0
पोखरा १७ साउन ।
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन नजिकिंदै गर्दा संघमा आवद्ध वस्तुगत संघहरुले अधिकारको खोजी गर्न थालेका छन् । पोउवासंघको विधान समग्र व्यवसायीको छाता संगठनको जस्तो नभई व्यक्तिगत संघ जस्तो भएको र विधानमा वस्तुगत संघलाई कुनै ठाउँ नभएको भन्दै उनीहरु अधिकारको खोजी गर्न थालेका हुन् । उनीहरुले निर्वाचनमा कसलाई कसरी जिताउने भन्नेतर्फ नलाग्ने  र वस्तुगत संघको अधिकारका लागि संघभित्रै संघर्ष गर्ने बताएका छन् । अधिकृत विक्रेता संघ कास्कीको पहलमा शनिबार पोखरामा आयोजित अन्तक्र्रिया कार्यक्रममा वस्तुगत संघका प्रतिनिधिहरुले पोउवासंघले आफूहरुको संस्थालाई वस्तुगत संघ भन्ने गरेकोमा आपत्ति समेत जनाए । वस्तुगत संघ होइन जवर्जस्ती वस्तुगत भनिएको भन्दै उनीहरुले  आफ्नो संस्थालाई व्यवसायिक संघ भन्नुपर्ने स्पष्ट पारेका थिए । अधिकृत विक्रेता संघ कास्कीका अध्यक्ष सुरेश अधिकारीले २०५१ सालदेखि पोउवासंघको विधान संशोधन हुन नसकेको, विधान संशोधन गर्ने कुरा बाहिरमात्र भएको तर नेतृत्वको इच्छाशक्ति नहुँदा पटक–पटक विधान संशोधन प्रयास असफल भएको बताए । उनले पोउवासंघमा हाल २१ सदस्यीय कार्यसमिति रहेको र त्यसको दायर बढाएर ३० पु¥याउन माग गर्दै अध्यक्षदेखि सबै पदमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । निर्वाचनबाट अध्यक्षमात्र निर्वाचित हुने र जसले अध्यक्षलाई खुशी पार्न सक्छ उनै कार्यसमिति रहने परिपाटी अन्त्य हुनुपर्ने भन्दै अध्यक्ष अधिकारीले संघको सबै शक्ति अध्यक्षमा केन्द्रिकृत गरिएकोले अब वस्तुगत संघहरु कानमा तेल हालेर नबस्ने चेतावनी दिए । पोउवासंघले वस्तुगत संग र व्यवसायिक हक हितमा कहिल्यै काम नगरेको र नेतृत्व कार्यक्रम उद्घाटन, भाषणमामात्र सीमित हुने गरेको आरोप लगाए ।
त्यस अवसरमा खुद्रा विक्रेता संघ कास्कीका अध्यक्ष धनीराम बरालले पोउवासंघको विधान संशोधन अशफल भएको हो कि असफल पारिएको हो भन्ने विषयलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै अब वस्तुगत संघहरुले विधान संशोधनको पहल गर्ने स्पष्ट पारे । पृथ्वी होटल व्यवसायी संघका अध्यक्ष रिजन शेरचनले चुनावमा भोट माग्नमात्र विधान संशोधनको कुरा गर्ने तर नेतृत्वमा पुगिसकेपछि पूरै बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । संघकी उपमहासचिव एवं कास्की हस्तकला संघकी अध्यक्ष हीरा भट्टराईले बाहिर विधान संशोधन गर्ने भनि चिप्ला कुरा गर्ने तर भित्र–भित्र ठूला होटलमा पार्टी दिएर विधान संशोधन प्रयास असफल पार्ने गरेको अरोप लगाइन ।
संघका कार्यसमिति सदस्य प्रकाशदेव पालिखेले संघको अध्यक्षमा सम्पूर्ण अधिकार केन्द्रिकृत रहेको विधान संशोधन नभइ केही गर्न नसकिने जानकारी गराउँदै विधान संशोधनमा सहयोग गर्न आग्रह गरे । अधिकृत विक्रेता संघका संस्थापक गोविन्द कर्माचार्यले पोउवासंघको कायैसमिति बैठक बस्दा कहिल्यै कोरम नपुग्दा केही नहुने, सबै निर्णय हुने तर विधान संशोधनमा भने कोरम नै पुग्नुपर्ने मान्यता अन्त्य हुनुपर्नेमा जोड दिए । यसैगरी वस्तुगत संघको तर्फबाट पोउवासंघको विधान संशोधनमा पहल गर्नका लागि एक कमिटी समेत गठन गरिएको छ । समितिको संयोजकमा सुरेश अधिकारी र सदस्यहरुमा जगदीश गोतम, माधव पराजुली, श्रीराम पराजुली र रुपनारायण भुजेल रहेका छन् । समितिलाई विभिन्न संघहरुसंग छलफल गरी ११ सदस्यीय बनाइने भएको छ । कमिटी पोउवासंघको विधान संशोधनमा सक्रिय भएर लाग्ने तर पोउवासंघको चुनावमा कसैलाई हराउन, जिताउन नलाग्ने र विधान संशोधन पश्चात समिति स्वतः विघटन हुने स्पष्ट कमिटीले स्पष्ट पारेको छ । 

Post a Comment

 
Top