0
सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव सहित संविधान संशोधन विधेयक दर्ता गरेको छ । आइतबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका ६ सांसदले दर्ता गरेको संशोधन प्रस्तावमा भनिएको छ, संविधानको धारा ४ को उपधारा १ मा संशोधनः ‘धर्म्निरपेक्ष भन्ने पदावधीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने बाक्यंश राख्ने । राप्रपाका कुन्ती साही, जयन्त चन्द, सुशीलकुमार श्रेठसहितका ६ सांसदले विधेयक दर्ता गरेका हुन् । यो गैरसरकारी विधेयकका रुपमा दर्ता भएको हो । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउने निर्णय गरेपछि राप्रपाले संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको थियो । राप्रपाले दर्ता गरेको संशोधन विधेयक सभामुखले स्वीकृत गरपेछि संसदीय प्रक्रियामा जाने छ । तर, सरकारी संविधान संशोधन विधेयक नै संसदमा विचाराधीन छ । यस्तो अवस्थामा राप्रपाले ल्याएको संविधान संशोधन विधेयक तत्काल अघि बढ्ने सम्भावना कमै छ । यसैबीच राप्रपाको विधानबाट ’हिन्दूराष्ट्र’ र ’संवैधानिक राजतन्त्र’ हटाउने निर्णय संविधानअनुसार नै गरिएको दाबी प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले गरेका छन्। आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले यस्तो बताएका हुन्। ’संविधानले स्पष्टरूपमा नेपाल धर्म निरपेक्ष र गणतान्त्रिक मूलूक हुने व्यवस्था गरेको छ,’ उनले भने,–‘हामीले संविधान अनुसार नै यो निर्णय लिएका हौं। हाम्रो कुनै दलसँग कुनै पनि किसिमको आग्रह–पूर्वाग्रह छैन।’ यद्यपि उनले संविधानको कुन धाराका आधारमा यस्तो निर्णय लिइएको हो भन्ने स्पष्ट पारेनन्। गत शुक्रबार आयोगले राप्रपाको विधानबाट ’हिन्दूराष्ट्र’ र ‘संवैधानिक राजतन्त्र’ हटाउने निर्णय गरेको थियो। आयोगको यो निर्णयबाट असन्तुष्ट बनेका राप्रपा अध्यक्ष कमल थापाले आयोगले ’अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाएका थिए। आयोग यो निर्णय विरूद्ध कानुनी उपचार खोज्ने उद्घोष पनि उनले गरेका थिए। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले केन्द्रीय तहमा स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए। ‘अब चाँडै जिल्ला र स्थानीय तह स्तरमा पनि तयारी तीब्र बनाउँछौं। केन्द्रबाट गर्नुपर्ने तयारी अन्तिम चरणमा पुगिसकेकोछ,’ उनले भने।



Post a Comment

 
Top