0
पोखरामा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा प्रवेश गरेका छन् । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा बुधबार सम्पन्न पहिलो सेमीफाइनलमा सावित विजेता न्यू डायमण्डले नेपाल प्रहरीलाई र दोश्रो सेमिफाइनलमा एपिएफले पश्चिमाञ्चल भलिबल संघलाई समान ३–१ सेटमा पराजित गरी फाइनल यात्रा तय गरेका हुन् । न्यू डायमण्डले नेपाल प्रहरीलाई २५–१४, २५–१३, १७–२५ र २५–१३ को सेटमा पराजित गर्न सफल भएको हो भने एपीएफले पश्चिमाञ्चल लाई पराजित गर्न २१–२५, २५–१५, २५–१५ र २५–१३ को नतिजा आफ्नो पक्षमा पारेको खेल संयोजक सुशिलकुमार श्रेष्ठले बताए । फाइनल खेल बिहीबार दिउँसो साढे १ बजे हुने उनले बताए । बुधबार नै सम्पन्न खेलमा न्यू डायमण्डले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई २५–१२, २५–६ र २५–९ को सोझो सेटमा पराजित गरी सेमीफाइनल यात्रा तय गरेको थियो भने एपीएफले  मध्यपश्चिमाञ्चललाई २५–१३, २५–१० र २५–५ को सोझो सेटमा पराजित गरी अन्तिम चारमा स्थान सुरक्षित पारेको हो । तेस्रो स्थानको खेल भने बिहीबार बिहान ८ बजे हुने आयोजकले जनाएको छ । ६ टिमले भाग लिएको प्रतियोगिताका विजेतालाई ५० हजार १०१, उपविजेतालाई ३० हजार १०१, तेस्रोलाई १५ हजार तथा सान्त्वनालाई १० हजार प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट खेलाडीसहित ५ विधा सर्भर, रिसिभर, डिफेन्डर, ब्लकर र स्पाइकरलाई पनि पुरस्कृत गरिने संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले बताए । साथै, हरितालिका तीज महोत्सवको अवसर पारी आयोजित अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको फाइनलमा टप्स र नोभेल एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । विजेतालाई २५ हजार १०१, उपविजेतालाई १५ हजार १०१ तथा उत्कृष्ट खेलाडी पुरस्कारसहित विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ टिमले भाग लिएका थिए ।

Post a Comment

 
Top