0
यो बर्ष नेपाली चलचित्रका दर्शकले केहि कलाकारलाई पर्दामा हेर्न पाएनन् । तर, पर्दामा नआएपनि ती कलाकारको चर्चा भने बर्षभरि नै भयो । कतिपय कलाकार पर्दामा आएर पनि सफल त हुन सकेनन्, तर चर्चा पाए । हामीले, यहाँ त्यस्ता केहि कलाकारको चर्चा गर्दैछौ, जो बर्षभरि नै मिडियाको हेडलाइन्समा बनिरहेँ । हाम्रो, उत्कृष्ट ५ को सूचीमा परेका नायक तथा नायिकालाई हामीले यो सूचीमा समावेश गरेका छैनौ ।
१. रेखा थापा
नायिका रेखा थापा यो बर्ष चलचित्र भन्दा पनि राजनीतिका कारण हेडलाइन्समा रहिन् । उनले अभिनय गरेको एउटा मात्र चलचित्र ‘पलाँस’ रिलिज भयो । चलचित्र बक्स अफिसमा कमजोर बनेपनि रेखालाई खासै धक्का लागेन । राप्रपा पार्टीको केन्द्रिय सदस्यमा विजयी भएपछि रेखा सवैभन्दा बढी चर्चित बनिन् । साथमा, रेखाले यो बर्ष ३ वटा चलचित्रको छायांकन सकिन् । आफैले निर्माण गर्न लागेको नयाँ चलचित्रका कारण पनि उनी हेडलाइन्समा बनिरहिन् ।
२. नम्रता श्रेष्ठ
नायिका नम्रता श्रेष्ठको पनि यो बर्ष कुनै पनि चलचित्र रिलिज भएन । तर, यो बर्ष आयोजना भएका सबै अवार्ड समारोहमा नम्रताले ‘उत्कृष्ट नायिका’को अवार्ड जितिन् । राष्ट्रियदेखि विभिन्न संघसंस्था र व्यक्तिले गर्ने अवार्डमा समेत नम्रता मात्र विजेता बनिन् । जसले गर्दा उनलाई बर्षभरि नै हेडलाइन्समा रहने मौका मिल्यो । सार्वजनिक कार्यक्रममा प्रेमी दावा शेर्पासँग हिड्ने गरेका कारण पनि नम्रतालाई मिडिया कभरेज राम्रै मिल्यो । चलचित्र ‘पर्व’ रिलिज नभएपनि उनी करिब डेढ महिना छायांकनमा व्यस्त भइन् । यसकाकारण, यो बर्ष उनको चर्चा भयो ।
३. साम्राज्ञीराज्य लक्ष्मी शाह
गतबर्ष चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्रमा उदाएर एकाएक धमका मच्चाएकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको यो बर्ष कुनै पनि चलचित्र रिलिज भएन । तर, पनि उनी बर्षभरि नै दर्शक र मिडियाबाट टाढा जान सकिनन् । उनले चलचित्र ‘ए मेरो हजुर २’का लागि महंगो पारिश्रमिक लिएकोदेखि उनको प्रेम चर्चा हेडलाइन्समा रहन पुगे । प्रेमी मयंक खड्कासँगको विभिन्न तस्बिर सार्वजनिक भएपछि उनी झनै लाइमलाइटमा रहिन् । साथै, बर्षको अन्त्यमा चलचित्र ‘ए मेरो हजुर २’को गीत रिलिज भएपछि त उनको चर्चा झनै चुलियो । युटुबदेखि समाचारका भित्तामा उनलाई खोज्नेको संख्या सबैभन्दा बढी देखियो ।
४. पूजा शर्मा
यो बर्ष नायिका पूजा शर्माको पनि कुनै चलचित्र रिलिज भएन । तर, गतबर्ष नै रिलिज भएको चलचित्र ‘प्रेमगीत’का कारण उनको बर्ष २०७३ मा पनि चर्चा भएको पाइयो । पूजा यो बर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु’को छायांकनमा व्यस्त बनिन् । विशेषगरि, नायक पल शाहलाई आफूले मन पराएको भन्दै अभिव्यक्ति दिएपछि पूजाको चर्चा बढी भयो । यसपछि, मिडियाका हरेक प्रश्नमा पूजालाई जोडेर पलमाथि प्रश्न सोझाइयो । चुलबुले शैलीकी नायिका युटुबमा धेरै हेरिने कलाकारमा पर्छिन् । यसैले, पनि उनी बर्षभरि नै चर्चित बनिन् ।
५. प्रदिप खड्का
