0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्कीले चैत्र ३१ पोखरामा आयोजना गरेको चुनावीसभाको तयारीलाई तीव्र पारेको छ । चुनावीसभाका लागि कास्की कांग्रेसका नेता तथा कार्यकर्ताहरुले छलफल र भेटघाटलाई तीव्र पारेका छन् ।
चुनावी सभाको तयारीबारे जानकारी दिन सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै कास्की कांग्रेसका सभापति कृष्ण केसीले कांग्रेसको सभालाई सबै तवरबाट सहयोग गर्न पार्टीका नेता, कार्याकर्ता, भातृसंस्थाका साथै पेशाकर्मी र बुद्धिजीविसंग आग्रह गरेका छन् । उनले चुनावी सभाको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । सभापति केसीले दिएको जानकारी अनुसार सभाको तयारीमा मञ्च व्यवस्थापन, यातायात व्यवस्थापन, यातायातको रुट व्यवस्थापन, स्वास्थ्य, पिउने पानीको व्यवस्थाका साथै स्वयंसेवक परिचालनमा महत्वपूर्ण ध्यान दिइएको छ ।

पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गामा हुने सभामा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला र युवा नेता गगन थापा लगायतका केन्द्रीय नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।  चिप्लेढुङ्गाको सडक अवरुद्ध पारेर राजनीतिक दलहरुले सभा सम्मेलन गर्न लागेपछि स्थानीय तथा विभिन्न क्षेत्रबाट बिरोध भइरहेका बेला कांग्रेसले गर्न लागेको चुनावी सभाको पनि आलोचना हुन थालेको छ । यसै सन्दर्भमा कास्की कांग्रेसका सभापति केसीले स्थानीय वासिन्दा, व्यवसायी र आमसर्वसाधारणमा पर्न गएको असुविधाप्रति पार्टीको तर्फबाट क्षमायातना प्रकट गरेका छन् । 

उनले विपिचोक र विपि मार्ग यहि ठाउँ परेका कारण ऐतिहासिक महत्वलाई दृष्टिगत गर्दै सभाको आयोजना गरिएको स्पष्ट पारे । तर आगामी सभाहरु भने अन्यत्र गर्ने सोचाइ पार्टीले बनाएको उनले जानकारी दिए ।  सभापति केसीले त्यस्तो बताएपनि केही दिनअघि नेकपा एमालेले गरेको सभामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चिप्लेढुङ्गामा आफ्नो पार्टीको जस्तो विशाल सभा अरु कसैले गर्न नसक्ने धावा बोलेको भन्दै कांग्रेसले त्यसको जवाफ स्वरुप चिप्लेढुङ्गामै सभा गर्न लागेको बताइन्छ । चुनावीसभा र ¥यालीका लागि गाउँ–गाउँबाट कांग्रेस कार्यकर्ता र समर्थकलाई यातायातका साधनमार्फत ल्याइने भएपनि ती सवारी साधनलाई मुख्य बजारमा प्रवेश नगराइने कास्की कांग्रेसले जनाएको छ । पोखराको रानीपौवा, पृथ्वीचोक, सृजनाचोक, बाग्लुङ बसपार्क र नदीपुरसम्म मात्र बसहरु आउने र ती स्थानबाट ¥यालीमा सहभागी भइ सभामा आउने भएकोले मुख्य बजार क्षेत्रमा यातायातमा समस्या नहुने दावी कांग्रेसको छ । सभास्थल मानवअधिकार चोकमा आकर्षक मञ्च र साउण्ड सिस्टम बनाइने र टाढा–टाढासम्म सुन्न मिल्ने व्यवस्था गरिने मञ्च तयारी समितिका संयोजक मनोज गुरुङले जानकारी दिए ।  पत्रकार भेटघाट कार्यक्रममा पार्टीका जिल्ला सचिव सुदिपमोहन भट्टराई र जिल्ला सदस्य नविन सिग्दलले पनि बोलेका थिए । 




Post a Comment

 
Top