0
एकीकृत ने.क.पा. (माओवादी) का पोलिट्व्यूरो सदस्य तथा तमुवान राज्य समितिका इन्चार्ज हरिराज अधिकारी ‘कुमार’ ले सहिदहरुको बलिदान प्रति गर्व र विश्वास गर्न सक्नुपर्ने बताएका छन् । पोखरामा सोमबार भएको तत्कालीन एकता केन्द्रका केन्द्रीय सदस्य सहिद रामवृक्ष यादवको एक्काइसौं स्मृतिसभामा उनले यस्तो बताएका हुन् । रामवृक्ष यादव र उहा“जस्तै हजारौंको बलिदानीले नै गणतन्त्र, संविधानसभा, समावेशिता जस्ता उपलब्धि हासिल भएका हुन् ।’वर्तमानमा माओवादी आन्दोलन चूनौतिपूर्ण मोडमा उभिएकोमा नेता अधिकारीले जोड दिए । माओवादी आन्दोलन चूनौतिपूर्ण मोडमा उभिएकाले सहिदहरुको सपना पुरा नहुने हो कि कि भन्ने चिन्ता थपिएको जनाए । एकीकृत माओवादीका केन्द्रीय सल्लाहकार कोमलनाथ बरालले पार्टीभित्र गलत चिन्तन र प्रवृत्तिले टाउको उठाउन खोजेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा उनले भने, ‘पार्टीमा विवाद छ, तर यो विवादको अन्तर्यमा सही र गलत चिन्तन र विचार बीचको लडाइँ छ । क्रान्ति र आन्दोलनलाई नै अस्वीकार गर्ने गलत चिन्तन विरुद्ध मुकाबला गर्नैपर्छ ।’ कार्यक्रममा अर्का नेता केन्द्रीय परिषद् सदस्य रामराज रेग्मीले आन्दोलनमा उकाली ओराली आउने भन्दै त्यसबाट विचलन हुन नहुनेमा जोड दिए । उनले भने, ‘कम्युनिष्ट आन्दोलन एउटा प्रवाह हो, यसमा उकाली ओराली आउँछन्, डराउनु हुँदैन, सामना गर्दै अघि बढ्नुपर्छ ।’ कार्यक्रममा एकीकृत माओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले रामवृक्ष यादवको बलिदानी नै जनयुद्ध सुरु गर्नका लागि प्रेरणाको स्रोत बनेको भन्दै माओवादी आन्दोलनलाई केन्द्रित गरेर मात्र अबको लक्ष्य पुरा हुने बताए । सभामा जनयुद्धका सहिद चन्द्र खनालका छोरा तथा बेपत्ता प्रदिप खनालका भाइ सुदिप खनालले सहिदको मार्गबाट विचलन आएको बताए । कार्यक्रममा तमु राष्टिूय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष सोमति तमु, एकीकृत माओवादी कास्कीका सचिव विष्णु पौडेल, पत्रकार त्रिभूवन पौडेल लगायतका बक्ताहरुले सहिद रामवृक्ष यादव र उनको परिवार नेपालका सहिदहरु मध्ये उच्च प्रेरणाका स्रोत भएकोमा जोड दिए । तत्कालीन नेकपा (एकताकेन्द्र) का केन्द्रीय सदस्य रहेका यादवको पार्टी कामको सिलसिलामा धनुषाको बर्माजियामा २०५१ साल भदौ २ गते कांग्रेसका कार्यकर्ताहरुले समातेर हत्या गरेका थिए । यादव एक कुशल शिक्षक र मैथिली भाषाका साहित्यकार पनि थिए । सभासद् समेत रहेकी उनीकी श्रीमति रामकुमारी यादवको २०६७ साल साउन २९ गते खाने पकाउने ग्याँस बिष्फोट भई मृत्यु भएको थियो । जनयुद्धकै क्रममा यादवका भाइहरु रामसागर यादव, हरिप्रसाद यादव, छोरा शेखर यादव र ज्वाइँ डम्बर यादव सहिद भएका छन् । 

Post a Comment

 
Top