नायक प्रदिप खड्काको यो बर्ष कुनै चलचित्र रिलिज भएन । तर, गतबर्ष रिलिज चलचित्र ‘प्रेमगीत’ले उनलाई यो बर्ष पनि मिडियामा चर्चित बनायो । यो बर्ष उनले चलचित्र ‘प्रेमगीत २’को छायांकन गरे । विशेषगरि, ठूला ठूला ब्यानरका चलचित्र छाडेको भन्दै उनको चर्चा बढी भयो । तुलसी घिमिरेदेखि ‘ए मेरो हजुर २’ चलचित्रको अफर छाडेपछि उनी मिडियामा चर्चित बने । चलचित्र रिलिज नभएपनि उनलाई दर्शकले यो बर्ष पनि खोजिरहे ।
६. पल शाह
यो बर्ष नायक पल शाहको पनि कुनै चलचित्र रिलिज भएन । पल अभिनित गतबर्षको अन्त्यमा चलचित्र ‘नाई नभन्नु ल ४’ रिलिज भयो । यो बर्ष पलको चर्चा विशेषगरि, नायिका आँचल शर्मासँगको प्रेमका कारण भयो । आँचल र पलको प्रेमको समाचार सार्वजनिक भएपछि उनलाई बर्षभरि नै मिडियाले यहि प्रश्नले पछ्याइरह्यो । यस्तै, उनी यो बर्ष चलचित्र ‘जोनी जेन्टलम्यान र म यस्तो गीत गाउँछु’मा व्यस्त बनेँ । जसकाकारण, पल बर्षभरि नै मिडियाको हेडलाइन्समा बने ।
७. संचिता लुइटेल
नायिका संचिता लुइटेल अभिनित यो बर्ष ‘राधा’ नामक चलचित्र रिलिज भयो । संचिता नै शिर्ष भूमिकामा रहेको यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गर्रुयो । तर, पनि संचिता मिडियामा चर्चित बनिनै रहिन् । धेरैजसो सार्वजनिक कार्यक्रममा पुग्ने गरेकी संचिताको उनको पहिरन र फिगरको चर्चा बढी भयो । छोटो समयमा नै फिगर मेन्टेन गर्न सक्ने नायिकाको सुन्दरताले उनलाई चर्चित बनायो ।
८. स्वेता खड्का
कुनै पनि चलचित्र रिलिज नभएपनि यो बर्ष नायिका स्वेता खड्का समाजसेवाका कारण हेडलाइन्समा रहिन् ।
सिन्धुपाल्चोकमा उनले बस्ती निर्माणमा सहयोग गर्ने बताएपछि उनलाई शुभकामना दिनेहरु धेरै भए । साथै, उनले चलचित्र ‘कान्छी’ निर्माण गर्ने घोषणा गरेसँगै ‘दयाहाङ राइकी कान्छी’ भन्दै उनी हेडलाइन्समा रहिन् । स्वेताका इन्टरभ्यूहरु युटुबमा धेरै खिचिए, जसलाई दर्शकले मन पराएको पाइयो ।
९. नीता ढुंगाना
प्रेमी आमेष भण्डारीसँग व्रेकअपका कारण नायिका नीता ढुंगाना मिडियामा बढी फोकस भइन् । साथै, यो बर्ष उनी अभिनित दुई चलचित्र ‘लेक साइड र निर्भय’ रिलिज भए । दुबै चलचित्र असफल भएपनि नीता भने दर्शक र हेडलाइन्समा बनिनै रहिन् । नीता यो बर्षको अन्त्यमा बलिउड कलाकार राजपाल यादवसँग अनटाइलट प्रोजेक्टमा व्यस्त बनिन् । बक्स अफिसमा लगातार २ बर्ष असफल भएपनि नीताको खबर भने बर्षभरि नै छाइरहे ।
१०. दीपकराज गिरी
निर्माता, कलाकार दीपकराज गिरी पनि यो बर्ष चर्चित बने । विशेषगरि, चलचित्र ‘छक्का पन्जा’ले बम्पर व्यापार गरेपछि दीपक बढी चर्चित बने । चलचित्रमा उनले निर्वाहा गरेको ‘राजा’ भूमिकाले पनि उनलाई चर्चामा ल्याइदियो । दीपकराज गिरीले लेख्ने फेसबुक स्टाटस र त्यसमा आउने कमेन्टले पनि उनको चर्चा बढी हुन्छ । दीपकले लेखेका अधिकांश स्टाटस मिडियाको हेडलाइन्स बने ।
चलचित्र ‘छक्का पन्जा’ पाइरेसीको घटनामा एक यूवकले आत्महत्या नै गरेपछि दीपक विवादमा परे । तर, यूरोप भ्रमण छोट्याएर उनी नेपाल फर्किए र प्रहरीमा छानविनका लागि उजुरी दिए । चलचित्र छायांकन, रिलिज, विवाद आदि विभिन्न कारणले उनी बर्षभरि नै मिडियाको खोजीमा रहे ।
स्रोत ः अनलाइन खबर







Post a Comment

 
Top