0
श्रीपति कोइराला गुठी पोखरा–९, महेन्द्रपुल पोखराद्वारा प्रकाशित स्व.श्रीपति कोइरालाको जीवनीमा आधारित पद्यवद्ध नेपाली महाकाव्य ‘श्रीपति महाकाव्य’ शुक्रबार पोख रामा विमोचन गरिएको छ । कवि एवं महाकाव्यकार रामनाथ अधिकारी ‘संगी’ द्वारा रचित उक्त महाकाव्यको विमोचन राष्ट्रिय धर्मसभा नेपालका संस्थापक अध्यक्ष एवं पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. माधव भट्टराईले एक कार्यक्रमका बीच गरे । त्यस अवसरमा बोल्दै उनले नेपालको जस्तो महान इतिहास अन्य कुनैपनि देशमा नभएको र नेपालको इतिहासका बारेमा नेपालीले नै चर्चा गर्नुपर्ने बताए । श्रीपति कोइराला कोइराला कुलका चम्किला तारा हुन्, ज्योतिषी, धर्मात्मा र समाजसेवी समेत हुन् उनको जीवनीबारे पुस्तक प्रकाशन गर्नुले एक इतिहास स्थापना भएको छ उनले भने । श्रीपतिले कुनै समयमा निकै महान काम गरे र इतिहास रचे । त्यहि इतिहासलाई अहिलेका पुस्ताले पच्छ्याउन सके अझैपनि धेरै महान काम गर्न सकिने उनले बताए । अहिले हरेक विद्यालयहरुमा विदेशीका इतिहास पढाइएको र नेपालको इतिहास हराउन थालेकोमा चिन्ता व्यक्त गर्दै भट्टराईले नेपाली स्कूलमा नेपालकै इतिहास पढाउनुपर्नेमा जोड दिंदै भने–‘हामीले हाम्रो इतिहास, धर्म, संस्कृति एवं रीतिरिवाज कदापि भुल्न हुँदैन, भुलियो भने नेपालको अस्तित्व नै संकटमा पर्छ ।’
त्यस अवसरमा बोल्दै कोइराला सेवा समाजका केन्द्रीय प्रथम उपाध्यक्ष एवं श्रीपति गुठीका पूर्व अध्यक्ष हेरम्वप्रसाद कोइरालाले श्रीपति कोइरालाका सम्पूर्ण पाटोलाई समेटेर महाकाव्य रचना हुनु अत्यन्तै खुसीको कुरा भएको भन्दै श्रीपतिले धार्मिक, शैक्षिक एवं सामाजिक क्षेत्रमा पु¥याएको योगदानको हामी सबैले कदर गर्नुपर्नेमा जोड दिए । वरिष्ठ ज्योतिष भविष्यवक्ता डा.बलराम उपाध्याय रेग्मीले मानव चेतनशील प्राणी भएकाले सृष्टिकालदेखिनै चलिआएको वैदिक हिन्दूधर्म, संस्कार र संस्कृतिलाई कसैले भुल्न नहुनेमा जोड दिंदै श्रीपति कोइराला इतिहासमा एक महान र प्रखर ज्योतिषी भएको आफूले पाएको बताए । महाकाव्यका लेखक रामनाथ अधिकारी ‘संगी’ ले श्रीपति कोइराला जस्तो राष्ट्रभक्ति व्यक्तिको बारेमा आफूले महाकाव्य नै रचना गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । महाकाव्यको समिक्षा गर्दै समिक्षक हरिप्रसाद खनालले महापुरुषले रचेका इतिहासलाई हामी सबैले अवलम्वन गर्न सके सार्थकता मिल्ने भन्दै श्रीपति कोइरालाले दिनुभएको धार्मिक, सामाजिक योगदानको मुल्याङ्कन जति गरेपनि नपुग्ने बताए । श्रीपति कोइराला ज्योतिष एवं धार्मिक विधाका पारङ्गत भएको भन्दै उनले कवि अधिकारीद्वारा रचित