0
केही दिनदेखि लगातार परेको वर्षासंगै देशभर मानवीय एवं भौतिक क्षति भएको छ । दुई दिन अगाडि पुम्दीभम्दीस्थित शान्ति स्तुपाबाट आएको पहिरोले फेदीमा रहेको टिपिकल रेष्टुरेण्ट एण्ड लज बगाउँदा चार जना बेपत्ता भएका थिए । बेपत्तामध्य तीन जनाको शव फेला परेपनि एक जना भने अझै फेला पर्न सकेको छैन । बेपत्ता एक जनाको खोजी कार्य जारी रहेको छ । यसैक्रममा पोखरामा बुधबार पनि विभिन्न ठाँउमा जमिन भासिने र घर भत्किएका छन् । पोखराको १ मोहरीया टोलस्थित अशोकमान बृद्धाचार्यको घर भत्किएको छ । बुद्धाचार्यको घर भत्किंदा छिमेकी प्रकाशमान गुवाजुको कार र ग्यारेजमा क्षति पुगेको छ । गुवाजुको बा३च ८८५७ नम्बरको कारमा क्षति पुगेको हो । पुरानो इँटाले बनेको घर पानीका कारण इटा पग्लिए पछि भत्केको हुन सक्ने स्थानीयले बताएका छन् । इँटा र माटोले बनेको घर भत्किने खतरा देखेपछि घर धनी बुद्धाचार्यको परिवार करिब एक हप्ता पहिले घर छाडेका थिए ।
यसैगरी लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोले घर पुरिदा बेपत्ता भएका पर्वतको पकुवाका तीन जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–१८ पकुवाका हरिलाल चापागाईंको घर पहिरोले पुर्दा बेपत्ता भएकी उनकी छोरी २८ वर्षीया जमुना पौडेल र जमुनाकी सात वर्षीया छोरी जेनिका र चार वर्षीया छोरी जस्मिनको शव फेला परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । पहिरो हटाएर उनीहरूको शव निकालिएको थियो ।
सोही पहिरोमा पुरिएकी  हरिलालकी ५८ वर्षीया श्रीमती पुतली चापागाईंको भने जीवितै उद्धार भएको छ । उनको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पहिरो गएको स्थलमा प्रजिअ ज्ञवालीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी राहत तथा उद्धारमा सक्रिय छ । अहिले उद्धारको काम भइरहेको र रेडक्रसमार्फत केही राहत सामग्री पुगेको प्रजिअ ज्ञवालीले बताए  ।
पाँच सय मिटर माथिबाट आएको पहिरोले घर र गोठ बगाएको थियो । हरिलाल भने कुलोबाट पानी बन्द गर्न निस्केका कारण बाँच्न सफल भएका छन् । “म कुलोबाट पानी तर्काउँदै थिए, हेर्दाहेर्दै माथिबाट पहिरो आएर पहिले गोठ बगायो, एकै छिनमा घर पनि पु¥यो, आँखा अगाडि श्रीमती, छोरी र दुई नातीनीलाई पहिरोले पुरेको हेर्नुप¥यो ।’ यसैगरी पहिरोले नहर थुनिएपछि पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला–१ जलविद्युत् आयोजना को उत्पादन बन्द भएको छ ।  यस्तै पहिरोले राम्जा देउराली गाविस–७ स्थित जीवनज्योति प्राविको भवन बगाएको छ भने पर्वतको डिमुवामा पहिरो जाँदा पोखरा बागलुङ राजमार्गसमेत अवरुद्ध भएको छ ।
