0
हरि पन्त÷गोल्डेन न्यूज
पोखरा १७ साउन ।
साझा लक्ष्य र हितका लागि सामूहिक रुपमा मिलेर काम गर्ने संस्था सहकारी हो । साथै सामूहिकता साझेदारीकरणको सभ्य नीति पनि हो सहकारी । गरिवी निवारणमा महत्वपूर्ण भूमिका खेल्दै उद्योग व्यवसायको विकास एवं विस्तार गर्दै मुलुकको दिगो र समतामूलक आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सहकारी संस्था स्थापना गरिएको हुन्छ । तर पछिलो क्रममा सहकारीका समस्या दिनप्रतिदिन बढ्दो छ भने नियामक निकायहरु मौन र बेखबर छन् । आवश्यकता भन्दा बढी सहकारी संचालन हुनु, सहकारीले नियम र क्षेत्राधिकार भन्दा बाहिर गएर क्षमताभन्दा बढी लगानी गर्नु, सहकारी मन्त्रालय–सहकारी डिभिजन, आन्तरिक राजस्व कार्यालय–नेपाल राष्ट्रबैंक बीच समन्वय हुन नसक्नु, वैकिङ्ग मापदण्ड विपरित सदस्यहरु बनाउनु र जथाभावीरुपमा चेक वितरण गर्दा सहकारीमा समस्या नै समस्या रहेको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सहकारीले नियम विपरित काम गर्दा धेरै व्यक्तिले दुःख पाएको र ठगिनुपरेको भन्दै उनीहरुले सहकारीप्रति आक्रोश पोखेका थिए । यसका साथै सहकारीमा खातावालाको रकम हुने तर सहकारीसंग पैसा नुहँुदा चेक लिएर जाँने सेवाग्राहीलाई खातामा पैसा छैन भन्दै फकाइएएको समेत उनीहरुले गुनासो थिए । कार्यक्रममा सहभागीहरुले सहकारीले चेक दिंदा खातावालाको पूर्ण विवरण नराखेको र नियम विपरित चेक वितरण गरेको, कर्मचारीलाई दवाव दिएर सर्वसाधारणलाई जवर्जस्ती सदस्य बनाएको, साना व्यवसायी तथा सर्वसाधारणलाई ऋण दिएर चर्को व्याज अशुली गर्ने तर लुकाइ छिपाई गरी राज्यलाई कर कम तिर्ने गरेको समेत आरोप लगाएका थिए ।
अधिकृत विक्रेता संघ कास्कीले पोखराका व्यवसायिक संघसंस्थाका प्रतिनिधिबीच गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले सहकारीबाट रकम भुक्तानीका लागि दिइएको भुक्तानी पूर्जा (चेक) लाई पर्चाको संज्ञा दिए । उनीहरुले भने–‘सहकारीको चेक निकै विकृति भएको छ । सहकारीले चेक दिंदा खातावालाको नागरिकताको प्रतिलिपिसम्म राखेका छैनन् । सहकारीले जथाभावी बाँडेका भुक्तानी पूर्जा (चेक) होइनन् प्रचार–प्रसारका लागि वितरण गरिएको पर्चा हुन् ।’ कार्यक्रममा सहभागी कतिपयले सहकारीमा धेरै समस्या र असुविधा छ र सहकारीहरु दिन गनेर हिंड्ने र भाग्नेक्रममा रहेको समेत आरोप लगाए ।
कार्यक्रममा संघका सल्लाहकार डा.वेधनीधि शर्माले गरिवी न्युनिकरण र व्यापार व्यवसाय संचालन का लागि सहकारी अति आवश्यक भएपनि पछिल्लो क्रममा सहकारीले निकै समस्या पारेको गुनासो गरे । उनले भने–‘नेपालमा सहकारीको विकास अन्य मुलुकमा भन्दा ढिलो भयो र विकृति छिट्टो भयो । यस समस्याको समाधानका लागि समयमै ध्यान नदिने हो भने विकराल रुप धारण गर्न सक्छ र लाखौं जनता घरवार विहीन बन्न सक्छन् ।’ विद्यमान सहकारी ऐन नियमको पलना, अभ्यास, कार्यान्वयन र अनुगमन पक्ष फितलो हुँदा समस्या विकराल बन्दै गइरहेको भन्दा उनले  सहकारीलाई नियम भन्दा बहिर गएर संचालन गर्न दिन नुहने बताए । नीति र नियमहरु पुराना छन्, संशोधन नभएको धेरै समय भैसकेका छन् । नियम संशोधन गरेर भएपनि सहकारीका समस्या बेलैमा समाधान गर्नुपर्छ शर्माले भने । संघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्यले सहकारीको व्यवहारिकता र व्यवसायिकतामा निकै समस्या रहेकाले यस्ता समस्याको तत्काल समाधान गर्न माग गरे । सहकारीका चेकले निकै सास्ती दिएको र समस्यामा पारेको भन्दै उनले सहकारी संस्थाहरु यस विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए । संघका वरिष्ठ सल्लाहकार मञ्जुलमान श्रेष्ठले सहकारी संचालनको उद्देश्य पवित्र भएपनि निकै समस्या आएको छ । यस विषयलाई विभिन्न तह र तप्कामा छलफल गरि समस्या समाधान गर्नुपर्नेमा जोड दिए । संघका उपाध्यक्ष हरिराज पन्तले सर्वसाधराणले सहकारीमा गरेका लगानी नै जोखिममा रहेको भन्दै यस बारेमा जिम्मेवार निकाय गम्भीर हुनुपर्नेमा जोड दिए । संघका कानूनी सल्लाहकार अधिवक्ता जगन्नाथ ढकालले सहकारीले दुःख दिए सहकारी ऐन २०५४ र विनिमय अधिकार ऐन २०३४ अनुसार सम्बिन्धत निकायमा लिखित उजुरी गरे त्यस्ता सहकारी कार्वाहीमा पर्ने जानकारी दिए ।
कार्यक्रममा उठेका प्रश्नको जवाव दिंदै कास्की बचत तथा सहकारी संघका अध्यक्ष भीम गुरुङले चेकलाई पर्चा भनिएकोमा आपत्ति प्रकट गर्दै चेकलाई चेक नै भन्न र पर्चा भनेर तर्साउने काम नगर्न आग्रह गरे । उनले भने–‘चेकमार्फत रकम नपाएको कहिं कतै छैन । यदि त्यस्तो छ भने सम्बन्धित निकायमा लिखित उजुरी दिनुस् तर चेकलाई पर्चा भनेर तर्साउने काम नगर्नुस् ।’ चेकको समस्या सहकारकिोमात्र नभएको भन्दै उनले चेकको समस्या बैंक तथा चेक काट्ने व्यक्ति पनि उत्तिकै जिम्मेवार हुने स्पष्ट पारे । सहकारीको चेक वाउन्स भए सहकारी संघ, डिभिजन कार्यालय र जिल्ला प्हरी काार्यलयमा लिखित उजुरी दिन उनले आग्रह गरे ।
केही सहकारीको वदनियतपूर्ण कार्यले सबै सहकारी बद्नाम हुने अवस्था आएको भन्दै उनले त्यस्ता सहकारीलाई कार्वाहीका लागि आफ्नो संघले पहल गर्ने बताए । कार्यक्रममा सहकारीले सीमित क्षेत्रमा बसेर काम गर्नुपर्छ, सानो गाउँ र सानो क्षेत्रमा लगानी गर्नुपर्छ, क्षेत्राधिकार नाघेर काम गर्न पाइँदैन भनेर सहभागीले उठाएका प्रश्नप्रति गुरुङले सहकारीको क्षेत्र पराकिलो भैसकेको र नियमभित्र रहेर काम गर्न कसैले अवरोध गर्न नहुने भन्दै आक्रोश पोखे ।
सहकारीको कायैक्षत्र ताकिंदा अरवौं लगानी जोखिममा रहेको भन्दै उनले सहकारीलाई सीमित क्षेत्रमा राख्न नहुने बताए । आवश्यकता भन्दा बढी सहकारी खुलेको सहकारी दर्ता बन्द हुँदा समेत कृषि सहकारीको नाउँमा सहकारी खुलेको भन्दै अध्यक्ष गुरुङले सहकारीमा लगानी गर्दा संचालकहरुलाई राम्रो संग बुझेरमात्र गर्न आग्रह गरे । सहकारकिा समस्या राष्ट्रिय समस्या हुन् । राष्ट्रिय स्तरमै छलफल र बहस चलाएर व्यवस्थित बनाउनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सहकारी डिभिजन कार्यालय कास्कीका निरीक्षक भूपिन्द्र विनायक थापाले चेक बाहेक कास्कीका सहकारीमा कुनै समस्या नभएको भन्दै यसबाट डराउन नपर्ने स्पष्ट पारे । सहकारीका दुईवटा खाता संचालन हुन्छन् भन्ने उजुरी समेत परेपनि अनुगमन गर्दा त्यस्तो नपाईको बताए । उनले सहकारी नियमावली २०५४  संशोधनको तैयारी भैरहेको जानकारी दिंदै नियमावली संशोधन भएपछि कुनै समस्या नआउने दावी गरे । संघका अध्यक्ष सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा पोखरा उद्योग वाणिज्य संघमा आवद्ध ६४ वस्तुगत संघका प्रतिनिधि सहभागी थिए ।

Post a Comment

 
Top