महाकाव्यमा खोट लगाउने ठाउँ नभएको बताए । क्षेत्री समाज नेपालका पूर्व अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्रीले इतिहासकारले बनाएका स्वर्णिम इतिहासलाई हामी कसैले भुल्न नहुने बताए । इतिहास सबैले रचेका हुन्छन् । ति इतिहासले कहाँ कस्तो भूमिका खेल्न सक्छ भन्ने विषय महत्वपूर्ण हुन्छन् । त्यसलाई हामी सबैले बुझ्नुपर्नेमा जोड दिए । गुठीका अध्यक्ष विष्णुचन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला, स्वतन्त्र पत्रकार संघका महासचिव कमल पौडेल अथक, गुठीका उपाध्यक्ष रुकु कोइराला, सचिव लक्ष्मणप्रसाद कोइराला, कलाकार यादवचन्द्र भुर्तेल, प्रविन गुरुङ, सुशासन शिवशक्ति धार्मिक समाज नेपालका कोषाध्यक्ष नित्यानन्द भुर्तेल लगायतले श्रीपति कोइरालाको जीवनीबारे चर्चा गरेका थिए ।त्यसअवसरमा एसएलसी परीक्षामा उत्तीर्ण कोइराला परिवारका छोराछोरीहरु सन्देश कोइराला, प्रतिभा कोइराला, परीक्षा कोइराला, सवता कोइराला, मिलनवन्धु कोइराला, कुमुद कोइराला, कुशुम किशोर कोइराला, अनुपमा कोइराला एवं सगुन कोइरालालाई श्रीपति सम्मान स्वरुप सम्मानपत्र, पुष्पगुच्छा र खादा लगाएर सम्मान गरिएको थियो । यसका साथै विभिन्न विद्यालयमा अध्ययनरत विभिन्न उत्कृष्ट विद्यार्थीहरु प्रविन गुरुङ, वर्षा गुरुङ, युवराज पौडेल, देवीलाल दाहाल, शर्मिला गिरी, अनिता रानाभाट, योगेन्द्र तामाङ, अमृत पौडेल एवं हरिकृष्ण उपाध्याय लगायतलाई श्रीपति विद्यापदक स्वरुप नगद, सम्मानपत्र, खादाले  सम्मान गरिएको थियो । त्यस अवसरमा गेहेन्द्रेश्वर कोइराला, कवि रामनाथ अधिकारी संगीपनि सम्मान गरिएको थियो । महाकाव्यमा श्रीपति कोइरालाको जन्मस्थान र प्रकृति–वर्णन, सवता भट्टको जुम्ला आगमन, नृसिंह कोइरालाको  कास्की आगमनका साथै श्रीपतिको अध्ययन र उपनयन वर्ण, वनारस फिर्ता र सरकारी कार्यकाल गरी बीस खण्डमा वर्णन गरिएको छ । पुस्तकमा प्रधानमन्त्री सुशिल कोइराला, राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा.माधव भट्टराई, कोइराला सेवा समाजका केन्द्रीय प्रथम उपाध्यक्ष हेरम्वप्रसाद कोइरालाका साथै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत १० जना व्यक्तिले शुभकामना मन्तव्य एवं श्रीपति कोइरालाका बारेमा आ–आफ्ना भनाई राखेका छन् । करिब ५०० पृष्ठको पुस्तकमा श्रीपति कोइरालाका वंशावलीका केही तस्वीरहरु समेत समेटिएका छन् । उक्त महाकाव्य श्रीपति कोइरालाको २०७औं जन्म जयन्तीको अवसरमा विमोचन गरिएको हो । महाकाव्य  छन्द झ्याउरे, छन्द लोक, छन्द विरही, संस्कृत, भजन कर्खा जस्ता लय र भाखामा रचित भएको छ ।

Post a Comment

 
Top