0
पोखरा ३२ असार ।
पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक अर्जुनकुमार कार्कीले अधिकारको खोजीसँगै नागरिकमा कर्तव्यबोध भएमा मानव अधिकारको संरक्षण हुने बताए । इन्सेक क्षेत्रीय कार्यालय पोखराद्वारा असार ३२ गते पोखरामा आयोजित पश्चिमाञ्चल क्षेत्रको मानव अधिकारको स्थिति सार्वजनिक तथा सरोकारवाला निकायवीच अन्तरक्रिया कार्यक्रममा बोल्दै क्षेत्रीय प्रशासक कार्कीले नागरिकमा कर्तव्यबोध हुनुपर्नेमा जोड दिए । राज्यपक्ष वा गैह्रराज्य पक्षबाट भएका मानवअधिकार हनन् र ज्यादतीका घटनाको जिम्मेवारी सरकारले लिनु पर्ने उल्लेख गर्दै प्रशासक कार्कीले राज्यले नागरिकलाई सुरक्षा दिन नसकेकोप्रति जिम्मेवार बन्नुपर्ने बताए । झन्झटिलो कानूनी प्रक्रिया र अपराधीको संरक्षण गर्ने प्रबृतिका कारण पीडितमा न्यायको प्रत्याभूति हुन नसकेको बताउँदै अधिकारको संरक्षण र सम्बद्र्धनका लागि नागरिकस्तरबाट सचेतना र राज्यलाई साथदिएर बलियो बनाउन आग्रह गरे । समाजमा हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक घटनाले समाज हिंस्रक बन्दै गएको चर्चागर्दै उनले नागरिकमा सचेतना र कर्तव्यबोधको खाँचो औल्याए ।
राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका निर्देशक डा. टीकाराम पोखरेलले मानवअधिकार उल्लंघनका घटना बढ्नुको कारण खोजी गरी न्यूनीकरणका लागि आवश्य कार्यक्रम सञ्चालन गर्नु पर्ने उल्लेख गर्दै राज्यको दायित्व मानवअधिकारको संरक्षण गर्ने भएको बताए । एसपी बसन्तकुमार लामाले मानवअधिकार संरक्षणका लागि प्रहरी संवेदनशील भएको बताउदै  मानवअधिकार उल्लंघनका घटना न्यूनीकरणको लागि प्रहरीले सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्ेको जानकारी दिए ।
वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले समाजमा मानवअधिकार अधिकार र कर्तव्यको अभियानलाई सरोकारवाला निकायले अगाडि बढाउनु पर्नेमा जोड दिए । वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेले मानवअधिकार उल्लंघनका घटना न्यूनीकरणको लागि कानुन पर्याप्त नभएको चर्चागर्दै नागरिकप्रति राज्य उत्तरदायी बन्न नसक्दा पीडितले न्याय पाउन नसकेको बताए ।
कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक भोला महतले समाजमा महिला र बालअधिकारका घटना बढ्दै गएको बताउँदै घरपरिवारका सदस्य विशेषगरी आफ्नै आमा, बाबु र दाजुभाईबाट बालबालिकाहरु असुरक्षित रहेको जानकारी दिए । उनले अप्रिलदेखि जुनसम्मको तीनमहिनामा सात जना महिलाको पारिवारिक हिंसाका हत्या भएको तथा एक नावालकको आफ्नै आमाले जन्माएर हत्या गरेको बताए । उनले यस अवधीमा भएका घटनामा १ सय ४१ जना पीडितमध्ये महिलाको संख्या १ सय २० रहेकोमा  ५७ जना महिला परिवार तथा घरेलु हिंसाबाट पीडित भएको र ५३ जना बालबालिका यौनजन्य दुव्र्यवहारबाट पीडित बन्न पुगेको इन्सेकले अभिलेख गरेको छ । तीन महिनामा गैह्रराज्य पक्षबाट सवैभन्दा बढी १ सय ३८ जना र राज्यपक्षबाट ३ जना पीडित भएको इन्सेकले जनाएको छ । कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक तिलक आचार्य, जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष पदमपाणि देवकोटा, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष सरलाकुमारी पाण्डे, गैसस महासंघका अध्यक्ष गोपाल खड्का, अधिवक्ता जूनाकुमारी गुरुङ,इन्सेक पोखराका टंक खनालले मानव अधिकार उल्लङघन र अपराध न्यूनीकरणको लागि राज्य संवेदनशील हुनु पर्ने तथा पीडितलाई न्याय र पीडकलाई कारबाहीको लागि सरोकारवाला निकायवीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिए ।

Post a Comment

 
Top