0
गोल्डेन न्यूज संवाददाता
आशन्न स्थानीय तहको निर्वाचनमा १६ वर्ष मुनिका कुनैपनि बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलहरुलाई सरोकारवालाहरुले सुझाव दिएका छन् ।  निर्वाचनमा बालबालिकाको दुरुपयोग रोक्ने उपायबारे सरोकारवालाहरुसंग बुधबार पोखरामा भएको अन्र्तक्रियामा बोल्ने सरोकारवालाहरुले निर्वाचनमा बालबालिकाको प्रयोग कुनै हालतमा हुन नहुँने बताएका थिए ।  यसअघिका निर्वाचनहरुमा बालबालिकाहरुलाई पानी ओसार्ने,  गीत गाउने, झण्डा बोकाउने, भाषण गर्न लगाउने जस्ता कार्यहरु गराएको पाईएको भन्दै उनीहरुले यसपटक कुनै हालतमा यस्ता कार्य नगर्न राजनीतिक दलहरुलाई आग्रह गरे।    कार्यक्रममा बोल्दै केन्द्रीय बालअधिकार श्रोत व्यक्ति बद्री वाग्लेले राजनीतिक दलहरुले गरेका प्रतिवद्धता अक्षरस पालना गर्नुपर्नेमा जोड दिए । उनले पढाई प्रभावित हुने गरी विद्यालयमा चुनावी सभा नगर्न र बालबालिकाको प्रयोग भएको भेटिए प्रमाणसहित उजुरी गर्न नागरिकहरुलाई आग्रह गरे । महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसीले निर्वाचनमा बालबालिकाको प्रयोग रोक्नु सबैको नैतिक दायित्व भएको भन्दै बालबालिकालाई निर्वाचन र पार्टीगत काममा प्रयोग गर्न नहुँने स्पष्ट पारिन् । 
केन्द्रीय बालकल्याण समितिका सदस्य एवं थ्री एन्जल्स नेपालका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्र गौतमले बालबालिकालाई पनि निर्वाचनबारे जान्ने अधिकार हुने भएपनि उनीहरुलाई चुनावमा प्रयोग गर्न नहुने बताए ।  पोखरा उद्योग वाणिज्य संघका कार्यक्रम संयोजक दिपक ढुंगानाले निर्वाचन हुने दिनमा मतदान केन्द्रहरुमा हेल्प डेस्क स्थापना गरिने जानकारी दिँदै मतदाता शिक्षा दिने अभियन्ताहरुलाई पनि बालबालिकाको प्रयोग गर्न नहुने बारेको जानकारी गराउन अनुरोध गर्ने बताए । 

बालगृह सञ्जाल कास्कीका सचिव विजयकुमार प्रधानले पोखरा लेखनाथ महानगरपालिकामा चल्ने नगर बसहरुमा बालबालिकाहरु प्रयोग नगर्न सुझावसहितको जानकारीहरु टाँस गरिने, विभिन्न बाल क्लबहरुलाई पनि बालबालिका प्रयोग हुन नदिन सूचित गर्ने जानकारी दिए ।  उनले बालमैत्री निर्वाचनका सूचनाहरु निर्माण गरी प्रसारण गर्न लगाईने समेत स्पष्ट पारे ।  कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले गैरसरकारी संस्था महासंघ कास्कीले वैशाख १९ गते व्यानर सहित निर्वाचन कार्यालयमा पुगेर बालबालिका प्रयोग गर्न नहुँने बारे जानकारी गराउने बताए । कार्यक्रममा मानवअधिकार क्षेत्र सेवा केन्द्र (ईन्सेक) पश्चिमाञ्चल प्रमुख शिव खकुरेलले चुनावमा आर्थिकरुपमा कमजोर रहेका समुदाय र वर्गका बालबालिकाहरु बढी प्रयोग हुनसक्नेतर्फ सचेत रहँदै ती समुदायमा पुगेर सचेतना जगाउनुपर्नेमा जोड दिए । 
कार्यक्रम कास्कीका प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसीको अध्यक्षतामा भएको थियो ।





Post a Comment

 
Top