवा नेता पाण्डेले आफूहरुले उठाएका कतिपय विषय कांग्रेसको केन्द्रीय समिति र संसदीय समितिमा सुनुवाइ नहुँदा निकै चिन्ता लाग्ने गरेको बताए । तर निजामती एवं श्रमिकहरुको क्षेत्रमा ऐन ल्याउने र कार्यान्वन तहमा पु¥याउने काम अन्य पार्टीभन्दा नेपाली कांग्रेसले नै गरेको उनको भनाइ थियो । उनले नेपाल ट्रेड युनियन कांग्रेसले निजमती कर्मचारी युनियनलाई आवद्धता दिनु नपर्ने कुनै कारण नभएको भन्दै शुभेच्छुक संस्थाहरुको सम्बन्ध र सहकार्यलाई सुदृढ पार्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल निजामती कर्मचारी युनियनका राष्ट्रिय अध्यक्ष सुवोधकुमार देवकोटाले पार्टीको मुख नताकि विधि र प्रक्रियामा अघि बढ्न सकेमात्र शुभेच्छुक संस्थाहरुको अस्तित्व कायम रहने भन्दै २०६४ र २०६७ मा पार्टी हस्तक्षेपका बाबजुद लोकतान्त्रिक तवरले युनियनको महाधिवेशन गरिएको स्पष्ट पारे । २१औं शताव्दिमा ट्रेड युनियन संगठनहरु मार्फत एकीकृत दवावको आवश्यकता पर्ने बताउँदै उनले ट्रेड युनियन कांग्रेसले कर्मचारी युनियनलाई बाहिर राख्दा ट्रेड युनियन आन्दोलन नै कमजोर हुने बताए । नेपाल शिक्षक स.घका केन्द्रीय अध्यक्ष केशव निरौलाले निजामती सेवा नियमावलीमा व्यवस्था भएका संरचनालाई कार्यान्वयन गर्न र आम पेशाकर्मीको हितका लागि एकीकृत पेशागत आन्दोलन जरुरी रहेको स्पष्ट पारे । उनले कम्युनिष्टहरुलाई बुलेटबाट व्यालेट सम्म ल्याउन सक्ने कांग्रेसले पछिल्लो समयमा समाजवादी कार्यक्रमलाई पछि पार्दै पुँजीवादी कार्यक्रमलाई महत्व दिएको भन्दै चिन्ता व्यक्त गरे । यसै सन्दर्भमा उनले लोकतन्त्र र प्रजातन्त्रको संरक्षण र संवद्र्धनका लागिमात्र पेशाकर्मीहरुले कांग्रेसलाई समर्थन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले कर्मचारी तन्त्र मुलुकको स्थायी सरकारको रुपमा रहेकाले आम सेवाग्राहीलाई राम्रो सेवा प्रवाह गर्नेमात्र नभई तलदेखि माथिसम्मका जनप्रतिनिधिहरुलाई सहि विचार र सुझाव दिन सक्नुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियनको आठौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको जानकारी गराउँदै उनले विभिन्न लोकतन्त्रवादी तथा प्रजातन्त्रवादी संघसंस्थाबाट सहयोगको अपेक्षा गरे । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका पराजुलीले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न र पार्टीका अनावश्यक हस्तक्षेप रोक्न समेत शुभेच्छुक संस्थाबाट सहयोगको आशा व्यक्त गरे । कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद चपागाईं, नेपाल ट्रेड युनियन कांग्रेसका पश्चिमाञ्चल अध्यक्ष मुरारी शर्मा, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछाने र उपाध्यक्ष रमेश भट्टराई लगायतले आ–आफ्नो भनाइ राखेका थिए । त्यस अवसरमा कर्मचारी युनियनका अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी र सदस्यलाई संघका अध्यक्ष लामिछाने सहितको टोलीले खादा र टीका लगाएर सम्मान गरेको थियो ।

Post a Comment

 
Top