0
प्रकाश गुरुङ
सुन्दा चाइनिज भाषा जस्तो लाग्ने ताङतिङ गाउँको नाम पोखरादेखि २७ कि.मी. उत्तर पूर्व दिशामा मादी गाउँपालिका वडा नं. २ मा समुद्र सतह देखि १६८५ मिटरमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्छ। ताङतिङ पुग्नलाई पोखरा १३, काहुँखोला, कसेरी, विजयपुर खोला, छाचोक हुँदै चाँसुमा मादी खोला तरे पछि सेती खोला पुगे पछि उकालो चढदै उपल्लो बेशी हुँदै ताङतिङ गाउँ पुगिन्छ। पोखराबाट ताङतिङ जानलाई बसमा २ घण्टा र जिपमा १ः३० घण्टा लाग्छ । ताङतिङ जनालाई काहुँखोलामा बिहान ८ बजे र बेलुका ४ बजे बस पाइन्छ। जिपमा जान चाहेमा पनि पाइन्छ । ट्रेकिङ गर्न मन लागेमा चाँसुमा झरेर करिब ३ घण्टामा विस्तारै हिँडदा गाउँ पुगिन्छ। ताङतिङ गाउँमा २०० घर छन्। गुरूङ संस्कृतिको जिवन्त शैली अध्ययन, अनुसन्धान, अवलोकन गर्नलाई ताङतिङ ज्यादै राम्रो छ। गाउँको बिच बिचमा सफा गोरेटो बाटो छ जहाँबाट टोल टोलमा पुगि गाउँ मज्जाले घुम्न सकिन्छ। ताङतिङ गाउँ हिउँ पहिरो हेर्नलाई अति उपयोगी ठाउँ हो। गाउँ पारी नजिकै रहेको अन्नपूर्ण हिमाल र लमजुङ हिमालहरु आँखैमा, मनैमा सदा रहने गरी मज्जाले हेर्न पाइन्छ। ताङतिङ गाउँको पारी नेपालको ठूलो र सुन्दर गुरुङ्ग गाउँ सिक्लेस गाउँ छ । ताङतिङ गाउँ मुनि अन्नपूर्ण, लमजुङ हिमालबाट बगेको हिमनदी मादीको कलकल, छलछल गाउँ नजिकै रहेको डाँडा काँडाहरु, बनमा मृगहरुको आवाज, कालिज अनि चराचुरुङ्गीको चिरविर, बेलुका अध्यारो बढदै जाँदा गाउँमा बज्ने मादलको घिन्ताङ घिन्ताङले गाउँलाई अति रमणिय बनाउँछ।

ताङतिङ गाउँमा घुम्नलाई गाउँको पुच्छारमा नौचु पैंगी लामा महायान बौद्ध गुम्बा छ । गाउँको माथी क्वोइबा छ । गाउँको माथी हाइकिङ गर्नलाई करिब ४० मिनेट उकालो चढेपछि नौचु डाँडा भ्यु पोइन्ट पुगिन्छ जहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल र पोखराको आसपास मज्जाले हेर्न पाइन्छ। यस्तै प्रकारले गाउँ माथि फुलोम्रो, काऊचो, बाजे बैकु, काऊ न्य क्षेत्रबाट पनि दृष्याअवलोकन गर्न सकिन्छ। नजिकैको घट्टेखोलामा गई छहरा तथा खोलामा रमाइलो गर्न सकिन्छ। गाउँमा घुम्दा आमा दिदीबहिनीहरू राडीपाखी, बुनिरहेको चर्खामा ऊन कातिरहेको, बुबा दाजुभाइ भोटो र कछाडमा डोको नाम्लो बुनिरहेको भेटिनु हुनेछ। गाउँमा ५ वटै टोलमा ठिटा–ठिटीहरुको ठेटर आमाहरुको नाच छ। पाहुनाहरुको ईच्छा अनुसार नाचगान गरिन्छ साथै घाँटु, सोराठी पनि देखाइन्छ । गाउँमा एउटा लज र १२ वटा दर्ता गरेको होमस्टे छ र अरुघरहरुमा पनि पाहुनाहरु राख्न सक्ने राम्रो सुविधा छ । पाहुनाहरुलाई गाउँको चामलको भात, ढिडो तरकारी, कुखुराको सुप, इच्छा अनुसार अन्य आर्ग्निक खानाहरु खुवाइन्छ । चिटिक्क परेको ढुंगा र टिनले छाएको गुरुङ्ग घर भित्र भेडाको कम्बलमा बसी गुरुङ्ग स्टाइलले अगेनोको छेऊमा बसेर गुरुङ्ग संस्कृतिमा आधारित चारेसको थालमा अर्गा्निक खाना नारीपा  (कोदोको रक्सी) इच्छा अनुसार खान पाइन्छ । ताङतिङ गाउँ रमाइलो तमु गुरुङ्ग गाउँ हुनुको साथै गुरुङ्गहरुको पूख्र्यौली थलो प्राचीन बस्ती क्होलोसोथर पनि यसै गाउँको नजिकै पर्छ। गाउँमाथि क्रबु डाँडा छ। ताङतिङबाट गुरुङ्गहरुको पूख्र्यौली थलो तथा पुरानो वस्ती क्होलोसोथर, दूधपोखरी तथा लमजुङ्गको भुजुङ, घनपोखरा, घले गाउँ पनि पुग्न सकिन्छ । पवित्र ऐतिहासिक दूधपोखरी, मनाङ यात्रा पनि ताङतिङबाट गर्न सकिन्छ। अर्को तिर पोखरा, ताङतिङ, सिक्लेस, ताराहिल टप, घले खर्क, भुर्जुङखोला पदयात्राको लागि ताङतिङ हुँदै गर्न सकिन्छ । अहिले ताङतिङमा आन्तरिक तथा बाह्य पर्यटकको दिन प्रतिदिन घुइँचो बढदै गइरहेको छ । हाल सुपर हाइड्रो पावर ४४ मेगावाट विद्युत कम्पनीले गाउँको विच बाटो हुँदै मोटर बाटो सिक्लेससम्म लाई रिङरोड बनाउँदै छ । यसले पनि गाउँको आर्थिक, सामाजिक, पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ । यसरी गुरुङ्ग परम्परा र संस्कृतिको धनी गाउँ, नजिकै झ्याल, ढोका, आँगन जताततैबाट हिउँ पहिरो, हिमाल हेर्न, प्राकृतिक छटाले भरिएको डाँडाकाँडाले घेरिएको अतिथिहरुलाई स्वागत र सत्कार गर्ने तमु गुरुङ्गहरुको थलो किलोमा रमाइलो गर्न, घुमफिर गर्न यस ताङतिङ गाउँ अति सुन्दर रमणीय छ। गाउँमा हाल एउटा सूचना केन्द्र र विद्यालयमा समेत इमेल इन्टरनेटको सुविधा रहेको छ साथै स्थानीय खोलाबाट गाउँलेहरुले २७ किलोवाटको विजुली उत्पादन गर्नुको साथ साथै हरेकको घर घरमा सुविधा सम्पन्न चर्पी, वाथरुम लगायत ग्रामिण पर्यटन विकासको लागि राम्रो पूर्वाधार रहेको हुँनाले यो गाउँमा अझ पर्यटन विकासको प्रचुर सम्भावना रहेको छ।









Post a Comment

 
Top