
राजा मल्लले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भन्ने आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ । यो चलन चलाउँदा पनि रानी पूर्णरुपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने विश्वास छ ।
पोखरामा पनि नेवार समुदायले गाइजात्रा पर्वलाई उल्लासमय रुपमा मनाउँदै आएका छन् । पोखरामा करिब तीनदशकदेखि यो पर्व महत्वका साथ मनाउन थालिएको हो । पहिले पोखराको कुनै एक ठाउँमामात्र गाइजात्रा पदर्शन हुने गरेकोमा केही वर्ष यता यसलाई टोल–टोलमा समेत प्रदर्शन गर्न थालेपछि यसको महत्व बढेर गएको छ । विगतका दिनमा पोखरामा गाइजात्रा हेर्न छिमेकी जिल्लाबाट समेत ठूलो संख्यामा मानिसहरु आउने गरेकोमा पछिल्लो समयमा भने गाइजात्रा नाचलाई विभिन्न मेला र महोत्सवमा प्रदर्शन गर्ने भनेर यसलाई प्रतियोगिताको रुप दिन थालिएपछि आम सर्वसाधारणले सहज ढङ्गबाट गाइजात्रा हेर्ने अवसर पाएका छन् ।
काठमाडौं बाहिर पनि बिदाको माग
पोखरामा क्रियाशील नेवार समुदायसंग सम्बन्धित संघसंस्था र संस्कृतिकर्मीहरुले गाइजात्रा पर्वको अवसरमा सरकारले देशभरमा सार्वजनिक विदा दिनुपर्ने माग गरेका छन् । सरकारले काठमाडौमा मात्र सार्वजनिक विदा दिने गरेकोमा यस्तो विदा देशभर दिनुपर्ने उनीहरुको भनाइ छ । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले सरकार हरेक कुरामा राजधानी केन्द्रित भएको भन्दै गाइजात्रा पर्वमा राजधानीबाहिर पनि बिदा दिनुपर्ने बताउँछन् । गाईजात्रा पर्व काठमाडौँ वरपरमात्र नभएर देशको धेरै ठाउँमा मनाइने भएकाले पनि यो पर्वको महत्व बढ्दै गएकोले देशभर सार्वजनिक बिदा दिनु जरुरी भएको पालिखेले बताए । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै पालिखेले समय अनुसार संस्कृति परिवर्तन हुनु जरुरी रहेपनि परिवर्तनको नाउँमा संस्कृतिलाई कहिल्यैे भूल्न नहुने जोड दिए । गाइजात्रा लगायत नेवारी संस्कृतिमा चासो राख्ने अष्टमान प्रधानाङ्ग युवाहरुले समेत गाइजात्रा पर्वलाई अंगाल्न थालेको र अधिकांश नाच समूहमा युवाहरुको सहभागिता बढ्दै गएको बताए । कतिपय युवाले भने संस्कृति जोगाउने चाहाना हुँदाहुँदै पनि समय अभावले त्यो पुरा हुन नसकेको महसुस भएको उनले बताए । अहिले गाईजात्रा मनाउँदा केही समय निकालेर भएपनि यसको महत्व बुझाउनका लागि आफूहरुले बालबलिकालाई पनि लिएर हिंड्ने गरेको उनले बताए । त्यस्तै संस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठ पनि युवाहरुले गाइजात्रालाई जोगाउन लागि परेको बताउँछन् । उनका अनुसार पोखरामा गाइजात्रा पर्वका अवसरमा नाच निकाल्ने समूहको संख्या बढ्दै गएको छ । श्रेष्ठले पनि यो पर्वका अवसरमा सार्वजनिक बिदा दिन सरकारसंग डेढ दशकदेखि माग गरिरहेको तर सरकारले बिदा नदिएको गुनासो गरे ।
Post a Comment