0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको लामो समयको साझेदार एचडब्लुके माइन्ज जर्मनीका पूर्व परियोजना प्रमुख राइनर कुवेराले संघको अहिलेको अवस्थाप्रति सन्तोष व्यक्त गरेका छन् । उनले पोखरा उद्योग वाणिज्य संघको उन्नयन तथा साझेदार संस्थाको खोजीको लागि आफ्नोतर्फबाट पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले उनको सम्मानमा बुधबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै कुवेराले उद्योग वाणिज्यसँगको सहकार्यको १६ वर्ष आफ्नो जीवनको अविश्मरणीय क्षण भएको बताए । एचडब्लुके माइन्जले गरेका साझेदारीमध्ये पोखरासँगको सबैभन्दा सफल भएको उनको भनाई थियो । कुवेरा साझेदारी कार्यक्रमको सिलसिला तथा व्यक्तिगत रुपले समेत गरी ४२ पटक पोखरा आइसकेका छन् । पोखरा उद्योग वाणिज्य संघले कुवेराको योगदानको कदर गर्दै मानार्थ सदस्यता समेत प्रदान गरेको छ । मानार्थ सदस्यता प्राप्त गर्ने उनी पहिलो र एकमात्र  विदेशी नागरिक हुन् । पदयात्रा रुचाउने कुवेराले पोखरा बस्ने क्रममा वरपरको क्षेत्रको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

पोखरा उद्योग वाणिज्य संघ र माइन्जबीचको साझेदारी ले नेपालको च्याम्बर आन्दोलनमा नै पहिलो विदेशीसँगको साझेदारी हो । सन् १९९४ बाट सुरु भएको साझेदारी निरन्तर १६ वर्ष संचालनमा रह्यो । सो उपक्रममा माइन्जले संघको सचिवालय सुदृढिकरण, विभिन्न खाले तालीमका साथसाथै गोर्खा, तनहुँ, लमजुङ,नेपालगञ्ज, बाग्लुङलगायतका जिल्ला उद्योग वाणिज्य संघमा समेत विभिन्न कार्यक्रमहरु संचालन भएका थिए । संघका अनन्य मित्र कुवेरालाई स्वागत गर्दै संघ तथा कार्यक्रमका अध्यक्ष विश्वशंकर पालिखेले एचडब्लुके माइन्जसँगको साझेदारीले संघको तथा समग्र पोखराको विकासमा महत्वपूर्ण योगदान दिएको बताए । उनले पोखरा उद्योग वाणिज्य संघले सम्पादन गरेका विविध गतिविधिबारे जानकारी दिँदै कुवेराबाट संघले निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।

संघका पूर्व अध्यक्ष, सल्लाहकार तथा मानार्थ सदस्य अशोक पाखिलेले माइन्जसँगको साझेदारीको जगमा नै संघ अहिलेको अवस्थामा आएको बताउँदै जर्मनको कुनै संस्थासँग पुनः संघको साझेदारी कायम गराउन कुवेराको भूमिका महत्वपूर्ण हुने बताए। संघका महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, पदाधिकारी, कार्यसमिति सदस्य तथा विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





Post a Comment

 
Top