0

नेपालका सञ्चार माध्यममा अझैपनि मानव अधिकारसंग सम्बन्धित विषयले प्राथमिकता पाउन नसकेकोले त्यसतर्फ संचारमाध्यम र संचारकर्मीले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र मानव अधिकार पत्रकार संघ हुर्जा कास्कीले सोमबार संयुक्त रुपमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार मैत्री पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । पत्रिकाहरुमा कसैले सहयोग गरेको आधारमा समाचार आउने गरेकोले पनि मानव अधिकारका विषयले प्राथमिकता पाउन नसकेको भन्दै वक्ताहरुले पत्रकारिताको विकासका लागि विट पत्रकारिताको आवश्यकता रहेको समेत प्रष्ट पारे । पोखरामा अझैपनि विट पत्रकारिताको विकास हुन नसकेको उनीहरुले भने ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रमुख डा.टीकाराम पोख्रेलले मानव अधिकारका लागि मानव अधिकार मैत्री पत्रकारिता, मानव अधिकार मैत्री पत्रकारिताका लागि पत्रकारको सुरक्षा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै पोख्रेलले मानव अधिकार र पत्रकारिता एक अर्काका परिपुरक भएको स्पष्ट पारे । कसैलाई हानी पु¥याउने काम भएमा त्यो गम्भिर मानव अधिकार उल्लंघनमा पर्दछ उनले भने–त्यसैले पनि पत्रकारिता गर्दा अरुको अधिकार हनन नहुने गरि गर्नु पर्दछ । समाचार तयार पार्नु भन्दा पहिले त्यो समाचारले पछि कस्तो प्रभाव पार्दछ त्यो राम्ररी हेक्का राख्नुपर्ने उनको भनाई थियो । उनले समाचार तयार पार्द शव्दमा पनि ख्याल गर्न आग्रह गरे ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक वरिष्ठ अधिवत्ता तिलकप्रसाद आचार्यले अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले पटक पटक प्रहार गर्ने गरेको बताउँदै यसमा सजग रहनुपर्ने बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारिता मानवअधिकारमैत्री हुनुपर्ने भन्दै संचारमाध्यम र पत्रकारहरुले नै यस विषयमा गम्भीरता देखाउनुपर्ने बताए । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयास बारम्बार भैरहेने गरेको भन्दै पत्रकारहरुले आफ्नो योग्यता र दक्षता अभिवृद्धि गर्दै पत्रकारितामार्फत समाज रुपान्तरणको पक्षमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा उपप्राध्यापक वेदहरि तिमिल्सिना, अधिवक्ता जनकल्याण पराजुली, इन्सेक पश्चिमाञ्चल कार्यालयका प्रमुख भोला महत, नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेल, हुर्जा कास्कीका पूर्व अध्यक्ष कृष्ण अञ्जान पत्रकार महासंघ कास्कीका सदस्य जमुना शर्मा वर्षालगायतले आ–आफ्नो भनाई राखेका थिए ।
मानव अधिकार पत्रकार संघ हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुलीको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा कोषाध्यक्ष असफल गौतमले स्वागत र महासचिव वीरेन्द्र सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top