0
पोखरा २१ असार ।।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४, टुँडाको पाटनमा रहेको सिद्धार्थ टोल विकास संस्थाले एसइइ परीक्षामा उत्तीर्ण आफ्ना सदस्यका छोराछोरीहरुलाई सम्मान गरेको छ । संस्थाले बुधबार पोखरामा आयोजना गरेको एक कार्यक्रमका बीच एसइइ उत्तीर्ण आठ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुने विद्यार्थीहरुमा प्रदेश माकाजू, रक्षा बराल, सफल कोइराला, सिम्रन धमाल, आइशा मुल्मी, सुशान्त ढकाल, विनित श्रेष्ठ र स्नेहा कुँवर रहेका छन् । यस्तै वडा सदस्यत्रय पुष्कल बहादुर श्रेष्ठ, सविता पराजुली र सुवर्ण केसीका साथै इन्जिनियर वीरेन्द्र लिगल र संस्थाका लागि विशेष योगदान दिने तारा माकाजूलाई पनि सम्मान गरिएको थियो ।  
उनीहरुलाई वडाध्यक्ष शंकर प्रसाद बाँस्तोला र संस्थाकी अध्यक्ष गोमादेवी कोइराला सुवेदीले सम्मान गरेका थिए । कार्यक्रममका बोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ का अध्यक्ष बाँस्तोलाले नविन उच्च माविलाई सामुदायिक विद्यालय बनाउनुपर्नेमा जोड दिए । उनले नविन स्कूललाई सामुदायिक बनाउन आफ्नो घोषणा नै रहेकाले सबै प्रक्रिया पुरा गरेर सामुदायिक स्कूल बनाउन विशेष प्रयत्न गर्ने बताए । एसइइ उत्तीर्ण जुनसुकै विद्यालयमा विद्यार्थीहरुले नविनमै पढ्ने वातावरण मिलाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 
वडाध्यक्ष बाँस्तोलाले सिद्धार्थ टोल विकास संस्थाले सामाजिक क्षेत्रमा गरेको योगदान प्रशंसनीय भएको भन्दै संस्थाले राम्रा कामका लागि पत्र लिएर आए सहयोग गर्न वडा कार्यालय तयार रहेको प्रतिवद्धता जनाए । 
संस्थाका सल्लाहकार तथा वडाध्यक्ष पदका उम्मेदवार ढाकोमोहन पराजुलीले सम्मानित विद्यार्थीहरुलाई बुबाआमाको सपना पूरा हुनेगरी अघि बढ्न सुझाव दिए । उनले विद्यार्थीहरु परिवर्तनकारी शक्ति भएकाले आफ्नो परिवार, समाज र देशका लागि केही गर्ने लक्ष्यका साथ अघि बढ्न आग्रह गरे । उनले भने–‘पोखरा–४ अन्तर्गत पर्ने महेन्द्रपुल, चिप्लेढुङ्गा हिजो पनि पोखराको मुटु थियो, आज पनि मुटु नै छ । यस क्षेत्रको विकास अन्यत्रको भन्दा निकै कम छ । त्यसैले परिवर्तन गर्न चाहने हो भने अब पोखरा–४ लाई प्रदेशकै मुटु बनाउन जरुरी छ ।’
संस्थाका सल्लाहकार एवं गोपालजी मन्दिर सेवा समितिका अध्यक्ष शरण लिगले गुरुको आज्ञा, बुबाआमाको सपना बोकेर समाजका लागि असल नागरिक बन्ने उद्देश्यका साथ अघि बढ्न सम्मानित विद्यार्थीहरुलाई सुझाव दिए । 
संस्थाकी अध्यक्ष गोमादेवी कोइराला सुवेदीले टुँडाको पाटन सधैं बाढीको चपेटामा पर्ने गरेको भन्दै वाढी रोकथामका लागि विशेष योजना अघि बढाउनुपर्नेमा जोड दिइन । सिद्धार्थ टोल नै वाढीको उच्च जोखिममा रहेकाले यसबाट सतर्क बन्नुपर्ने खाँचो औंल्याउँदै उनले बाढी रोकथामका लागि अरुको मुख ताकेर बस्नुभन्दा टोलवासी नै अग्रसर हुनुपर्ने बताइन । सिद्धार्थचोकको यातायात व्यवस्थापन सधैं अस्तव्यस्त हुने गरेको भन्दै उनले एक जना भएपनि ट्राफिक प्रहरी अनिवार्य रुपले खटाउनुपर्नेमा समेत जोड दिइन । अध्यक्ष सुवेदीले  सम्मानित विद्यार्थीहरुलाई आफ्नो आमाबाबुको अवस्था र सपना बुझेर अघि बढ्न सुझाव दिइन । 
संस्थाकी उपाध्यक्ष सम्झना माकाजूले पोखरा–४ महानगरकै बीच भागमा पर्ने भएपनि अन्यत्र जस्तो विकास हुन नसकेको भन्दै विकासको हिसावले यस वडालाई प्रदेशकै उत्कृष्ट वडा बनाउनुपर्नेमा जोड दिइन । 
सम्मानित विद्यार्थीद्वय आयुषा मुल्मी र सफल कोइरालाले सम्मानले आफूहरुलाई थप हौसला मिलेको भन्दै आमाबुबा र समाजको आशा र भरोषालाई आफूहरुले टुट्न नदिने प्रतिवद्धता जनाए । 
कार्यक्रममा अभिभावक मित्रलाल ढकाल, वडा सदस्यद्वय पुष्कल बहादुर श्रेष्ठ र सुवर्ण केसी, हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुली, संस्थाका सल्लाहकारहरु शम्भु प्रसाद कोइराला, मुक्ति पराजुली, मंगल प्रसाद माकाजू, भीमबहादुर श्रेष्ठ, नेविसंघका केन्द्रीय सदस्य देवकृष्ण पराजुली, संस्थाकी संस्थापक अध्यक्ष आशमाया खड्का र निवर्तमान अध्यक्ष पार्वती माकाजू लगायतले संस्थाको गतिविधि माथि प्रकाश पारेका थिए । 
संस्थाकी अध्यक्ष गोमादेवी कोइराला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सीमा कोइरालाले संचालन गरेकी थिइन ।


Post a Comment

 
Top