
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जीतेन्द्रदेव एमालेभित्र अहिले कोणप्रतिकोण बाट चलिरहेको बहस मुख्य रुपमा नेतृत्व हत्याउने र पार्टी कब्जा गर्ने नीतिसँग बढी केन्द्रित भएको देखिएको बताउँछन् । नेकपा संयुक्तका नेता गणेश शाहले एमाले कम्युनिस्ट आन्दोलनको मूल्य मान्यताबाट पछि हटेको छ, उक्त पार्टीभित्र अहिले देखिएको रडाको आन्तरिक पदको लुछाचुँडीका लागि हो भन्ने देखिन्छ, यस्तो अस्वस्थ प्रतिस्पर्धाले मुलुकको राजनीतिमा राम्रो सन्देश दिँदैन भने । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट माक्र्सवादी आन्दोलनका व्यवहार, दर्शन र सिद्धान्त छोडेर विशुद्ध पुँजीवादी पार्टीको रुपमा एमाले परिवर्तन हँुदै गएको टिप्पणी गरे । पुँजीवादी पार्टीभित्र पद, सम्पत्ति र पैसाको होडबाजी हुन्छ, महाधिवेशनमार्फत त्यसलाई कसले बाजी मार्ने भन्ने रणनीतिको पूर्व अभ्यासको रुपमा नेतृत्वका लागि दुईपक्षबीच वाक युद्ध भएको अध्यक्ष केसीले बताए ।
राष्ट्रियता सङ्कटमा रहेको, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर संविधान लेखनले पूर्णताः पाउने हो, होइन भन्ने प्रश्न उठेको बेला त्यसमाथि बहस र छलफल चलाउनुको साटो विशुद्ध नेतृत्वको लागि मात्र बहस केन्द्रित हुनु गलत भएको विश्लेषकहरू बताउँछन् । एनेकपा माओवादीका नेता रामकार्कीले नेकपा (एमाले) कम्युनिस्टधारलाई छोडेर प्रजातान्त्रिक समाजवादतर्फ रुपान्तरणको प्रयासमा रहेको टिप्पणी गरे । नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले नाममा कम्युनिस्ट भए पनि सिद्धान्त र व्यवहारमा एमाले बुर्जुवा पार्टी भएको बताइन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले नाममात्रको कम्युनिस्ट भएको जनाउँदै उस्ले कम्युनिस्ट सिद्धान्त र आदर्श छाडिसकेको प्रतिक्रिया दिए । नेपालको कम्युनिस्ट आन्दोलनका परिचित नेता राधाकृष्ण मैनालीले अरु राजनीतिक दलमा जस्तै एमालेमा पनि विचारको होइन, गुटको निर्माण भइरहेको छ भने । एमालेभित्रको आन्तरिक प्रतिस्पर्धा र प्रजातान्त्रिक अभ्यास भने निकै सुदृढ रहेको धारणा व्यक्त गर्दै नेता मैनालीले भने, “पछिल्लो समय सहरबाट एमाले क्रमशः बढारिँदै गाउँतर्फ खुम्चन पुगेकाले यसको भविष्यप्रति प्रश्न उठिरहेको छ ।”
नेपाल प्राध्यापक सङ्घकी पूर्व अध्यक्ष सुप्रभा घिमिरेले एउटै पार्टी र खेमामा लामो समयसम्म सहकार्य गरेका नेताहरूबाट अध्यक्ष पद आफ्नो पक्षमा पार्न एकअर्काको मानमर्दन गर्दै योगदानको अबमूल्यन गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरिन् । आफूले गरेका गलत कामलाई पनि ठीक देख्ने प्रवृत्ति अत्य गर्न, दोस्रो पुस्तालाई माथि उठाउन मार्गप्रशस्त गर्न तथा दलका सबैखाले गतिविधिलाई पारदर्शी र लोकतान्त्रिक बनाउने नेतृत्व चयनका लागि आगामी महाधिवेशन सफल हुने उनले विश्वास व्यक्त गरिन् ।
Post a Comment