0
गोल्डेन न्यूज संवाददाता
पोखरा रंगशालाको फुटबल मैदान प्यारापिटले घेरिने छ । प्यारापिटले घेर्न युवा तथा खेलकुद मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने जिम्मा काठमाडौंको एण्डी इन्जिनियरिङ कन्सल्टेन्सीलाई दिएको छ । सम्झौतापत्रमा मन्त्रालयका सचिव महेशप्रसाद दाहालको उपस्थितिमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र कन्सल्टेन्सीका अध्यक्ष ई.निरन्जन डुम्रे बीच बिहीबार कागजपत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा हस्ताक्षरपछि कन्सल्टेन्सीका अध्यक्ष ई. डुम्रेले बढीमा दुईमहिनाभित्रमा डिपिआर तयार पार्ने प्रतिबद्धता जनाए । उनलेस माटो परीक्षण, स्ट्रक्चर डिजाईन लगायतका विषयमा डिपिआर तयार पारिने स्पष्ट पारे । ‘डिपिआरपछि मात्रै लागत अनुमान गर्न सकिन्छ’ उनले भने–‘डिजाईन अनुसार ३० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिने छ । डिपिआर तयार पारेपछि अर्को वर्षको बजेटमा बजेट विनियोजन गरिने मन्त्रालयका सचिव दाहालले बताए । उनका अनुसार अहिले डिपिआर शुरु हुन्छ, अर्को वर्ष बजेट छुट्टाएर काम अगाडि बढ्छ । सन २०१९ मा हुने साग खेलकुद अन्तर्गत महिला फुटबललाई पोखरामा गर्ने तयारीसँगै पुर्वाधारको काम अघि बढाईएको उनले बताए । डिपिआर पछि पर्याप्त बजेट पर्ने छ ।’ उनले भने–‘निर्माण कार्यमा मन्त्रालय भन्दा पनि राष्ट्रिय खेलकुद परिषदले बढी ध्यान दिनुपर्छ ।’ पुर्वाधार निर्माणमा परिषद् भन्दा मन्त्रालयको सक्रियता रहेको उल्लेख गर्दै उनले परिषदले मन्त्रालयलाई पछाडि लगाउनुपर्ने अवस्थामा उल्टै मन्त्रालयको पछि पछि परिषद हिडेको सुनाए ।

उनले ‘पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, पुरस्कार र प्रतिभाको खोजी’ ले मात्रै नेपाली खेलकुदको विकास हुने भन्दै मन्त्रालय त्यसको लागि कार्ययोजना बनाई अगाडि बढेको उल्लेख गरे । ‘पोखरालाई स्पोर्टस सिटी बनाउन जरुरी छ ।’ उनले भने–‘त्यसका लागि मन्त्रालयले होस्टेमा हैसें गर्छ । स्थानीयस्तरबाट पनि सहयोगको जरुरी छ ।’ पूर्व अन्तराष्ट्रिय खेलाडी एवं अखिल नेपाल फुटबल संघका उपमहासचिव गणेशबहादुर भट्टराईले पोखरालाई स्पोर्टस टे«निङ सेन्टरको रुपमा विकास गर्नुपर्ने खाँचो औंल्याए । खेलकुद क्षेत्र राजनीतिक पार्टीको कार्यकर्ता भर्ना गर्ने थलो बन्दै गएकोप्रति गुनासो गर्दै उनले खेलाडीलाई राजनीतिक पार्टीको ट्याग लगाउने काम बन्द गर्नुपर्नेमा जोड दिए । ४१५ रोपनी क्षेत्रफल रहेको पोखरा रंगशालामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० हुदाँको समयदेखिका भौतिक पुर्वाधार छन् । जुन भूकम्पले जीर्ण बनाएको छ । रंगशालाभित्र १४ करोड लागतको बहुउद्देश्यीय कर्भड हल निर्माणको चरणमै छ । भलिबल संघले भलिबल प्रशिक्षण केन्द्र बनाउने काम अहिले रोकिएको छ । कास्की जिल्ला व्याडमिन्टन संघले चारवटा कोर्टसहितको अन्तराष्ट्रियस्तरको व्याडमिन्टन कोर्ट निर्माणमा जुटेको छ । लन टेनिस, आर्चरीको पुर्वाधार छन । क्रिकेट मैदानको पनि चौधरी ग्रुपले डिपिआरको लागि माटो परीक्षण गरेर गईसकेको छ ।






Post a Comment

 
Top