0
गोल्डेन न्यूज संवाददाता
पोखराको भलाममा अवस्थित महेन्द्र माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५७औं वार्षिकोत्सव, अभिभावक दिवस र पुरस्कार वितरण बुधबार सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, पोखराका क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले विद्यालयले आफ्नो ५७ औं वर्षसम्मको यात्रा तय गर्दा धेरै उतार चढाव बेहोरेको र अब भौतिक रूपमा विद्यालय सम्पन्न भइसकेको सन्दर्भमा शैक्षिक गुणस्तर बृद्धि गर्न लागि पर्न आग्रह गरेका थिए ।  राम्रो ग्रेड ल्याउने धेरै विद्यार्थी भए भन्दैमा शिक्षक सफल हुँदैन बरु सबै विद्यार्थीको शत प्रतिशत ग्रेड आउने गरी शिक्षकहरूलाई उनले सुझाव दिए । शिक्षकको लागि केही प्रतिशत विद्यार्थीको कम ग्रेड आएको होला तर अभिभावकको लागि त आफ्नो बच्चा शत प्रतिशत हो भन्ने तथ्यलाई मनन गरी अध्यापन कार्यमा लागि पर्न र सकेसम्म दिनहुँ फेरिने शिक्षण सिकाइ विधिसँग अद्यावधिक हुँदै कक्षाकोठाको परम्परागत पद्धति र विधिलाई समयसापेक्ष तुल्याउन उनले भने ।  कृषि शिक्षा अन्तर्गत प्राविधिक धार सञ्चालन गर्न विद्यालयलाई आफूले नै यहाँको प्रशासक रही आवश्यक सबै सहयोग गरेको हुँदा विद्यालयलाई आगामी दिनमा प्रशासनिक रूपमा गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको उनले विश्वास दिलाए। बाली विज्ञानको प्राविधिक धार सञ्चालन गर्न समुदाय पूर्ण रूपमा कटिबद्ध रही विद्यालयको सहयोगी रहनुपर्ने कुरामा जोड दिंदै क्षेत्रीय शिक्षा निर्देशक अधिकारीले आग्रह गरे ।  कार्यक्रममा बोल्दै कास्की जिल्लाका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले विद्यालयले ५७ वर्षको लामो यात्रा गर्नेक्रममा लागिपरेका सम्पूर्ण व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यालय निर्माणमा लागेका सबैलाई धन्यवाद दिए ।  उनले विद्यालय अंग्रेजी माध्यममा परिणत गर्दा नेपाली माध्यममा पढी सेवामा प्रवेश गरी आजसम्म आफ्नो पेशालाई निरन्तरता दिएको भन्दै आगामी दिनमा पेशामा टिक्न मेहनत गर्नुपर्ने र निरन्तर अध्ययन गर्न आफ्ना मातहतका शिक्षकहरूलाई निर्देशन दिए ।  सरकारी दरवन्दीमा सम्बन्धित विषयको शिक्षक हुँदा हुँदै सो विषय अध्यापन गर्न निजी स्रोतमा शिक्षक राखी कक्षा सञ्चालन गर्नुपर्ने बाध्यताको समाधान शिक्षकहरू आफ आफ्नो विषयमा सक्षम हुनुपर्ने र त्यसको लागि आवश्यक पर्ने सम्पूर्ण उपायहरू अवलम्वन गर्न सम्पूर्ण शिक्षकहरूमा उनले आग्रह गरे । शिक्षकको आफ्नो साख आफैंले राख्ने वा गुमाउने भन्दै जिशिअ पौडेलले शिक्षकहरूले पुरानो ढर्रा अनुसार जर्वजस्ती जागिर खान नसुहाउने स्पष्ट पारे । 
विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर खत्रीले शैक्षिक सत्र २०७४ देखि विद्यालय पूर्ण रूपमा अंग्रेजी माध्यममा रूपान्तर भएको भौतिक पूर्वाधारको निर्माण सँगै शैक्षिक उपलब्धिमा विद्यालय धेरै अगाडि बढिसकेको र समर्पित, कर्तव्यनिष्ठ, योग्य, सक्षम र समूहमा कार्य गर्न तत्पर शिक्षकको विद्यार्थीमैत्री शिक्षण विधिले विद्यालय कास्की जिल्लाकै एक उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित हुन सम्पूर्ण रूपमा लागिरहेको जानकारी दिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यविलास पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा प्रेमी क्या. गंगाबहादुर खत्री, भूपू प्रधानाध्यापक रेवतीविलास पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए भने शिक्षक जगतराज पौडेलले आफ्ना लालाबाला घर नजिकैको विद्यालयमा अध्यापन गर्न प्रेरणा दिने एक रोचक एवं प्रेरक कविता शास्त्रीय श्लोकमा वाचन गरेका थिए । 
कार्यक्रम संचालन शिक्षक वामदेव पौड्यालमा विद्यार्थीहरू राजन आचार्य, आयुष बाबु पौडेल, शिव ढुंगाना, रोजिना के.सी., संवृद्धि खत्री, भवानी नेपाली र मिराज पौडेलले विद्यार्थीका संस्कृतिक प्रस्तुति राखेका थिए । 
उत्तः अवसरमा  कार्यक्रममा शैक्षिक सत्र २०७२ को शैक्षिक पुरस्कार वितरण गरिएको थियो । कक्षा नर्सरी देखि कक्षा १२ सम्म प्रथम, द्वितीय र तृतीय हुने, २०७२ को प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट ग्रेड ल्याउने, उच्च माध्यमिक शिक्षा परिषदबाट २०७२ मा सञ्चालित वार्षिक परीक्षामा कक्षा ११ र १२ मा उत्कृष्ट तीन स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत तथा अभिनन्दित गरिएको विद्यालयले जनाएको छ । 
शैक्षिक सत्र २०७२ भर सेवामा समर्पित भइ विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको शैक्षिक उपलब्धि बृद्धि लगायत अतिरिक्त कार्यकलापमा निरन्तर लागिपर्ने शिक्षकको रूपमा गणित विषयका मा.वि शिक्षक प्रदीप खत्री, उत्कृष्ट अभिभावकको रूपमा सन्तबहादुर थापा मगर, अनुशासित र नमूना विद्यार्थीको रूपमा कक्षा ५ की छात्रा स्मृति गौतमलाई पुरस्कार तथा अभिनन्दन गरिएको थियो । विद्यालयमा समर्पित र कर्तव्यनिष्ठ कर्मचारीको कार्यालय सहयोगी र क्यान्टिनको भान्छा व्यवस्थापक रूपा कार्कीलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो ।










Post a Comment

 
Top