0
गोल्डेन न्यूज संवाददाता
उमेरले डाँडा काटिसक्यो तर मन भने तन्नेरीनै छ । आँट पनि कम छैन । जोश जाँगर पनि उत्तिकै छ । एक दशकअघि ७६ बर्षको उमेरमा सगरमाथा चढेर संसारलाई चकित बनाएका मीन बहादुर शेरचन फेरि सगरमाथा चढ्ने अन्तिम तयारीमा जुटेका छन् । सबैभन्दा पाको उमेरमा सगरमाथा आरोहणको कीर्तिमान आफ्नो नाममा लेखाउने अठोटका साथ ८६ बर्षीय शेरचन अन्तिम तयारीमा जुटेका हुन् । शेरचनले सन् २००८ मे २५ का दिन सगरमाथा चढेर सबैभन्दा पाको आरोहीका रुपमा गिनिज बुकमा नाम लेखाउँदै विश्व कीर्तिमान कायम गरेको थिए । 
तर सन् २०१३ मा जापानी आरोही मिउराले ८० बर्षको उमेरमा सगरमाथा चढेर उनको कीर्तिमान तोडिदिए । आफूले कामय गरेको पहिलो कीर्तिमान फर्काउन १० बर्षपछि पुनः मीनबहादुर कस्सिएका हुन् । आफूले कायम गरेको कीर्तिमान जापानी आरोहीले तोडेलगतै सन् २०१३ र १५ मै उनले पुनः प्रयास गरेका थिए । सन् २०१३ मा उनले आरोहणको मौकानै पाएनन् । सन् २०१५ मा भने भूकम्पका कारण उनी नाम्चेबाटै फर्किए । पृथ्वीको रक्षा, विश्व मानव कल्याण र विश्वशान्तिको कामना सहित सगरमाथा आरोहण गर्न लागेको उनले बताए। उनको आत्मविश्वास बलियो छ । हरेक दिन बिहान शारिरीक व्यायम गर्ने उनी उमेर ढल्किएपनि शारीरिक रुपमा तन्तरुस्त छन् । पुनःआरोहणका लागि आगामी बैशाख १ गते त्यसतर्फ प्रस्थान गर्न लागेका उनको सहयोगार्थ रकम संकलनको काम भैरहेको छ । 
यसैक्रममा शुक्रवार थकाली सेवा समिति पोखरामा आयोजित कार्यक्रममा दुई लाख भन्दा बढी रकम संकलन भयो । पिस पोखरा अनलाइनका अनुसार थकाली सेवा समिति पोखराका अध्यक्ष विश्वमोहन गौचनले शेरचनको आरोहण सहयोगार्थ ५० हजार रुपैयाँ प्रदान गरे । 
त्यस्तै नेपाल पर्वतारोहण संघका सल्लाहकार हरिध्वज तुलाचनले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे । अन्य विभिन्न ब्यक्तिबाट पनि सहयोग रकम संकलन गरिएको छ । आरोहणका लागि आर्थिक सहयोग संकलनको संयोजक गरिरहेका जीत बहादुर घर्तीमगरका अनुसार शेरचनको आरोहणका लागि झण्डै एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
अहिलेसम्म झण्डै ४० लाख रुपैयाँ संकलन भएको र बाँकी रकम संकलनको काम जारी रहेको उनले बताए । सहयोगका लागि देश–विदेशमा रहेका नेपालीहरुलाई अपिल गरिएको संयोजक घर्तिमगरले जानकारी दिए । सरकारी सहयोगका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको उनले बताए ।
प्राविधिक सल्लाहकार शिव सापकोटाका अनुसार शेरचनको आरोहण टोलीमा ६ जना अनुभवी गाईड संलग्न हुनेछन् । शेरचनको स्वास्थ्य अवस्था र मौषम हेरेर आरोहण सुरु गरिने उनले बताए । उनको आरोहण राष्ट्रियतासँग पनि जोडिएकाले सहयोगी तर्फबाट सबै प्रयास हुने उनको प्रतिबद्धता छ ।
काठमाडौंबाट बैशाख १ गते लुक्ला प्रस्थान गर्ने र सम्भवत बैशाखको अन्तिम वा जेठको पहिलो सातामा उनी चुचुरो तर्फ प्रस्थान गर्ने तयारी छ । म्याग्दीको भुरुङ तातोपानीमा जन्मेका उनी अहिले ललितपुरको सानेपामा बस्छन् । समाजको लागि प्रेरणादायी काम गर्नुपर्छ भन्ने उत्साहका साथ उनले सगरमाथा आरोहणको योजना बनाए । त्यसकै तयारीका लागि भन्दै उनी काठमाडौंदेखि पोखरा २ सय किलोमिटर चार दिन लगाएर हिँडे । त्यतिले पनि मन नमानेपछि चीनको उत्तरी नाका मुस्ताङदेखि भारतको दक्षिणी नाका सुनौलीसम्म ९ दिन लगाएर हिँडे । उनले मेची महाकाली यात्रा पनि गरे । 
मेचीदेखि महाकालीसम्म १ हजार २८ किलोमिटरको दुरी उनले २० दिनमा पार गरे । त्यस लगतै रसुवाको चुली आरोहण गरेपछि उनी सगरमाथा आरोहणमा गए र बाजी मारे । ७६ बर्ष ३४० दिनमा उनले पहिलोपटक सगरमाथाको चुचुरो चुमेका थिए ।सन् १९४८ मा बेलायती सेनामा भर्ती भएका मीन बहादुरले सन् १९५३ सम्म मात्रै काम गरे । सन् १९५६ मा पाँच बर्षे विश्व भ्रमणका लागि निस्केका उनी भ्रमण रोकेर सिंगापुर फर्किए । त्यसपछि कांग्रेसको राजनीति र मुस्ताङमा स्याउ खेती तथा ठेक्कापट्टामा लागेका थिए ।








Post a Comment

 
Top