0
तेह्रथुम, १७ असार । यस जिल्लाको जलजले गाविसका जनताले बाजागाजासहित एक जोडी भ्यागुताको धुमधामसँग बिहे गरिदिएका छन् । असार महिनाको मध्य बितिसक्दासमेत पर्याप्त पानी नपरेकाले स्थानीयवासीले एक जोडी भ्यागुताको पूजापाठ गरी बिहे गरिदिएका हुन् । जलजले गाविस वडा नं ४ स्थित तीनधारे पानीको मुहानमा गाविसका वडा नं ४, ५ र ६ का कृषकहरू भेला भई भ्यागुताको बिहे गरिदिएका थिए । भ्यागुताको बिहे गरिदिएपछि पानी पर्ने जनविश्वास रहेकाले भ्यागुताको बिहे गरिएको स्थानीयवासी इन्द्रकुमार नेपालीले बताउनुभयो । उहाँका अनुसार असार महिनाको आधा बितिसकेको छ तर यहाँका १० प्रतिशत कृषकले मात्र धान रोपेका छन् । विगतका वर्षमा असार १५ सम्ममा जलजले गाविसमा ८० प्रतिशत धान रोपी सकिन्थ्यो । जिल्लाका अन्य गाविसमा पनि ५ देखि १० प्रतिशतमात्र धान रोपिएको कृषकले बताएका छन् । त्यस्तै, तमोर नदीले छोएका जिल्लाको १० वटा गाविसमा भने अहिलेसम्म फाटफुटमात्र रोपाइँ गरिएको फाक्चामारा गाविस वडा नं १ का कृषक सिद्घिमान लिम्बूले जानकारी दिनुभएको छ । पञ्चकन्या, फाक्चामारा, ओख्रे, म्याङलुङ, तम्फुला, सिम्ले, थोक्लुङ, चुहानडाँडा, छाक्तेढुङ्गा र ईवा तमोर नदीले छोएका गाविस हुन् । रासस

Post a Comment

 
Top