यसैगरी सिन्धुपाल्चोक जिल्लाको महाँकाल गाविस–६ बोल्देमा बुधबारराति गएको पहिरोले पुरिएका मानबहादुर तामाङको पनि शव प्राप्त भएको छ । योसहित मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मेलम्ची बजारबाट १३ किमिदूरीमा रहेको सो स्थानमा पहिरोमा परी नुवाकोट जिल्ला गोल्फु भञ्ज्याङ प्राविका शिक्षक दिलबहादुर तामाङसहित एकै परिवारका चार जनाको मृत्यु भएको हो । पहिरोमा परी सोही परिवारका दिलबहादुरकी श्रीमती मोती तामाङ र छोरी अञ्जली तामाङ घाइते भएका छन् । सो पहिरोले बोल्देका अन्य ५० घर पनि जोखिममा परेको स्थानीय बासिन्दा नेपाली काँग्रेसका क्षेत्रीय सचिव सञ्च तामाङले बताए । पहिरोले मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिट सुरुङ क्षेत्रलाई पनि क्षति पु¥याएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक विष्णु श्रेष्ठको टोली उद्धार कार्य तथा क्षतिको विवरण सङ्कलनमा जुटिरहेको छ । स्थानीयवासी तामाङले पहिरोबाट मेलम्ची सुरुङ क्षेत्र र बोल्दे गाउँ उच्च जोखिममा परेकाले तत्काल उद्धार र राहत कार्य प्रभावकारी हुनुपर्ने बताए । पहिरोमा परी नेपाल विद्यार्थी सङ्घको पूर्व क्षेत्रीय सचिव तथा शिक्षक दिलबहादुर तामाङ र उनको परिवारमा हुनपुगेको दुःखद् घटनाप्रति नेपाली काँग्रेसका नेता तारानाथ दाहालले दुःख प्रकट गर्दै तत्काल घाइतेहरुको उचित उपचार र पीडितहरुलाई राहत पु¥याउन सरकारको ध्यानाकर्षण गराएका छन् । दाहालले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्यबाट उत्पन्न भौगोलिक प्रभावका कारण बोल्देमा पहिरो गएको हुनसक्ने भएकाले तत्काल उच्चस्तरीय भौगोर्भिकविद्को टोली खटाउनुपर्ने माग गरे । स्मरणाीय छ, सो बोल्दे गाउँलगायत महाँकाल र इचोक गाविसका केही गाउँहरु सुरुङका कारण जोखिममा रहेको सूूचना यस अगाडिनै सार्वजनिक भइसकेका थिए । तर ती गाउँहरुलाई पुनर्वास गराउन आयोजनाले कुनै कार्यक्रम ल्याएन ।
यसैबीच बोल्दे पहिरो र रातभरिको अविरल वर्षाका कारण ग्याल्थुम खोलामा आएको बाढीले महाँकाल गाविस–१, ५ र ९ मा सयौँ रोपनी खेत कटान गरेको छ भने वडा नं १ मा चार वटा टहरा बगाएको छ । मेलम्ची खानेपानी आयोजनाको सहायक मार्गमा जाने फलामे पुल, सुरुङ निर्माणका लागि कार्यालयमा राखिएका सामानहरु पनि बगाएको छ । सोही स्थानमा थप पहिरो गएकाले भारती गाउँका १२ घर उच्च जोखिममा परेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक विष्णु श्रेष्ठले बताए ।
यसैगरी टीकापुर नगरपालिका–८ राजीपुर गाउँमा बुधबार बिहान घरमाथि रुख खस्दा दुई जनाको च्यापिएर मृत्यु भएको छ । हावाहुरीसँगै इँटाको दिवाल र टायलले छाएको घरमा रुख खस्दा २० वर्षीय कृष्ण कसरा र १२ वर्षीय सागर कसराको च्यापिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कृष्णको घटनास्थलमै र सागरको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामाघरका अन्य तीन जना घाइते भएकामा उपचारपछि उनीहरू घर फर्किएको जनाइएको छ । बुधबार बिहान करिब ४ बजेको समयमा आएको हावाहुरीसँगै घरमाथि सालको रुख खसेको थियो । यसैबीच, टीकापुर नगरपालिका–९ बलभद्र चोकमा रहेको स्थानीय व्यापारी हिरासिं धाँमीको कपडा पसलमा गएराति लागेको आगोबाट करिब रु ३२ लाख ५२ हजार बराबरको कपडा जलेर नष्ट भएको छ । पसलमा गरिएको बिजुलीको वाइरिङ जीर्ण भएकाले विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको प्रहरीले बताएको छ ।

Post a Comment

 
Top