0

पानी परेको समयमा ठूला–ठूला घरको छतबाट खसेको पानीका कारण सडकमा हिंड्डुल गर्न कठिनाई भोगिरहेका सडक यात्रीले अब त्यस्तो कठिनाईबाट मुक्ति पाउने भएका छन् । पोखरा नगरको मुख्य बजार क्षेत्रमा घरको छतबाट सडकतर्फ पानी खसाउन राखिएका पाइपहरु फाल्ने अभियान पोखरा उप–महानगरपालिकाले शुरु गरेपछि यात्रीले उक्त कठिनाईबाट मुक्ति पाउने भएका हुन् ।
बिहीबार अपरान्ह पृथ्वीचोक स्थित तिव्वतीय शरणार्थी क्याम्पको सटरहरु राखिएका ठाउँबाट पाइप हटाउने अभियान शुभारम्भ गरिएको थियो । सभागृहचोकबाट सृजनाचोक सम्मको सडकमा दक्षिण पट्टिका घरहरुबाट सडकमा पानी फाल्न राखिएका पाइपहरु हटाइएको पोखरा उपमहानगर पालिकाका नगर निरीक्षक वसन्त चालिसेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार बिहीबारमात्र सिर्जनाचोक–सभागृहचोक क्षेत्रमा १५ वटा घर र महेन्द्रपुल क्षेत्रमा १२ वटा घरले राखेका ७१ वटा पाइप फालिएको छ । नेपाल प्रहरीको सहयोगमा पाइप फाल्ने काम गरिएकोले कहिं कतै अवरोध सिर्जना नभएको चालिसेले बताए । त्यस अभियानमा पोखरा उपमहानगरपालिकाका १० जना नगर प्रहरी परिचालन भैरहेका छन् । बिहीबार बेलुकापख वर्षा भएपछि रोकिएको काम शुक्रबारबाट पुनः निरन्तर रुपमा संचालन गरिने र पोखराको सबै बजारमा सो अभियान चलाइने उनले बताए ।

Post a Comment

 
Top